बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
विमानस्थल

विमानस्थल बन्द नहुँदै अन्तर्राष्ट्रिय हवाई टिकटमा ‘कालोबजारी’

सरकारको ध्यान भैरहवामा, ट्राभल एजेन्सीको दिल्लीमा
शुक्रबार, २३ कात्तिक २०८१, १० : ४१
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द भएको छ । विमानस्थलको रन–वे र ट्याक्सी–वे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द सुरु गरिएको हो । यसअघि विमानस्थल दैनिक तीन घण्टा अर्थात् राति १ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको थियो ।  

विमानस्थल २१ घण्टा सञ्चालन हुँदा अन्तर्राष्ट्रिय उडानतर्फ पूरै समय उडान तथा अवतरणको काम हुँदै आएको थियो । आन्तरिकतर्फ भने बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म उडान हुने गरेको थियो । उडान समय घटेसँगै उडानको सङ्ख्या समेत कटौती भएको छ । 

यसअघि शरदकालीन सिजनमा साप्ताहिक रूपमा ४१० वटा उडान हुँदै आएकोमा अब २८७ वटामा झारिएको छ । आन्तरिकतर्फ आगमन र प्रस्थान समेत गरी दैनिक ३५६ वटा उडान हुँदै आएकोमा अब २३० वटामा सीमित गरिएको छ । 

आन्तरिक उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तोकिदिएको सङ्ख्या हवाई सेवा सञ्चालक सङ्घ (आओन) ले उडान तालिका तयार गरेको नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानका लागि भने क्यान आफैँले सम्बन्धित एयरलाइन्स कम्पनीको सेड्युल निर्धारण गरेको थियो ।

कुन कम्पनीको उडान कति थियो, अब कति भयो ? 

प्राधिकरणले जुलाईदेखि सेप्टेम्बरसम्मका लागि तोकेको सेड्युल अनुसार बुद्ध एयरले काठमाडौँबाट दैनिक १५४ वटा उडान भर्ने अनुमति पाएको थियो । नोभेम्बर १ देखि लागु भएको नयाँ सेड्युल अनुसार यसलाई १३९ वटामा झारिएको छ । 

त्यस्तै, यती एयरलाइन्सले यसअघि ७२ वटा उडान तालिका रहेकोमा ४१ वटामा कायम गरिएको छ । श्री एयरलाइन्सको ६२ उडान रहेकोमा अहिले ३१ वटा उडान दिइएको छ । सीता एयरले १८ वटा उडान गर्दै आएकोमा ६ वटामा सीमित गरिएको छ । 

त्यस्तै, तारा एयरले १६ उडान गर्दै आएकोमा ५ वटा उडान तालिका स्वीकृत गरिएको छ । त्यस्तै, नेपाल एयरलाइन्सले १४ वटा उडान गर्दै आएकोमा दैनिक ४ वटा तथा समिट एयरको ८ वटा उडानबाट घटाएर ४ वटामा सीमित गरिएको छ । यो आगमन र प्रस्थान समेतको सङ्ख्या हो । सौर्य एयरलाइन्सको लागि भने काठमाडौँबाट कुनै पनि उडान तालिका बनाइएको छैन । 

table 1

अन्तर्राष्ट्रिय उडानतर्फ भने उडान सङ्ख्या घटबढको अवस्था मिश्रित छ । यसमध्ये केही एयरलाइन्सको शतप्रतिशत उडान कटौती गरिएको छ । उडान कटौती भएका एयरलाइन्सको अधिकतम दुई तिहाइसम्म उडान काटिएको छ । कम सङ्ख्या भएका उडानहरूलाई धेरैजसो यथावत् राखिएको छ भने केही गन्तव्यमा उडानको सङ्ख्या बढाइएको छ । 

यो सिजनका लागि हिमालयन एयरलाइन्सको ढाका उडान सलाम एयरको मस्कट (ओमन) उडान समर सिजनको तुलनामा शतप्रतिशत कटौती भएको छ । एयर अरेबियाको शारजहा उडान, एयर इन्डियाको दिल्ली उडान, इन्डिगो, हिमालयन एयरलाइन्सको बेइजिङ उडान, एभियसनको दिल्ली उडान, बाटिक एयरको मलेसिया उडान संख्यामा दुई तिहाइसम्म कटौती गरिएको छ । 

त्यस्तै, चाइना साउदनको ग्वान्जाओ उडान, फ्लाई दुबईको दुबई उडान, हिमालयन एयरलाइन्सको क्वालालम्पुर उडान र कतार एयरलाइन्सको दोहा उडान ५० प्रतिशतसम्म कटौती गरिएको छ । हिमालयन एयरलाइन्सको चिंगदाओ उडान, मलेसियन एयरलाइन्सको क्वालालम्पुर उडान, नेपाल एयरलाइन्सको दमाम उडान, ५० प्रतिशत भन्दा कम मात्रै कटौती भएका छन् । 

यो सिजनमा टर्किस एयरलाइन्सको स्तानबुल उडान, हिमालयन एयरलाइन्सको चुंगचिङ उडान, क्याथी प्यासिफिकको हङकङ उडानको सङ्ख्या बढाइएको छ भने हिमालयन एयरलाइन्सको अवुधाबी उडानलाई नयाँ अनुमति दिइएको छ । बाँकी गन्तव्यको अनुमति सङ्ख्या यथावत् राखिएको छ प्राधिकरणले जनाएको छ । 

table 2

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यसरी उडान तालिका निर्धारणमा अघिल्लो वर्षको यही सिजनमा सम्बन्धित एयरलाइन्सले तोकिएको गन्तव्यका लागि गरेको पफर्मेन्सलाई मुख्य आधार बनाइएको छ । अघिल्लो वर्ष कम पफर्मेन्स गर्नेले कम उडान पाएका छन्, राम्रो पफर्मेन्स गर्नेको उडान सङ्ख्या तुलनात्मक रूपमा कम कटौती गरिएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ यही विधि अपनाइएको उनले जानकारी दिए ।

हवाई टिकटमा कालोबजारीको आशङ्का

प्राधिकरणले उडान सङ्ख्या कटौती गर्ने उल्लेख गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फको भाडा बढ्न थालेको छ । उडानको आपूर्ति कम भएससँगै यसअघि निर्धारित भाडदारभन्दा तेब्बरसम्म भाडा तिर्नुपरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् । यसअघि काठमाडौँ–दिल्ली १४ हजार रुपैयाँसम्म झरेको भाडा अहिले ३५÷४० हजारसम्म पुगेको छ । पछिल्लो समय त महँगो मूल्य तिर्छु भन्दा पनि टिकट पाउनै छाडिएको यात्रुहरूको गुनासो छ । 

यसरी उडान तालिका कटौती भएको मौकामा टिकट बढाउन भने एयरलाइन्स कम्पनी तथा सम्बन्धित कम्पनीका बिक्री एजेन्ट (जीएसए) हरूको चलखेल रहेको आरोप समेत यात्रुहरूले लगाउँदै आएका छन् । भएको टिकट समेत लुकाएर अभाव सिर्जना गराउने र जबरजस्ती महँगो टिकट बेचेर कालोबजारी गरिएको आरोप एजेन्टहरूमाथि लाग्ने गरेको छ । 

अन्तर्राष्ट्रिय एयरलाइन्समा जहाजको सिटलाई सुविधाको आधारमा इकोनोमी क्लास, प्रिमियम इकोनोमी क्लास, बिजनेस क्लास, फर्स्ट क्लास लगायत विभिन्न क्लासमा विभाजन गरिएको हुन्छ । प्रत्येक क्लास अनुसार सुविधासँगै भाडादर समेत फरक फरक हुने गर्छ । अहिले उडान सङ्ख्या कम भएसँगै सबै प्रकारका सिटको भाडादर बढेको छँदैछ । त्योभन्दा बढी इकोनोमी क्लासका सिटहरूको कृत्रिम अभाव गराएर महँगो मूल्यका टिकटहरू बेच्ने गरिएको उनीहरूमाथि आरोप छ । 

तर, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भने केही हस्तक्षेप गर्न सकेको छैन । प्राधिकरणको एयर ट्रान्सपोर्ट विभागका उप निर्देशक समेत रहेका ज्ञानेन्द्र भूल अन्तर्राष्ट्रिय उडानको भाडादर निर्धारण माग र आपूर्तिको आधारमा निर्धारण हुने भएकोले यसमा नियामकले प्रत्यक्ष प्रत्यक्ष गर्ने अभ्यास नभएको बताउँछन् । यद्यपि कृत्रिम अभाव सिर्जना गराएर अस्वाभाविक रूपमा महँगोमा टिकट बेचेको पाइएमा भने प्राधिकरणले कारबाही गर्ने उनको भनाइ छ । 

उता, जीएसएका प्रतिनिधिहरू भने उडान कटौती भएसँगै पछि मूल्य बढ्ने डरले बुकिङ बढ्दा थप टिकट नै बाँकी नरहने अवस्था भएको बताउँछन् । श्रीलंकन एयरलाइन्सका लागि नेपालको आधिकारिक सेल्स एजेन्टको रूपमा रहेको जेनिथ ट्राभल्सका प्रबन्धक दीपक मैनाली अहिले श्रीलंकन एयरलान्सको जनवरी १५ सम्मका सबै टिकट बुकिङ भइसकेको बताउँछन् । मैनाली भन्छन्, ‘फ्लाइट कम हुँदैछ भनेपछि एकै पटक धेरै बुकिङ भयो, हामीसँग जनवरी १५ सम्मको टिकट नै बाँकी छैन ।’ अरू एयरलाइन्सको हकमा समेत यस्तै अवस्था भएको हुनसक्ने उनको भनाइ छ । 

आन्तरिक उडानतर्फ भने क्यानले भाडाको न्यूनतम (फ्लोर) र अधिकतम दर निर्धारण गर्ने गरेको छ । उडान कटौतीसँगै टिकटको माग जति भए पनि अधिकतम दरभन्दा माथि भाडा लिन पाइँदैन वायुसेवा सञ्चालक संघका अध्यक्ष कार्की प्राधिकरणले तोकेको रेञ्जभित्रै रहेर माग र आपूर्तिको आधारमा आन्तरिक भाडादर निर्धारण हुने बताउँछन् । यद्यपि उडान कटौती हुने भएसँगै अहिले फ्लोर रेटमा टिकट पाउनै छाडिएको छ । 

यही समयमा किन गरियो विमानस्थल स्तरोन्नति ? 

विमानस्थलको सञ्चालन अवधि घट्ने भएसँगै टिकटको ‘हाहाकार’ भएको छ । यो अवस्थामा अहिले नै विमानस्थल मर्मत किन गर्नुपर्‍यो भन्ने प्रश्न पनि छ । 

प्राधिकरणका अनुसार विमानस्थल स्तरोन्नतिको यो परियोजना अन्तर्गत झन्डै १५ अर्बको लागतमा दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोन लगायत विस्तार गरिनेछ । स्तरोन्नतिपछि एकै पटक एकभन्दा धेरै जहाज उडान र अवतरण हुनसक्ने भएकोले २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ र यसले ट्राफिक व्यवस्थापन सहज हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ । 

प्राधिकरणको पछिल्लो दाबीमा प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री समेत सहमत छन् । विमानस्थलको निर्माण र स्तरोन्नतिको कुरा धेरै पहिलेदेखि चल्दै आएको भए पनि अहिलेसम्म हुन नसकेको अवस्थामा अहिले गर्न लागिएको स्तरोन्नतिलाई आवश्यक र स्वाभाविक मान्नुपर्ने उनको भनाइ छ । स्तरोन्नतिपछि एकै पटक २/३ वटा जहाजको उडान र अवतरण हुनसक्ने भएकोले अहिलेको भन्दा उडान क्षमता समेत बढ्ने उनी बताउँछन् । 

विमानस्थल स्तरोन्नति थाल्न पनि अहिलेको समय उपयुक्त नै रहेको क्षेत्री बताउँछन् । ‘अहिले ‘समर’ सकिएर ‘विन्टर’ सिजन सुरु भएको छ । ‘समर’ सिजन सबैभन्दा धेरै ट्राफिक हुने समय पनि हो । पानी पर्ने भएकोले यो सिजनमा मर्मत गर्न पनि सकिँदैन । त्यसैले प्राधिकरणले धेरै अगाडिदेखि सूचना दिएर विमानस्थल सञ्चालनको अवधि घटाउन लागेकोले यसलाई पनि सबैले सहयोग नै गर्नुपर्छ जस्तो लाग्छ ।’

विमानस्थल सञ्चालनको अवधि १० घण्टा नै छोट्याउन चाहिँ कति उपयुक्त थियो, यो अलि धेरै भएन ? प्रश्नमा क्षेत्री भन्छन्, ‘बन्द हुने समय सकेसम्म कम भएको भए हुन्थ्यो, तर त्यसो गर्दा मर्मत गर्न धेरै समय लाग्छ, बर्खा लागेपछि काम गर्न गाह्रो हुने भएकोले हिउँदमै सक्नेगरी धेरै समय लिइएको हुन सक्छ ।’ 

प्राधिकरणले स्तरोन्नतिको निर्णय र समय उपयुक्त भए पनि यसले उडानमा समस्या भने निम्त्याइरहेको छ । सबैभन्दा धेरै अप्ठ्यारो खाडी मुलुक तथा नेपालको मुख्य श्रम गन्तव्य मुलुकमा जाने कामदारलाई भएको पाइएको छ । त्यसो त, नयाँ तालिका अनुसार साउदी, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया लगायत देशमा जाने एयरलाइन्सको उडान नै सबैभन्दा धेरै कटौती भएको देखिन्छ । 

नियामकको ध्यान भैरहवामा, व्यवसायीको दिल्लीमा

त्यसो त, विमानस्थल सञ्चालन अवधि घटेको समयलाई भैरहवा विमानस्थल सञ्चालनको अवसर बनाउने स्वार्थ समेत सरकार र प्राधिकरणको देखिन्छ । भैरहवा र पोखरा दुवै विमानस्थल निर्माण हुँदा आयोजना प्रमुखको भूमिका रहेको र विमानस्थलले बिजनेस नपाउँदा उनी समेत आलोचनाको मुख्य पात्र बन्नु परेकोले यी दुई विमानस्थलको सञ्चालनका लागि उनले विशेष जोडबल गर्दै आएका समेत छन् ।  

त्यसैले यो अवधिमा भैरहवाको बिजनेस बढाउन प्राधिकरणले भरमग्दुर प्रयास गरिरहेको छ । हिउँदकालीन उडान स्वीकृत गर्ने क्रममा कतिपय अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई भैरहवामा फोर्सफूल उडान गर्न समेत प्राधिकरणले बाध्य पारेको छ । बिना अनुमति नेपाली आकाशमा छिरेको थाई एयर एशियालाई त भैरहवाको एक उडानपछि काठमाडौँको दुई उडान दिने सर्त नै राखिएको छ ।

यसो त, भैरहवाको बिजनेस बढाउन फ्युल भाडा, ग्राउन्ड ह्यान्डेलिङदेखि पार्किङ शुल्कसम्ममा व्यापक छुट दिइएको छ । यद्यपि अन्तर्राष्ट्रिय विमान कम्पनीहरू भने यसमा त्यति इच्छुक छैनन् । जेनिथ ट्राभल्सका प्रबन्धक मैनालीको भनाइमा एयरलाइन्सहरू भैरहवा जान नमान्नुको कारण त्यहाँको सेवा सुविधा नै हो । मैनाली भन्छन्, ‘दिउँसोको समयमा भए ठिकै होला, रातीको समयमा त्यहाँ ट्याक्सी पाइँदैन, पर्याप्त होटल रेष्टुरेन्ट पनि छैन । त्यसैले सुरुमा कोही पनि जान नमानेका हुन् । यो समयमा केही एयरलाइन्सले नियमित उडान गरेर सेवा सुविधा नियमित हुने अवस्था बनाउने हो भने अरू एयरलाइन्स पनि जान थाल्छन् हामी (श्रीलंकन एयर) लाई पनि जान समस्या छैन ।’

तत्कालको लागि भने ट्राभल कम्पनीहरूले भने दिल्लीको विकल्प रोज्न थालेको मैनाली बताउँछन् । ‘यताबाट यात्रुको माग धान्न सकिएन भने दिल्लीसम्म सडक मार्गबाट पठाउने र त्यहाँबाट सम्बन्धित गन्तव्यमा पठाउने विकल्प हुन सक्छ । ‘दिल्लीबाट भए ५० देशका १५० भन्दा धेरै गन्तव्यमा डाइरेक्ट फ्लाइट हुन्छ’, मैनाली भन्छन्, ‘त्यसैले भैरहवा र पोखरा विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दासम्म दिल्ली नै सबैभन्दा उपयुक्त विकल्प हुनसक्ने देखिन्छ ।’

आन्तरिक उडानतर्फ भने स्थल मार्गलाई विकल्प बनाउनसक्ने अवस्था छ । काठमाडौँ बाहेकका अन्य रुटहरूमा उडान भर्न सके यसले पनि काठमाडौँबाट हुने उडानको विकल्प बन्नसक्ने क्यानका पूर्वमहानिर्देशक क्षेत्री बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप