सञ्चितादेखि जोगिन्दरसम्मले यसरी मनाउँदै छन् छठ पर्व
काठमाडौँ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुने छठ अन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै छ । यस्तै शुक्रबार उदाउँदो सूर्यको पूजासँगै पर्व सकिनेछ । छठको पूजा गर्नाले ऐश्वर्या, शक्ति प्राप्त, रोगमुक्त लगायत विभिन्न फल प्राप्ति हुने जनविश्वास रहँदै आएको छ । छठ सर्वसाधारणझैँ नेपाली कला क्षेत्रका कलाकारले पनि धूमधामका साथ मनाउँदै आएका छन् । अभिनेत्री सञ्चिता लुइँटेलदेखि हास्य कलाकार सन्दीप क्षेत्रीसम्म यसरी मनाउँदै छन् यो वर्षको छठ ।
सञ्चिता लुइँटेल (अभिनेत्री)
अभिनेत्री सञ्चिता लुइँटेलले सानैदेखि पशुपति गौरीघाटमा छठ मनाउँदै आएकी छन् । आज पनि उनी साथीभाइ, आफन्तको समूहमा साँझमा छठ मनाउन गौरीघाट पुग्ने उनको भनाइ छ । विगत ६, ७ वर्षयता व्रत समेत बस्दै आएकी उनको छठ मनपर्ने पर्व पनि हो ।
‘मेरो घरको कुलदेवता पनि सूर्य नारायण हुन् । छठमा पनि सूर्य पूजा गर्ने भएकाले विशेष तरिकाले पूजा गरेर मनाउने गरेकी छु,’ सञ्चिताले भनिन्, ‘जसलाई हामीले देख्न र महसुस गर्न पाएका छौँ । उसैको पूजा गर्ने छठ विशेष मन पर्छ ।’ सूर्यको किरणले मानिसको शरीरमा धेरै सकारात्मक ऊर्जा दिने सञ्चिताको भनाई छ ।
रेखा थापा (अभिनेत्री)
अभिनेत्री रेखा थापाले पनि विगतका बर्सहरूमा पशुपति गौरीघाटमा छठ मनाएकी थिइन् । यो वर्ष छठलाई उनी चाबहिलस्थित घरबाटै सम्झिनेछिन् । विगतका बर्सहरूमा गौरीघाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर, व्रत बसेर छठ मनाउँदै आएकी रेखाले छोरी सानो भएको कारण यस वर्ष घरबाटै सम्झने सोच बनाएकी हुन् । बच्चा सानो रहेको हुँदा छठ मनाउन साँझ र बिहान गौरीघाट जान नमिल्ने भएकोले यसवर्ष घरमै छठ सम्झने बिचार गरेको रेखाले बताइन् ।
सन्दीप क्षेत्री (अभिनेता)
अभिनेता, हास्य कलाकार सन्दीप क्षेत्रीले आजको छठ वीरगन्जको छट्टकैया नदीमा मनाउँदै छन् । यो नदीमा उनले सानैदेखि परिवारसँग छठ मनाउँदै आएका थिए । सानैदेखि छठ देख्दै र मनाउँदै आएकाले छठको महिमाप्रति विश्वास छ उनलाई । अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने योजना समेत सन्दीपको छ । छठ प्रति एकदमै आस्था भएकोले हरेक वर्ष मनाउने गरेको उनी बताउँछन् ।
शिवशङ्कर रिजाल ‘जोगिन्दर’(हास्य कलाकार)
हास्य कलाकार शिवशङ्कर रिजाल पनि विगतका वर्ष झैँ पशुपतिस्थित गौरीघाटमा छठ मनाउँदै छन् । सर्लाहीका रिजालले गुह्येश्वरी नजिक घर बनाएकोले विगत ७ वर्षदेखि गौरीघाटमा छठ मनाउँदै आएका हुन् । ‘आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै विभिन्न मिठाई, फलफूललगायत चढाउनेछु, उपासना गर्नेछु,’ रिजालले भने, ‘भोलि बिहान उदाउँदो सूर्यको समेत पूजा गर्नेछु ।’ छठिमाई धेरै विश्वासिलो, शक्तिशाली देवी भएकोले छठीको उपासना, दर्शनले मनको सबै मनोकाङ्क्षा पुरा हुने रिजालको धारणा छ ।
दीपाश्री निरौला (अभिनेत्री, निर्देशक)
फिल्म निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला छठ विगतका वर्ष झैँ विराटनगर मै मनाउँदैछिन् । विराटनगरको सिनिया घाटमा उनले सूर्य भगवानको आराधना गरेर हरेक वर्ष छठको पूजा गर्दै आएकी छन् । यो पटकको रटिङ पनि विगतको झैँ छ । छठ मनाउँदा जीवनमा नयाँ ऊर्जाको विकास हुने दीपाश्री बताउँछिन् । उनी आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यको पूजा गर्नेछिन् । आज आमाको एकछाकी भएकोले उनी बर्त भने बसेकी छैनन् । कतिले आजको दिन पानी पनि नखाने उनी बताउँछिन् । छठको व्रतले ऐश्वर्या प्राप्त हुने निरोगी बन्ने विश्वास दीपाश्रीको छ । अस्ताउँदो सूर्यलाई पूजा गरेर सुरु हुने र उदाउँदो सूर्यलाई पूजा गरेर सकिने छठको व्रत अचम्मको र अनौठो लाग्ने दीपाश्री बताउँछिन् । बलको आगो ताप्ने जमानामा अस्ताउँदो सूर्यलाई पूजा गरेर सुरु गर्ने यो छठ आफैमा अनौठो र विशेष महत्त्व बोकेको दीपाको भनाई छ ।
निखिल उप्रेती (अभिनेता)
अभिनेता निखिल उप्रेतीको छठ मनपर्ने पर्व हो । उनले विगतको बर्षमा छठ पशुपतिको गौरीघाटमा परिवारसँग मनाउँदै आएका थिए । यो पटक भने स्याङ्जामा मनाउँदै छन् । प्याराग्लाइडिङका लागि स्याङ्जा पुगेका निखिलले स्याङ्जाकै कुनै खोलामा छठिको पूजा गर्ने बताए । हाम्रो कुलदेवता सूर्य हो । छठमा पनि सूर्यको पूजा हुने भएकोले मिस गर्न मन नलाग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो