शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

लोक आस्थाको महापर्व छठ

शुक्रबार, २३ कात्तिक २०८१, १२ : १८
शुक्रबार, २३ कात्तिक २०८१

ईश्वर, देवीदेवताप्रति श्रद्धा, सम्मान, विनय र समर्पणको भाव प्रकट गर्ने कार्यलाई पूजा, अर्चना वा आराधना भनिन्छ । सामान्यतः जल, फूल, फल, अक्षता र यस्तै प्रकारको अन्य पदार्थ देवी–देवताका नाममा चढाएर वा उनको निमित्त राखेर पूजा गरिन्छ । 

सनातन संस्कृति अनुसार शरद ऋतुमा पूजा–अर्चना निकै हुन्छन्— 

कागपूजा, कुकुरपूजा, धन्वन्तरि पूजा, उल्लुपूजा, लक्ष्मीपूजा, गाईपूजा, भ्रातृद्वितीया, चित्रगुप्त पूजा, छठपूजा, हरिबोधनी एकादशी, समा–चकेवा आदि ।
यसमध्येको छठपूजा सूर्यको उपासना हो ।

सूर्यको उपासना प्रायः सबै प्राचीन जातिमा प्रचलित छ । आर्यका अतिरिक्त असिरियाका असुर पनि ‘शम्श’ (सूर्य) को पूजा गर्दथे । अमेरिकाको मेक्सिको प्रदेशका प्राचीन सभ्य जनताका पनि अनेक सूर्य मन्दिर थिए । सूर्य प्राचीन आर्य जातिका प्रधान देवता हुन् । भारतीय र पारसीक दुवै आर्य शाखामा सूर्यलाई मुख्य स्थान प्राप्त थियो । 

Chhath_Photos (1)

वेदमा पहिलो प्रधान देवता सूर्य, अग्नि र इन्द्र थिए । सूर्य आकाशको देवता थिए । यिनको रथको सात घोडा भनेको प्रकाशको सात रङ र द्वादश आदित्य भनेको आदित्य वर्षको १२ महिना हुन् ।

सौर जगत्का सबैभन्दा उज्ज्वल र मुख्य ग्रह हो सूर्य जसको अन्य सबै ग्रहले परिक्रमा गर्छन, जसबाट सबै ग्रहलाई ताप तथा प्रकाश प्राप्त हुन्छ, उनलाई पुजिने अनेक नाम छन्— रवि, सुरज, दिनकर, प्रभाकर, आदित्य, दिनेश, भास्कर, दिनानाथ, दिवाकर, भानु, अर्क, तरणि, पतंग, सविता, हंस, अंशुमाली, मार्तण्ड, दिनपति, सहस्रांशु, तिग्मदीधिति, मरीचिमाली, चंडकर, सूर, विवस्वान आदि ।

सूर्यदेवलाई प्रत्यक्ष देवता मानिन्छ, किनभने उनको दर्शन हामीलाई प्राप्त हुन्छ । शास्त्रमा बताइएको छ कि सूर्यदेवको आराधनाको अक्षय फल प्राप्त हुन्छ । सच्चा मनले गरिएको साधनाबाट प्रशन्न भएर भगवान् भास्करले आफ्नो भक्तलाई सुख–समृद्धि एवं राम्रो स्वास्थ्यको आशीर्वाद प्रदान गर्नुहुन्छ । जीवनसँग जोडिएका तमाम दुःख र रोग आदि दूर गर्नुका साथै जसलाई सन्तान हुँदैन, उसलाई पनि सूर्य साधनाले लाभ हुन्छ । वैदिक कालदेखि नै भारत वर्षमा सूर्यको पूजाको प्रचलन रहेको छ । पहिले यो साधना मन्त्रको माध्यमले हुने गरेको थियो तर पछि उनको मूर्ति पूजा पनि प्रारम्भ हुन गयो । त्यसपछि ठाउँ–ठाउँमा मन्दिर बनाइए । 
प्राचीन कालमा बनेको भगवान् सूर्यको अनेक मन्दिर आज पनि भारतमा छन् । प्रमुख प्राचीन मन्दिरहरूमा कोणार्क, मार्तण्ड, मोढेरा आदि हुन् । रविवारको दिन भगवान सूर्यलाई समर्पित छ ।

वैदिक ज्योतिषमा सूर्यदेवको विशेष महत्त्व हुन्छ । वैदिक ज्योतिषमा सूर्यलाई नवग्रहको राजा भनिएको छ ।‌ जातकको कुण्डलीमा सूर्यदेवको विशेष महत्त्व हुन्छ, किनभने यो मनुष्यको जीवनमा गहिरो प्रभाव राख्छ । कुण्डलीमा सूर्य प्रबल भएमा मान–सम्मान, नेतृत्व क्षमतामा वृद्धि र सरकारी नोकरीको अवसर प्राप्त हुन्छ ।

सनातन संस्कृतिमा कुनै पनि शुभ कर्म पूजादि त्यस अवसरको विशेष गीत सँगसँगै चल्छ । हरेक चाडपर्वको आ–आफ्नै विशेष गीतहरूले सनातन संस्कृति समृद्ध छ । पर्व विशेषका गीतमा त्यस पर्वको महत्त्व र विशेषता वर्णन गरिएका हुन्छन् ।

प्रत्यक्ष देवता सूर्यको उपासना शीघ्र फलदायी हुन्छ, जसको साधना स्वयं प्रभु श्रीरामले पनि गरेका थिए । प्रभु श्रीराम स्वयं सूर्यवंशी थिए । भगवान् श्रीकृष्णका पुत्र साम्ब पनि सूर्यको उपासना गरेरै कुष्ठरोग दूर गर्न सकेका थिए । आदिकालदेखि नै भगवान् सूर्यको उपासना हुँदै आएको छ । 

मान्यता छ कि सूर्यको उपासना गरेमा रोगबाट मुक्ति प्राप्त हुन्छ । सूर्य उपासनाका अनेक विधि छन्, त्यसमध्ये सामूहिक आराधनाको विधि हो, छठ पर्व । नेपालको तराई क्षेत्रमा मनाइने यो पर्व यमपञ्चकलगत्तै मनाइन्छ । कार्तिक शुक्ल पक्षको षष्ठी तिथि भनी भनिए पनि यो पर्व कार्तिक शुक्ल पञ्चमीको साँझ खरना पूजा, षष्ठीको साँझ छठ परमेश्वरीको पूजा र सप्तमीको बिहान दीनानाथको पूजा गरिन्छ । सामान्यतः अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइने भन्ने गरिए पनि यथार्थतः अघिल्लो साँझ छठ परमेश्वरी भनी सूर्यस्त्रैणलाई र आउँदो बिहानी दीनानाथ भनी सूर्यस्त्वलाई अघ्र्य दिइने गरिन्छ । छठको एक पारम्परिक गीत छ :

‘साँझे अरघ देव छठ परमेश्वरी, 
भोरे अरघ देव तोर, हो दीनानाथ ।’

सूर्य उपासनाको पर्व छठ पहिले पहिले मधेशमा मात्र मनाइने गरिन्थ्यो तर हिजोआज देशभरि उल्लासका साथ मनाइन्छ । काठमाडौँ उपत्यकामा पनि यो पर्व विशेष रूपमा मनाउने गरिएको पाइन्छ । विगत केही वर्षदेखि रानीपोखरीमा पनि उल्लासपूर्वक मनाइने यो पर्व अहिले यहाँको पुनर्निर्माण हुँदै गरेकाले कमलपोखरी, वागमती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाइने गरिएको छ । 
छठको सुरुवात नहाए–खायबाट हुन्छ । यस दिन भात र लौकीको तरकारी तयार गरी खाइन्छ । भोलिपल्ट खरना मनाइन्छ । खरनाको दिन गुँड र चामलको खिर बनाइन्छ । यो खिर खाएपछि ३६ घण्टाको व्रत सुरु हुन्छ । दोस्रो दिन साँझ र तेस्रो दिन बिहान सूर्यलाई अघ्र्य दिइन्छ ।

कुनै पनि लक्ष्य पूरा गर्ने संकल्प लिनु एक प्रकारको व्रत हो । कुनै पनि उद्देश्य प्राप्त गर्न दिनभर वा निर्धारित अवधिभर भोजन, पानी र अन्य कुनै पनि खानेकुरा त्याग्नुलाई उपवास भनिन्छ । 
पर्व भन्नाले कुनै खास दिन वा तिथिलाई विशेष रूपमा मान्ने र अमुक देवदेवीको पूजाआजा गरी भोज–भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिन भनी बुझिन्छ । छठ पर्वमा व्रत, उपवास र पर्व तीनै थोक सम्मिलित छ । छठ पर्वका सन्दर्भ सामग्री निम्न छन् :

जलाशय : छठपूजा नदीको घाट, ताल वा पोखरीको घाटमा सम्पूर्ण पुजन सामग्री राखेर भगवान सूर्यदेवको आराधना गरिन्छ । यसका लागि जलाशयलाई सरसफाइ साजसज्जा गरी रमणीय बनाइन्छ ।

बृहत् तयारी :  वर्षभरिमा हुने चाड पर्वमध्ये छठ पर्व सबैभन्दा धेरै तयारी गर्नुपर्ने पर्वको रूपमा रहेको छ । यस पर्वको तयारीमा यत्तिका धेरै काम–कुरा गर्नुपर्ने हुन्छ कि एक त दश दिन अगावैदेखि तयारी थाल्नुपर्छ भने पूजाको दिन झन् सरसामग्रीको जोेरजाममा परिवारका सबै सदस्य व्यस्त हुनुपर्ने हुन्छ । 

पूजक र व्रती :  मध्यदेशीय सांस्कृतिक विरासत भएका अधिकांश क्षेत्रमा छठ पर्व मनाइन्छ । सनातनी हरेक परिवार छठ पर्व मनाउने गर्छन् । यसमा परिवारका हरेक सदस्य छठ पुजक हुन्छन् । ती सदस्यमध्ये कोही पनि एकजना व्रती हुन सक्छन् । व्रतीको काम खरना पूजा गर्नु, पर्व अवधिभर उपवासमा बस्नु र सूर्यदेवलाई अघ्र्य दिनु हो । प्रायः प्रौढ वा वृद्ध महिलाले व्रत लिन्छन् । खासमा अहिले उनीहरूको कार्तिक स्नानको मासिक पर्व पनि चलिरहेको हुन्छ । तर सबै पूजक परिवारबाट व्रती हुनैपर्छ भन्ने छैन । अरु कुनै परिवारका व्रतीलाई खरना पूजाको सामग्री दिएर अघ्र्यका लागि गछौटी पनि गर्न सकिन्छ ।

पूजा पात्र :  सामान्यतया अन्य चाडपर्वमा देवी–देवतालाई अर्पण गरिने वस्तुहरू गन्ध, पुष्प, धूप, दीप, अक्षता, नैवेद्यादि एक डालीमा सजाएर प्रस्तुत गरिन्छ । तर छठपूजामा एक डालीले काम चल्दैन । पूरै ढक्की नै चाहिन्छ । ढक्की मात्र होइन, नाङ्लो, कोनिया पनि नपुग हुन्छ । त्यसले नपुगेर केराको घौर, कलश, हात्ती आदि भुइँमै राखिन्छ । 

बाँसको चोयाले बुनेको ढक्की, नाङ्लो, कोनिया आदिमा प्रस्तुत गरिने सामग्रीको सीमा हुँदैन । तथापि ठकुवा, भुसुवा, मिष्ठान्न, केरा, नरिवल, हल्दी, अदुवा, अमादि, केतारी, भोगटे कागती, सब्जी, अर्कक पात आदि उल्लेखनीय वस्तु हुन् ।

खरना : खरना पूजा छठ पूजाको संकल्प पूजा हो । पञ्चमीको साँझ अर्थात् छठ पूजाको अघिल्लो साँझमा खरना पूजा गरिन्छ । यसमा व्रती दिनभर उपवास रहेर बेलुकी गहुँको सोहारी, दूध–अक्षता–गुँडको खिर र केरा चढाई छठी देवताको प्रार्थना गरिन्छ कि उनले लिएको व्रतको संकल्प निर्विघ्न पूरा होस् । यसरी पूरा गरिएको खरना पूजाको प्रसाद सबै पूजक परिवारमा वितरण गरिन्छ ।

अघ्र्य :  देवी–देवताको पूजा गर्दा जल समर्पित गर्ने क्रियालाई अघ्र्य दिइनु भनिन्छ । अघ्र्य पूजाको सर्वाधिक विशिष्ट भाग हो । पूजाअर्चनमा अर्पित हुने समस्त द्रव्य आराध्यको सुखका लागि हो भने अर्घ्योपचार उनको प्रशन्नताका लागि हुन्छ । अघ्र्य मूल रूपमा जलले दिइन्छ तर पूजा विशेष अनुसार पञ्चगव्य वा अक्षताको अर्क (घोल) को पनि अघ्र्य दिइन्छ । छठ पर्वमा सूर्यदेवलाई र चौठीचानमा चन्द्रदेवलाई अक्षताको अघ्र्य दिइन्छ ।

सिन्दूर–पिठार : सिन्दूर र पिठार (अक्षताको घोल) सनातन संस्कृतिमा शुभताको प्रतीक मानिन्छ । हरेक शुभ अवसरमा अर्पण (मण्डला) निर्माण गरिन्छ, जसमा पिठारको आकृति बनाई सिन्दूरको टीको लगाइन्छ । पूजामा कलश वा अन्य पात्र वा वस्तुहरू पनि सिन्दूर–पिठारले सुशोभित गरिन्छ । 

गन्ध, पुष्प, धूप, दीप, नैवेद्य : पूजाअर्चनका अनेक स्वरूप छन् । पञ्चोपचार पूजा सर्वाधिक प्रचलित पूजा हो । गन्ध, पुष्प, धूप, दीप र नैवेद्य पञ्चोपचार पूजाका पाँच द्रव्य हुन् । यी द्रव्यहरू छठ पूजाका प्राथमिक वस्तुमा पर्दछन् । 
मिष्ठान्न :  छठ पूजामा पकवान्न र मिष्ठान्न मौलिक हुने गर्दछ । पकवान्नमा ठकुवा र मिष्ठान्नमा भुसुवा तथा पुडिकिया (गुझिया) चढाइन्छ । ठकुवा पकवान गहुँको पिठोमा गुँड मिसाई तेल वा घ्यूमा छानिन्छ । त्यस्तै अक्षताको मोटो धुलोमा गुँड वा चिनी मिसाई गोलो डल्लो भुसुवा बनाइन्छ भने मैदा, सुजी, घ्यु, चिनी, नरिवल मसला आदि राखी पुडुकिया बनाइन्छ ।

फलफूल :  हरेक चाडपर्व वा पूजा अर्चनामा फलफूलको अमिट स्थान हुन्छ । यस पर्वमा पनि यसको उत्तिकै महत्त्व छ । फलफूलमा केरा र नरिवलको विशेष स्थान छ । सिंगो नरिवल र केराको हत्था प्रत्येक पात्रमा राखिन्छ । तर केराको सिंगो घौर र केतारी (उखु) को सिंगो डन्ठा अलग्गै चढाइन्छ । कागती पनि फलफूलमै गनिन्छ । ठुलो कागती अर्थात् भोगटे कागती पनि छठ पुजन सामग्रीको सूचीमा समावेश रहेको छ ।

साग, सब्जी, मसला :  छठ पुजन सामग्रीमा हल्दी, अदुवा, अमादि र मौसमी साग सब्जी पनि समावेश गरिन्छ । छठ पर्वमा समावेश हुने वस्तु लगभग सबै कृषि उपजबाट प्राप्त हुने वस्तु हुन् । यद्यपि बढ्दो सहरिया जीवनको कारणले यस पर्वमा सहरी पुजकहरूको नगद निकै व्यय हुन्छ तर ग्रामीण क्षेत्रहरूमा भने बिना नगद खेतबारीबाटै सबै कुरो प्राप्त गरिन्छ ।

अर्कक पात : छठ पूजा सामग्रीमा अर्कक पात पनि समावेश गरिन्छ । रुमालमा बाँधेर दिएझैँ रातो कागजमा मखाना, ल्वाङ, इलायची, सौँफ आदि राखिएको हुन्छ । अर्कक पातलाई एक प्रकारले ताम्बुलको पोटली भन्न सकिन्छ । षष्टोपचार पूजामा छैटौँ वस्तु ताम्बुल रहेको हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने छठ पूजा षष्टोपचार पद्धतिमा आधारित पूजा हो ।

स्नान र स्नानको भाकल :  छठ पूजामा स्नानको विशेष महत्त्व छ । जलाशयमा गएर पूजा गर्ने तर ननुहाउने भन्ने हुँदैन । खासगरी व्रतीले साँझ र बिहान दुवै बखतको अघ्र्य अघि घन्टौँ पानीमा उभिएर शरीर साधन गर्दछन् । तर छठ पूजामा व्रत (उपवास) लिने वा छठ स्नान गर्ने भाकल पनि गर्ने चलन छ । त्यसैले छठको अघ्र्य सकिएलगत्तै छठ स्नान गर्नेको लहरै लाग्छ ।

छठ गीत :  सनातन संस्कृतिमा कुनै पनि शुभ कर्म पूजादि त्यस अवसरको विशेष गीत सँगसँगै चल्छ । हरेक चाडपर्वको आ–आफ्नै विशेष गीतहरूले सनातन संस्कृति समृद्ध छ । पर्व विशेषका गीतमा त्यस पर्वको महत्त्व र विशेषता वर्णन गरिएका हुन्छन् । छठ पर्वका पनि आफ्नै गीत छन् र सयौँ गीत छन् । 

चैती छठ :  छठ पर्व शरद ऋतुसँगै वसन्त ऋतुमा पनि मनाइन्छ । शरद ऋतुमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म आयोजना गरिने गरिएझैँ वसन्त ऋतुमा नि चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म समान विधिविधानले छठ पर्व सम्पन्न गरिन्छ । चैती छठ सबैले गर्ने होइन, शरद ऋतुमा कुनै कारणले व्रत लिन नसकेका वा पर्व मनाउन नसकेका वा भाकल गरेकाले मात्र चैती छठ गर्छन् ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप