बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कूटनीतिक

परराष्ट्रविद् जयराज आचार्यलाई प्रश्न– डोनाल्ड ट्रम्पको पुनरागमनपछि नेपालमा के असर पर्छ ?

बिहीबार, २२ कात्तिक २०८१, २० : ०१
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । विश्व शक्तिराष्ट्र अमेरिकामा नेतृत्व परिवर्तन हुँदैछ । हालै सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

अमेरिकामा भएको नेतृत्व परिवर्तनको असर नेपालमा खासै पर्दैन । नेपाल अमेरिकी ‘इन्ट्रेष्ट’को छेउछाउमा पर्ने देश हो । अमेरिकाको नयाँ प्रशासनले ध्यान दिने भनेको युक्रेन युद्ध, इजरायल–हमास युद्ध, मध्यपूर्वका देशमा भइरहेको युद्धको विषय हो । त्यस्ता विषयलाई उनीहरू बढी ध्यान दिन्छन् । त्यसपछि चाइनालाई बढी ध्यान दिन्छन्, भारतलाई पनि ध्यान देलान् । यस्ता विषय उनीहरूको प्राथमिकता पर्छ । नेपाल र यस्ता अन्य साना देश अमेरिकाको प्राथमिकतामा पर्दैन । यो यथार्थ हो । हामीले यथार्थवादी भएर सोच्नुपर्छ ।

जे भए पनि हामी चाइना र इन्डियाको बिचमा एउटा रणनीतिक महत्त्वको ठाउँमा छौँ । नेपालबारे मुख्य इन्ट्रेष्ट हुने भनेकै चाइना र इन्डियाकै हो । त्यसमा पनि अमेरिका विश्वशक्ति भएकाले उसको पनि केही न केही इन्ट्रेष्ट त भइनै हाल्छ । तर नेपालको सन्दर्भमा दुई देशबिच चलिआएको सम्बन्धको निरन्तरतामात्र हुन्छ, अरु बदलाव आउँदैन । बदलाव आउने भनेको यूरोपमा हो । युक्रेन र रसिया युद्धको विषयमा, इजरायल र हमास तथा इरान युद्धको विषयमा, चाइना, रसिया, नर्थ कोरियाका विषयमा बढी ध्यान दिन्छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक वा रिपब्लिकन जुन दलबाट जसले विजय हासिल गरे पनि त्यसको कुनै असर र प्रभाव नेपालमा पर्दैन । हामी नेपाली बढी अर्थ लगाउन खोज्छौँ तर त्यस्तो होइन । जो आए पनि नेपालप्रतिको नीति उही नै हुन्छ । उनीहरूको परराष्ट्र नीति जे छ, त्यसको निरन्तरतामात्र हुने हो ।

नेपाललाई कसरी हेर्ने भन्ने विषयमा त्यहाँको कर्मचारीतन्त्रले बढी निर्धारण गर्छ । अमेरिकी नेतृत्वमा आएको परिवर्तनले नेपालमा विगतमा पनि खास प्रभाव परेको थिएन, अहिले पनि पर्दैन ।

चीन र भारतको बिचमा रहेका कारण यहाँ अमेरिकी प्रभाव र चासो धेरै हुन्छ भनेर नेपालमा बढी अर्थ लगाउने प्रयास पनि हुने गरेको छ । तर त्यस्तो हुँदैन । नेपाल र अमेरिकाको सम्बन्ध स्थापित भएपछि यसको विकासक्रम हेर्ने हो भने त्यो निरन्तरताको रूपमा अघि बढेको छ । २००७÷००८ सालदेखि नै नेपालमा अमेरिकाको सहयोग क्रमशः थोरै रूपमा बढ्दै गइरहेको विषय यसको एउटा प्रमाण हो । त्यसमा कुनै नाटकीय रूपमा परिवर्तन छैन । नेपालमा पञ्चायत हुँदै प्रजातन्त्र, बहुदल, गणतन्त्र जे आए पनि उनीहरूको नीतिमा परिवर्तन आएको छैन । त्यसमा एकरूपता र निरन्तरता छ ।

अमेरिकाको मुख्य इन्ट्रेष्ट चीनसँग भए पनि चीनसँग डिल गर्न उसलाई नेपाल चाहिँदैन । उनीहरूका लागि ताइवान नै छ । चीनसँग सिमाना जोडिएका फिलिपिन्स, भियतनाम छ, साउथ चाइना सी छ । उनीहरूको लागि हामी त्यति महत्त्वपूर्ण छैनौँ ।

अहिले भएको नेतृत्व परिवर्तनले नेपालको विकास निर्माणका लागि अमेरिकाले गर्दै आएको साथ सहयोगमा पनि कुनै असर पर्दैन । एमसीसी परियोजना त ५ वर्षका लागि सम्झौता भएर कार्यान्वयनको चरणमा पुगिसकेको छ । हाम्रालागि मुख्य चुनौती भनेको हामीले त्यो काम समयमा सक्छौँ कि सक्दैनौँ भन्नेमात्रै हो । नेतृत्व परिवर्तन हुँदैमा उनीहरूले गर्दै आएको सहयोग घटाउने वा बढाउने केही गर्दैनन् ।

ट्रम्प फेरि नेतृत्वमा आएपछि इन्डोप्यासिफिक रणनीतिको विषय उठ्न सक्छ । उनले भारत भ्रमण पनि गर्लान् । अघिल्लो कार्यकालमा उनले उत्तर कोरियाका प्रमुख किम जोङ उनलाई भेटेर कुरा गरेका थिए । अहिले रसिया–युक्रेन युद्धमा चीन र उत्तर कोरियाको पनि सहभागिता रहेको कुरा उठिरहेको छ । उनीहरू मुख्य समय र शक्ति युद्धको विषयहरूमा लगाउँछन् । तर यता नेपाल र यस्ता देशहरूसँगको सम्बन्ध र काम त्यहाँका कर्मचारीतन्त्रले जे गर्छ, त्यही नै हुन्छ ।

ट्रम्प आएपछि उत्तर कोरियाप्रति अमेरिका कडा रूपमै प्रस्तुत हुन्छ । अघिल्लो कार्यकालमा आणविक हतियार कार्यक्रममा अगाडि नबढ भन्नका लागि ट्रम्पले किम जोन उनसँग कुराकानी गरेका हुन् । उत्तर कोरिया र अमेरिकाको सम्बन्धलाई चीनको सम्बन्धले पनि अर्थ राख्छ । उत्तर कोरिया चीनबाट निर्देशित भएर काम गर्छ । चीनले जे भन्यो, उत्तर कोरियाले त्यही गर्छ ।

ट्रम्पको विजयपछि यूरोप पनि खुसी छैन । किनभने नेटोको खर्च तिमीहरू आफैँ बेहोर्नु भनेर ट्रम्पले भनिसकेका छन् । अमेरिकाले त्यसको खर्च धानिरहेको थियो । अब हामी सक्दैनौँ भनेको छ ।

अब अमेरिकाले रसियालाई उसले कब्जा गरेको युक्रेनी भूमि छोडिदेऊ, युक्रेनले पनि आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ, हामी धेरै मेहनत गर्न सक्दैनौँ भन्यो भने त्यहाँको सुरक्षाको परिस्थितिमा ठुलो परिवर्तन आउँछ । ट्रम्प प्रशासनले हेर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो । पश्चिम यूरोप, चाइना, इजरायल र चौथो नम्बरमा भारत पनि उनीहरूको प्राथमिकता क्षेत्रभित्र पर्छन् ।

ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरे पनि कानुनी प्रक्रिया पूरा गरेर अमेरिका पुगेका नेपालीका लागि त्यसले कुनै असर गर्दैन । गैरकानुनी रूपमा अमेरिका बसेकाहरूलाई हटाउँछु भनेका छन् । हाम्रा नेपाली कति अवैध रूपमा बसेका छन्, थाहा छैन । अहिले अमेरिकामा नेपालीहरूको संख्या ४ लाखभन्दा माथि छैन होला । त्यसमध्ये ३ लाखभन्दा बढी त वैध रूपमा डीभी परेर, ग्रीन कार्ड लिएरै बसेका होलान् । कोही विद्यार्थी भएर कानुनी प्रक्रिया पूरा गरेर त्यहाँ बसेका होलान् । उनीहरूलाई त्यस्तो नीतिले कुनै असर गर्दैन । अवैध रूपमा बसेका नेपालीमात्र हैन, जुनसुकै देशका व्यक्तिलाई पनि असर गर्न सक्छ । अमेरिकाको मुख्य समस्या भनेको मेक्सिकोबाट पसेका आप्रवासी हुन् । त्यो अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

अहिले अमेरिकामा ट्रम्प आए भनेर नेपाल खुसी हुनुपर्ने वा दुःखी हुनुपर्ने कुनै अवस्था र कारण छैन । नेपाल र अमेरिकाबिच निरन्तर सम्बन्ध रहनु नै ठुलो कुरा हो । अमेरिकामा जसले जिते पनि हाम्रो जस्तो मुलुकका लागि केही अर्थ राख्दैन । 

ट्रम्प उग्रराष्ट्रवादको नारा लिएर फेरि निर्वाचित भएका छन् । त्यो उग्रराष्ट्रवादको नारा वा विचार अहिले संसारभर गतिशील छ । भारतमा नरेन्द्र मोदी पनि उग्रराष्ट्रवादी नै हुन् । अरब मुस्लिम देशहरूमा पनि उग्रराष्ट्रवाद छ । अहिले युग नै उग्रराष्ट्रवादको हुन आएको छ । ट्रम्पको पुनरोदय भएपछि संसारमा अझ यो विचारधारा प्रखर हुन सक्छ ।

(परराष्ट्रविद् एवं कूटनीतिज्ञ जयराज आचार्यसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको कुराकानीको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. जयराज आचार्य
डा. जयराज आचार्य
लेखकबाट थप