सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

मुस्ताङ पुगेर पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरे जोन्टी रोड्सले

शुक्रबार, २३ कात्तिक २०८१, ०९ : ४९
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्सले प्रतियोगिताका लागि आफ्नको जर्सी सार्वजनिक गरेको छ ।

टोलीका प्रमुख सल्लाहकार एवम् मेन्टर जोन्टी रोड्सले विशेष समारोहबिच पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरेका हुन् । आफ्नो समयका विश्व क्रिकेटका प्रभावशाली क्रिकेटर जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको जानकारी क्लबका अध्यक्ष सुबोध त्रिपाठीले दिए । ‘जलवायु परिवर्तनको विषयलाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका हौं । गण्डकीमा हिम पर्वत शृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको विषयलाई विश्वसामू ल्याउन हामीले यो प्रयास गरेका हौं,’ उनले भने ।

जोन्टी रोड्सले पनि पोखरा एभेन्जर्समा आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘पोखरा एभेन्जर्समा आबद्ध हुन पाउँदा निकै खुसी लागेको छ । मेरो अनुभव र ज्ञानले भ्याएसम्म पोखरामात्र होइन नेपाली क्रिकेटको उत्थानका लागि सक्दो योगदान पुर्‍याउने छु,’ उनले भने ।

कार्यक्रममा पोखरा एभेन्जर्सको अफिसियल गीत पनि बजाइएको थियो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले मोन्टीको आगमनले नेपाली क्रिकेटको विकासमा पनि सघाउने विश्वास व्यक्त गरे । १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एक–अर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।

५५ वर्षीय जोन्टी रोड्स विश्व क्रिकेटकै सर्वकालीन महान फिल्डरमध्येका एक हुन् । जोन्टी रोड्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब लखनउ सुपर जाइन्ट्ससँग पनि जोडिएका छन् । आगामी एनपीएलका लागि नेपाली क्लबहरुसँग विभिन्न भूमिकामा जोडिएका विश्व चर्चित क्रिकेटरमध्ये जोन्टी रोड्स पनि एक हुन् ।

जोन्टी रोड्सले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र दुई सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जोन्टी रोड्सले टेस्ट क्रिकेटको ८० पालीमा कुल दुई हजार पाँच सय ३२ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन सतक र १७ अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय १७ रन हो ।

यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दुई सय २० पालीमा कुल पाँच हजार नौ सय ३५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई सतक र ३३ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय २१ रन हो ।

जोन्टी रोड्स आफ्नो समयका प्रभावशाली फिल्डर पनि हुन् । उनी फिल्डरको भूमिकामा रहँदा त्यतिबेलाका विश्वका चर्चित ब्याट्सम्यानहरु पनि खुलेर ब्याटिङ गर्न डराउँथे । त्यसैले उनलाई ‘खुट्टामा चक्का जोडिएका क्रिकेटर’ भनेर पनि सम्बोधन गरिन्थ्यो ।

जोन्टी रोड्सले टेस्ट क्रिकेटमा ३४ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय पाँचवटा क्याच लिएका छन् । यो तथ्याङ्कले पनि उनको फिल्डिङ क्षमतालाई दर्शाउँछ । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा एक सय २७ र लिस्ट ‘ए’ क्रिकेटमा एक सय ५८ वटा क्याच लिएका छन् ।

Po 1

पोखरा एभेन्जर्सले आगामी एनपीएलका विदेश खेलाडीका रुपमा वेस्ट इन्डिजका अलराउन्डर खेलाडी एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई पनि अनुबन्ध गरिसकेको छ ।

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महंगोमा बिक्री भएको क्लब पनि हो ।

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न खेलाडी अक्सन (खरिद–बिक्री प्रक्रिया) मा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्चिएको थियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् ।

यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।

पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् ।

यसैगरी, पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । एनपीएपल आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप