मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
युरोपा लिग फुटबल

१० खेलाडीमा समेटिएपछि टोट्टनहामको पहिलो हार, टर्किस क्लबसँग स्तब्ध

शुक्रबार, २३ कात्तिक २०८१, १० : ४१
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । युरोपा लिग फुटबलको आफ्नो पछिल्लो खेलमा इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम पराजित भएको छ । टर्कीको चर्चित क्लब गालातसारेले बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा टोट्टनहाममाथि ३–२ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।

उक्त खेल इस्तानबुलमा खेलिएको थियो । खेलका क्रममा टोट्टनहाम १० खेलाडीमा समेटिएको थियो । गालातसारेको जितमा भिक्टर ओसिमहेनले दुई गोलको योगदान गरे । खेलमा सुरुवाती अग्रता पनि घरेलु टोलीले नै लिएको थियो ।

खेल सुरु भएको छैटौँ मिनेटमै युनुस अक्गुनले गालातसारेलाई अग्रता दिलाएका थिए । तर, टर्किस क्लबको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको १८ औँ मिनेटमा टोट्टनहामका विल ल्याङ्कसियरले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ३१ औँ मिनेटमा भिक्टरले गालातसारेलाई पुनः २–१ ले अगाडि बढाएका थिए । उनले नै निर्धारित समयको ३९ औँ मिनेटमा गालातसारेका लागि तेस्रो गोल पनि थपेका थिए । निर्धारित समयको ६० औँ मिनेटमा टोट्टनहामका विल ल्याङ्कसियर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

१० खेलाडीमा सिमित भएपछि टोली दबाबमा आए पनि ६९ औँ मिनेटमा टोट्टनहामका लागि डोमिनिक सोलान्केले दोस्रो गोल फर्काएका थिए । त्यसपछि भने दुबै टोलीबाट थप गोल हुन सकेन र घरेलु टोलीले महत्वपूर्ण तीन अंक हात पार्यो ।

लिग चरणको खेलमा टोट्टनहामले पहिलो हार भोगेको हो । लिग चरणमा सहभागी ३६ वटै टोलीले चार–चार खेल खेलिसकेका छन् । टोट्टनहाम नौ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । यसअघि खेलिएको तीन खेलमा भने टोट्टनहाम विजयी भएको थियो ।

आफ्नो पछिल्लो खेलमा जित हात पारेको भए टोट्टनहाम तालिकाको दोस्रो स्थानमा उक्लने थियो । गालातसारे भने चार खेलबाट १० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । लिग चरणमा गालातसारे हालसम्म अपराजित छ । गोलातसारेले तीन जित र एक बराबरीको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप