बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

इतिहासमा पहिलोपटक आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्ति राष्ट्रपति चुनिए : परराष्ट्रविद् डा. पाण्डे

बिहीबार, २२ कात्तिक २०८१, १७ : २४
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले इतिहासमा पहिलोपटक अमेरिकी जनताले आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा चुनेको टिप्पणी गरेका छन् । अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको मुद्दाको फैसला कार्यान्वयनको विषय रोचक हुनसक्ने बताए । 

‘पहिलो पटक इतिहासमा आपराधिक क्रियाकलापमा संलग्न भएको भनेर मुद्दा खेपिरहेको व्यक्ति अमेरिकाको राष्ट्रपति हुन गइरहेको छ । यो न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबिचको द्वन्द्व अब अमेरिकामा कसरी सुरु हुन्छ र निर्क्योल हुन्छ यसलाई हेर्न जरुरी छ ।’ उनले भने, ‘कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने मुलुकले आफ्नै राष्ट्रपतिको मुद्दामा भएको जति पनि फैसलाहरू छन्, यसलाई कसरी कार्यान्वयनमा लिएर जान्छ ? न्यायपालिकाले त्यसलाई कसरी हेर्छ ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ 

साथै, ट्रम्पलाई संयुक्त राष्ट्रसंघका कतिपय कुराहरूमा विश्वास नरहेको उनले बताए । ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिकाले युनेस्कोलाई सहयोग नगरेको उनले बताए । साथै आप्रवासी, महिला सशक्तीकरण र गर्भपतन, समलिङ्गीहरूको अधिकार र जलवायु परिवर्तनमा ट्रम्पको सोचाइ सङ्कुचित रहेको उनले बताए । यी विषयहरूले नेपाललाई असर गर्ने उनको भनाइ छ । ट्रम्पले जलवायु परिवर्तन भन्ने कुरामा नै विश्वास नगर्ने उनले बताए । 

अमेरिका–नेपालबिचको इतिहास हेर्दा पनि रिपब्लिकन एड्मिनिस्ट्रेसनले नेपाललाई प्राथमिकतामा राखेको उनले बताए । अहिले पनि रिपब्लिकन एड्मिनिस्ट्रेसन आएको हुनाले अमेरिकी सरकारलाई आफ्नो राष्ट्रिय हितमा उपयोग गर्न सकिने उनले बताए । परराष्ट्रविद् डा.पाण्डेले दक्षिण एसियामा अमेरिकी सरकारको विशेष प्राथमिकता भारत रहेको दाबी गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच व्यक्तिगत र आत्मीय सम्बन्ध रहेको पनि उनले बताए । 

साथै, नेपालसहित अन्य देशमा अमेरिकी प्रशासनको नीति कस्तो हुने भन्ने कुरा रुस–युक्रेनबिच रहेको युद्धको समाधानले बताउने उनले बताए । पाण्डेले भने,‘अमेरिकी प्रशासनको विशेष प्राथमिकता भनेको दक्षिण एसियामा भारत नै हो । भारतसितको सम्बन्ध उहाँहरूले कसरी विस्तार गर्दै लानुहुन्छ ? प्रधानमन्त्री मोदी र ट्रम्पको आत्मीय र व्यक्तिगत सम्बन्ध छ । त्यसलाई कसरी विकास गर्नुहुन्छ ? र रुस युक्रेन युद्धलाई कसरी समाप्त गर्नुहुन्छ ? रुसले युक्रेनको भूमि खाइसक्यो । जुन भू–भाग खाइसक्यो त्यो खाएको खाई हुने हो कि ? अब शान्ति प्रक्रिया गर्ने हो कि त ? त्यो हो भने हामीजस्तो सानो र भूपरिवेष्टित मुलुकलाई झन् ठूलो समस्या पर्ने भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप