आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उमागौरी सहकारीको अनियमितता प्रकरण : १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बिहीबार, २२ कात्तिक २०८१, १८ : ५४
बिहीबार, २२ कात्तिक २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

पक्राउ पुर्जी जारी हुनेमा सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर छन् । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई भने पक्राउ पुर्जी जारी गरिएको छैन । 

त्यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले कारबाहीका लागि सिफारिस गरेकाविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो ।

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले पठाएको पत्रका आधारमा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको हो । रजिष्टार कार्यालयले कोइरालाको नाम हटाएर अनुसन्धानको सिफारिस गरेको थियो । 

प्रहरीले पक्राउ पुर्जी लिए पनि प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीका बचतकर्ता तथा ऋणी भने पुगेका छैनन् । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्दछ । गत कार्तिक १४ गते प्रहरीले सहकारीको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । 

२०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पोखरेलकी पत्नी दुई कार्यकाल सञ्चालक समितिमा रहेर काम गरेकी थिइन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गतेदेखि सहकारीबाट राजीनामा दिइन् । सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक समितिमा रहँदा सहकारीले लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहितका सञ्चालकलाई कालो सूचीमा राखेको छ ।

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पोखरेलको पार्टीका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्दा आफ्नो नाम राख्न नमिल्ने भएका कारण उनले पत्नीको राखेको उनीनिकट स्रोत बताउँछ ।

सहकारीका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ ।

सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप