बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

शुक्रबार, २३ कात्तिक २०८१, १२ : ०२
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित सडकमा बा.प्र.०६-००१ ज ०२९८ नम्बरको हाइस र बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा हाइसमा सवार ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरूङसहित ५ जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ मुत्नी खोलास्थित सडकमा प्रदेश २-०३-१० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक रूपनी गाउँपालिका बस्ने २५ वर्षीय रामानन्द रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ ।
यसैगरी सप्तरीकै कंचनरूप नगरपालिका-८ बेरियरचोकस्थित सडकमा बागमती प्रदेश-०१-००६ ख ५९४४ नम्बरको बसको ठक्करबाट पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको लमही नगरपालिका-४ अर्नवास्थित सडकमा रा.५ प ४३९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  सोही ठाउँ बस्ने ७२ वर्षीय नकुल सिंह ठकुरीको मृत्यु भएको छ । बिहीबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी झापाको गौरीगंज गाउँपालिका-३ ठेकिटोलास्थित सडकमा मे.८ प ८८९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बर्दियाको बाँसगढी नगरपालिका-४ मटेरिया चोकस्थित सडकमा भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार बाँसगढी नगरपालिका-८ ककौरा बस्ने ५९ वर्षीय दीर्घ नारायण पंगेनीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यलयले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप