१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ' लिएर उपस्थित भएका छौँ–
१. छठ पर्व
बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
तराई र काठमाडौँका साथै पहाडी जिल्लाका विभिन्न स्थानमा समेत मनाइएको यो पर्वको दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको थियो । उदाउँदो सूर्यलाई शुक्रबार अर्घ्य दिएसँगै छठ समापन हुन्छ ।
२. मानव तस्करी प्रकरण
नक्कली कागजात बनाएर कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।
कात्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।
३. स्थानीय तह उपनिर्वाचन
आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ । यस्तै दलहरुले पनि आ–आफ्नो तयारी गरिरहेका छन् ।
४. प्राइमरी इलेक्सनमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ ।
रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको जानकारी दिए ।
५. शैक्षिक बहस
उच्च शिक्षाको मूल थलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाम सुन्दै गर्व गरिन्थ्यो कुनै बेला । यही विश्वविद्यालयबाट दीक्षित धेरैले देश–विदेशमा नाम र दाम मात्रै कमाएनन्, कतिपयले कीर्तिमानी नै राखे ।
केही वर्ष अघिसम्म प्रसिद्धि कमाएको यो सरस्वतीको मन्दिर यतिबेला बिग्रियो भन्ने भाष्य निर्माण भएको छ । के त्रिभुवन विश्वविद्यालय बिग्रेकै हो त ? तथ्यहरुले पनि त्रिवि बेसरी खस्केको देखाउँछ । यसबारे रातोपाटीमा विस्तृतमा समाचार छापिएको छ ।
६. सम्पर्कविहीन मनाङे
गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दिपक मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै सम्पर्कविहीन भएका छन् । फैसला आउँदा पोखरामा रहेका उनी त्यहीँबाट सम्पर्कविहीन भएका हुन् ।
७. न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नित्यानन्द पाण्डे र नृपध्वज निरौलामाथि शुक्रबार संसदीय सुनुवाइ हुँदै छ । संसदीय सुनुवाइ समितिले माग गरेको उजुरीमा एक जना न्यायाधीशविरुद्ध मात्र उजुरी दर्ता भएको छ भने अर्काविरुद्ध कुनै उजुरी छैन ।
८. एकतामा ढिलाइ
नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी यतिबेला अन्योलमा देखिएका छन् ।
यी दुवै पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेको ७–८ महिना पुगिसकेको छ । तर, माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियामा ढिलाइ भएको हो ।
९. ब्याजदर
वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर सस्तिँदै गएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा कर्जा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको हो । यस्तो ब्याज तीन महिनामै मात्रै १५ प्रतिशतसम्म घटेको छ भने अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतसम्म घटेको वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित तथ्यांकले देखाएको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो हुन पुगेको हो ।
१०. सुनको भाउ
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै बुधबार सुन तथा कच्चा तेलको भाउमा एकै पटक उच्च गिरावट आयो । यसको प्रभावस्वरुप नेपाली बजारमा समेत बिहीबार सुनको भाउ प्रतितोला चार हजार रुपैयाँले घट्न पुग्यो ।
प्रतितोला १ लाख ७१ हजार रुपैयाँको ऐतिहासिक रेकर्डसम्म पुगेको सुन अहिले बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी