विद्यार्थी संगठनलाई प्रश्न : तपाईंहरूकै कारण विश्वविद्यालय बिग्रिएको हो ?
अधिकांशले भन्ने गर्छन्— विद्यार्थी संगठनका कारण त्रिभुवन विश्वविद्यालय बिग्रियो ।
विभिन्न माग राख्दै तालाबन्दी लगायत अराजक गतिविधि गरिने हुँदा विश्वविद्यालयको अध्ययन प्रभावित भएको धेरैको तर्क रहन्छ । यतिसम्म कि विद्यार्थी संगठनलाई खारेज गर्नेसम्मका आवाज उठिरहेका छन् ।
यसैले प्रमुख राजनीतिक दल अन्तर्गतका विद्यार्थी संगठनले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउनुपरेको छ । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कुनै पनि हालतमा तालाबन्दी नगर्ने घोषणा नै गरेको छ । यद्यपि उसले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरिरहेको छ ।
यसअघिका भीसी प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकालमा नेविसंघले २१३ दिन तालाबन्दी गरेको थियो । नेविसंघ केन्द्रको निर्देशन विपरीत विभिन्न गुटमा रहेका नेविसंघका समूहले उपकुलपति बाँस्कोटालाई पूर्ण रूपमा असहयोग गरेका थिए । आफ्नो चारवर्षे कार्यकाल सकिएपछि बाँस्कोटाले विद्यार्थीको तालाबन्दीका कारण काम गर्न नसकेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले समेत तालाबन्दी नगर्ने घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेकाले अनेरास्ववियुले भने बाँस्कोटालाई सघाएको थियो ।
‘हामी नेविसंघ गएर भीसीलाई सजिलो हुने गरी टिम बनाउनुस्, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ भनेका हौँ । उहाँलाई कुनै किसिमको दबाब दिएका छैनौँ ।’
त्यस्तै, माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)ले समेत पटकपटक गरी विभिन्न क्याम्पसमा तालाबन्दी गर्दै आएको थियो । अहिले उसले विश्वविद्यालयमा तालाबन्दी तथा अनावश्यक हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा विद्यार्थी संगठनहरूका कारणले विश्वविद्यालय बिग्रियो भन्नु नकारात्मक भ्रम सिर्जना गर्न खोजिएको बताउँछन् ।
‘अन्य संगठनबाट के–के भएका छन्, त्यसको म जिम्मा लिन सक्दिनँ, तर हाम्रो संगठनका तर्फबाट त्यस्तो केही भएको छैन,’ उनी भन्छन् । अहिले फ्री कम्पिटिसनबाट भीसी लगायत आउनुको श्रेय नेविसंघलाई जाने उनको दाबी छ ।
‘हामी नेविसंघ गएर भीसीलाई सजिलो हुने गरी टिम बनाउनुस्, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ भनेका हौँ । उहाँलाई कुनै किसिमको दबाब दिएका छैनौँ,’ उनले भने ।
नेविसंघको तर्फबाट त्यस्ता अराजक गतिविधि गरेको पाइएमा कारबाही समेत गर्ने उनी बताउँछन् । उनले यसो भने पनि मध्यपश्चिम विश्वविद्यालयमा दुई महिनादेखि तालाबन्दी हुँदा नेविसंघले केही प्रतिक्रिया जनाउन सकेको छैन । यस सम्बन्धमा उनी भन्छन्, ‘हामीले त्यहाँ सुझावपत्र दिएका थियौँ । अब के के काम भयो भनेर फ्लोअप गर्न जान्छौँ । हाम्रो जानकारीविना त्यस्तो काम भएको हुन्छ भने केन्द्रीय समिति कारबाही गर्न पछि हट्दैन ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडाल राजनीतिका नाममा हुने अराजनीति गतिविधि बन्द हुनुपर्ने बताउँछन् । ‘विश्वविद्यालयमा पढ्ने विद्यार्थीमा राजनीतिक चेतना हुन्छ नै । विश्वविद्यालयलाई पूर्ण रूपमा राजनीतिबाट मुक्त बनाउनुपर्छ भन्ने होइन, राजनीतिका नाममा हुने अराजनीतिक गतिविधि बन्द गरिनुपर्छ,’ उनले भने, ‘राजनीतिक संस्कार सिक्ने ठाउँ भनेकै विश्वविद्यालय हो । यद्यपि हामीले विश्वविद्यालयलाई सकारात्मक कल्चर सिक्ने संस्था बनाउन सकेनौँ ।’
एक–दुई पात्रका गतिविधिलाई देखाएर समग्र विद्यार्थी संगठनलाई बदनाम गराउन नहुने उनी बताउँछन् । ‘मुलुकको शिक्षा प्रणाली नै ध्वस्त बनाएर त्यसको दोष विद्यार्थीलाई दिने गरिएको छ,’ उनी भन्छन्, ‘विद्यार्थी भनेका विश्वविद्यालयका स्टेकहोल्डर हुन् । हामी शुल्क तिरेर विश्वविद्यालयमा पढ्न गएका हौँ । विद्यार्थीको हकहितमा विद्यार्थी संगठनले आवाज उठाउने हो ।’
आफू नेतृत्वमा आएपछि तालाबन्दी नगर्ने घोषणा गरेको र घोषणा अहिलेसम्म कार्यान्वयन भइरहेको उनी बताउँछन् । ‘तालाबन्दी गरिएका कतिपय ठाउँमा म आफैँ गएर ताला खोल्ने गरेको छु,’ उनी भन्छन्, ‘विश्वविद्यालयका क्यालेन्डर नियमित गर्ने, पाठ्यक्रम अपडेट गर्ने, राजनीति गतिविधि हाबी हुने ठाउँमा अन्त्य गर्नेमा हामी सक्रिय छौँ ।’
आफूहरुको प्रयासका कारण शैक्षिक क्यालेन्डर केही हदसम्म लागु भइरहेको उनको भनाइ छ । ‘पाठ्यक्रमका विषयमा पनि केही काम भइरहेको देखिन्छ । इन्टर्नसिपको विषय र पढ्दै कमाउने भन्ने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।
बोर्ड अफ् ट्रस्टिजमार्फत विश्वविद्यालय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
अखिल (क्रान्तिकारी)की निवर्तमान अध्यक्ष पञ्चा सिंहले त्रिवि खस्कनुमा विद्यार्थी संगठनको हात नभएको दाबी गरिन् । यो कुराको पुष्टि हाल मेरिटोक्रेसीका आधारमा आएका विश्वविद्यालयका पदाधिकारीको कामबाटै देखिएको उनको भनाइ छ ।
विगतमा आफूहरूले उठान गरेका विषय राजनीतिक आस्थाका आधारमा कार्यान्वयन नगरिए पनि अहिले विश्वविद्यालय त्यही दिशामा अगाडि बढिरहेको उनको भनाइ छ । ‘अघिल्लो कार्यकालकोे भीसी तथा पदाधिकारीहरू हुँदै हामीले परीक्षा प्रणाली सुधार गरौँ, ट्रान्स्क्रिप्ट आफ्नै क्षेत्रबाट लिन पाउने व्यवस्था गरौँ भनेर लिखित रूपमा ज्ञापनपत्र बुझाएका थियौँ,’ उनी भन्छिन्, ‘त्यो बेला पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ हुन सकेको थिएन । अहिले त्रिवि सभाले नीतिगत निर्णय गरेरै विद्यार्थी डकुमेन्ट प्रादेशिक कार्यालयबाट वितरण गर्ने, सेमेस्टर सिस्टमको रिजल्ट व्यवस्थित गर्ने लगायत काम गरेको छ । यी काम हेर्दा पदाधिकारीमा इच्छाशक्ति भयो भने विश्वविद्यालय सही दिशामा अगाडि बढ्छ भन्ने देखिन्छ ।’
राजनीतिका नाममा अराजनीतिक गतिविधि गर्ने व्यक्तिका कारण केही समस्या देखिएको उनको भनाइ छ ।
‘मेरो आफ्नो कार्यकालमा पहिलो निर्णय विश्वविद्यालयमा तालाबन्दी मुक्त गर्ने भन्ने थियो । शिक्षा मन्त्रालयमा गएर कमिटमेन्ट पनि गरेको हो,’ उनी भन्छिन्, ‘हिजोभन्दा आज विद्यार्थी संगठन रचनात्मक ढंगबाट अगाडि बढेको छ ।’