बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
टिप्पणी

वर्तमान पदाधिकारीबाट त्रिविको पुनर्संरचना असम्भव

बिहीबार, २२ कात्तिक २०८१, १६ : २९
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय आज जुन ठाउँमा पुग्यो, पुग्नुनपर्ने ठाउँमा पुग्यो । उच्च शिक्षाको दृष्टिकोण भएका मान्छे नआएका कारण यो समस्या आएको हो । 

एउटा विश्वविद्यालयमा पाँच लाख विद्यार्थी किन चाहियो ? नेपालको जनसंख्या झन्डै तीन करोड छ । त्योमध्ये ५० लाख विदेशमा छन् । तीमध्ये उच्च शिक्षा पढ्ने जनसंख्या कति नै छ र ? त्यसको ८० प्रतिशत जनसंख्या त्रिभुवन विश्वविद्यालयमा किन ? यो पनि प्रश्न छ ।

हार्वर्ड विश्वविद्यालयमा १९ हजार विद्यार्थी पढ्छन् र सबै पास हुन्छन् । अक्सफोर्ड विश्वविद्यालयमा २४ हजार विद्यार्थी पढ्छन् र पूरै पास हुन्छन् । त्रिभुवन विश्वविद्यालयमा चार लाख विद्यार्थी पढ्छन् तर ६० हजार पास हुन्छन्, नियमिततर्फ ३० हजार र पार्सियलतर्फ ३० हजार गरी । त्यत्रो विद्यार्थी जम्मा गरेर पढाउने र त्यसमा ६० हजार मात्रै पास गराउने ! 

त्यसैले क्याम्पसहरूलाई नै अटोनोमी दिइनुपर्छ । उनीहरूलाई राज्यले भन्नुपर्छ— हामीलाई यो खालको क्वालिटी चाहियो । मोरङमा परीक्षा बिग्रियो भने पूरै देशभरको परीक्षा बन्द हुने अवस्था किन छ ? 

त्यसैले त्रिविको पुनर्संरचना आवश्यक छ । म भीसी हुँदा प्रा.डा. पुष्कर बज्राचार्यको अध्यक्षतामा एउटा कमिटी बनेको थियो । ‘क्यालिफोर्नियल मोडल अफ हाइअर एजुकेसन’ अनुसार अध्ययन–अध्यापन गर्नुपर्ने कुरा भएको थियो । यो भनेको टप–टप कलेजलाई छुट्टै युनिभर्सिटी बनाउने भन्ने हो । जसले परीक्षा आफैँ लिने, आफैँ पाठ्यक्रम बनाउने, आफैँ सबै काम गर्न सक्छन् । यसका लागि ‘टीयु भिजन २०२०–३०’ बनाएका थियौँ । क्याम्पसहरूको क्वालिटी हामीले हेर्ने र अटोनोमस सिस्टममा चल्न दिने भन्ने थियो । त्यो तत्काल गर्न सकिने भएपछि मेरो पालामा केही सुरुवात भएको थियो । 

मेरो पालामा त्रिभुवन विश्वविद्यालय विश्व बरीयतामा ८०० देखि १००० भित्र परेको थियो । ‘टाइम्स हाइअर एजुकेसन’ले संसारका १००० भित्रपर्ने विश्वविद्यालयको सूची निकाल्छ । यसका लागि विभिन्न मापदण्ड तय गरिएको हुन्छ ।

त्यही भिजन अनुसार अहिले गर्न खोजिएको हो, तर त्यो गर्न सकिँदैन । अहिलेकाले त्यो गर्न सक्नुहुन्न । किनभने त्यसबारे बुझ्नु नै भएको छैन । यतिका दिन भयो डिन नियुक्त समेत गर्न सक्नुभएको छैन । त्यही गर्न नसकेपछि अरु के गर्नुहुन्छ ? 

मेरिटोक्रेसीबाट आएको भनिएको टिमले अहिले केही गर्न सकेको छैन । दुई वर्षपछाडि त ‘ए जाँदै हुनुहुन्छ’ भनेर कसैले टेर्दैन । त्यसपछि गर्न सकिने कुरै हुँदैन । 

नेपालको उच्च शिक्षालाई बिगार्नुमा राजनीतिकै भूमिका छ । विश्वविद्यालयमा राजनीतिले कब्जा गर्न केही बाँकी छैन । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरू राजनीति गर्दै हिँड्छन् । 

राजनीतिक रूपमा केही भयो भने सडकमा त्यही विश्वविद्यालयका विद्यार्थी आउँछन् । विश्वविद्यालयका विद्यार्थी संगठनहरू राजनीतिक संगठन हुन् । नेताहरू विश्वविद्यालय बनाउन हिँडेका छैनन् । उनीहरू आफ्ना मान्छे बनाउन हिँडेका हुन् । विश्वविद्यालयमा हुने राजनीति र राजनीतिका नाममा विश्वविद्यालयका विद्यार्थी प्रयोग गर्ने परिपार्टी अन्त्य नहुँदासम्म विश्वविद्यालयमा सुधार गर्न सकिँदैन । 

त्रिवि खुल्दादेखि नै राजनीति सुरु भयो । विश्वविद्यालय कसरी खुल्छन् भनेर हेर्दा नेपालका विश्वविद्यालय राजनीतिक रूपमा खुलेका छन् । नयाँ विश्वविद्यालय पनि त्यही राजनीतिक दाउपेचका आधारमा खुल्ने गरेका छन् । 

पहिले राजा त्रिभुवनको नाममा विश्वविद्यालय खुल्यो, अहिले मदन भण्डारीको नाममा खुलेको छ । योगमायाको नाममा विश्वविद्यालय खुलेका छन् । यी खुल्ने तरिकामै राजनीति भएको छ ।

विश्वविद्यालय भनेको आफ्ना मान्छेलाई भीसी बनाउन खोल्ने हो कि उच्च शिक्षाको भिजनलाई अगाडि बढाउनका लागि ? यो कुरा उनीहरूले बुझ्नै चाहँदैनन् । 

म १८औँ भीसी र चार वर्षे (२०७२–२०७६) कार्यकाल पूरा गर्ने १०औँ भीसी हुँ । एउटा भीसीको पालामा तीन वर्षै विश्वविद्यालय बन्द भयो भने भीसीले कसरी काम गर्न सक्छन् ?

म विश्वविद्यालयमा रहँदा एक दिन पनि विश्वविद्यालयमा तालाबन्दी भएन । कुनै समस्या भयो भने प्रत्यक्ष रूपमा छलफल गरेर समाधान खोज्थेँ, तालाबन्दी गर्नुपर्ने अवस्थामा पुर्‍याउँदिनथेँ । 

फास्ट ट्र्याकबाट प्रोफेसरहरू नियुक्त गरेको थिएँ । मैले छाडेपछि एकजना पनि प्राध्यापक नियुक्त हुन सकेको छैन । 

मेरो पालामा प्रधानमन्त्री तथा कुलपति केपी ओलीले सिनेट नै बहिष्कार गरे । पछि मैले बुझाएपछि उनी सबैभन्दा नजिकका भए ।

म विश्वविद्यालयमा रहँदा एक दिन पनि विश्वविद्यालयमा तालाबन्दी भएन । कुनै समस्या भयो भने प्रत्यक्ष रूपमा छलफल गरेर समाधान खोज्थेँ, तालाबन्दी गर्नुपर्ने अवस्थामा पुर्‍याउँदिनथेँ । 

भीसीलाई निकाल्न खोज्ने, असहयोग गर्ने, भीसीमाथि भागबन्डाका लागि दबाब दिने, आफ्ना मान्छे भर्ती गराउनका लागि दबाब दिने, काम गरेको खण्डमा असहयोग गर्ने, तालाबन्दी गर्ने, विरोध प्रदर्शन गर्ने आदि प्रवृत्ति छ । भीसीले शिक्षामन्त्रीसँग कुस्ती खेलेर कति दिन चलाउने ?

विश्वविद्यालय बनाउनका लागि उपकुलपति ल्याएको होइन, आफूहरूले भनेको काम गराउनका लागि ल्याएको भन्ने बुझाइ छ । उनीहरूले भनेका मान्छेलाई नियुक्ति दिने, सरुवा–बढुवा गराउनमा भीसीलाई दबाब दिन्छन् । 

मेरो पालामा त्रिभुवन विश्वविद्यालय विश्व बरीयतामा ८०० देखि १००० भित्र परेको थियो । ‘टाइम्स हाइअर एजुकेसन’ले संसारका १००० भित्रपर्ने विश्वविद्यालयको सूची निकाल्छ । यसका लागि विभिन्न मापदण्ड तय गरिएको हुन्छ । सबै कुरा हेरेर मात्रै बरीयतामा राख्ने हो । अहिले कतिमा परेको छ, सबैले जानेकै कुरा हो । 

विदेशी विद्यार्थी, विदेशी फ्याकल्टी आदि पनि हेरेर विश्व बरीयता कायम गरिन्छ । अहिले नेपालमा विदेशी विद्यार्थी आउँदैनन् । यसको पछाडि थुप्रै कारण छन् । 

चार वर्षका लागि आउने भीसीले सुरुमा विश्वविद्यालय बुझेकै हुँदैन । संसारका कतिपय देशमा भीसीको कार्यकाल चार वर्षे हुँदैन । 

  • विद्यार्थीका समस्या 

राजनीतिक दलहरूको पावरको स्रोत नै विश्वविद्यालय हुन् । मैले प्रधानमन्त्रीलाई भेट्न खोज्दा उनको दलका विद्यार्थीले रोक्न खोजे भने सक्छन् । यति पावरफुल छ विद्यार्थी राजनीति । 

विद्यार्थी संगठनहरूसँग मेरो राजनीतिक बहस हुन्थ्यो । विश्वविद्यालयमा राजनीतिक आइडियोलजी नभएको मान्छे नै पाइँदैनन् । 

विश्वविद्यालयमा हुने भागबन्डा नै एक प्रकारले पावर हो । विश्वविद्यालयमा सबैको पावर हुन्छ । प्रश्न उठ्छ, यो परिपाटीलाई कसरी अन्त्य गर्ने ? 

राजनीतिको अन्त्य गर्न सकिँदैन, यसलाई कम र व्यवस्थित गर्न सकिन्छ । त्यो मैले गरेको थिएँ । 

कुनै दुई पार्टीबिच विवाद भयो भने त्यसको असर विश्वविद्यालयमा पर्छ । किनभने दलहरुले विद्यार्थीलाई नै सडकमा उतार्छन् । त्यसको असर विश्वविद्यालयमा पर्छ । 

अर्कोतिर, विद्यार्थी राजनीतिको पनि भित्र एउटा माग र बाहिर अर्को खालको माग आउँछ, त्यसले गर्दा माग सम्बोधन गर्न सकिँदैन । 

एकथरी मागका लागि आउँछन्, अर्को थरी सुधारका लागि आउँछन् । विश्वविद्यालय भीसीले भन्दा पनि विद्यार्थीले बढी बुझेका हुन्छन् । भीसीले राजनीति गरेनन् भने विद्यार्थीले गर्दैनन् । भीसीले राजनीति गर्न खोज्यो वा थाल्यो भने विद्यार्थीले पनि राजनीति गर्न थाल्छन् । विद्यार्थी भनेका शक्ति हुन् । त्यो शक्तिलाई बाहिर राखेर विश्वविद्यालय सुधार गर्न सकिँदैन । 

विश्वविद्यालयमा विद्यार्थी नै मुख्य केन्द्र हुन्, तर उनीहरुका लागि गुणस्तरमा काम गर्न सकेका छैनौँ । गुणस्तर दिनका लागि सेमेस्टर लगाएका छौँ । सेमेस्टरको बेसिक नेचर नै जसले पढाउँछ, उसैले जाँच लिने भन्ने हो । तर अहिले एउटाले पढाउने अर्कोले जाँच लिने काम भइरहेको छ । यसमा शिक्षकलाई जिम्मेवार बनाइएको छैन । 

विद्यार्थी किन फेल भयो भनियो भने मलाई थाहा छैन भन्ने जवाफ आउँछ । विद्यार्थी सम्बन्धित शिक्षकको जिम्मामा हुनुपर्ने हो । पढाउने, परीक्षा लिने र पास गराउने जिम्मा उसैको हुनुपर्छ । हाम्रोमा त पढाउने एउटा छ, प्रश्नपत्र बनाउने अर्को हुन्छ । 

हामीकहाँ हरेक क्षेत्रमा यति धेरै राजनीतीकरण भयो कि जिम्मा लिने कोही छैन । विद्यार्थी फेल हुन्छ, प्राध्यापकले त्यसको जिम्मा लिँदैन । यसमा सजाय गर्ने जिम्मेवारी विश्वविद्यालयको हो । तर एउटा भीसी आफ्नो ज्यान जोगाउनैमा व्यस्त हुन्छ, अनि कसरी सजाय दिन्छन् ? 

त्यसैले मैले भनिरहेको छु कि अब विश्वविद्यालयको पुनर्संरचना गर्नुपर्छ । आफ्नो विद्यार्थीको जाँच आफैँले लिने हो भने मात्रै हुन्छ । 

प्राध्यापकलाई नै विद्यार्थीको जिम्मा नदिएसम्म केही हुँदैन । विद्यार्थी र शिक्षकको जुन सम्बन्ध हुनुपर्ने हो, त्यो नै छैन । 

मेरो कार्यकालमा परीक्षा एक दिन पनि ढिला भएन । समयमै विज्ञापन गरेर प्राध्यापक नियुक्त गरेका थियौँ । यसमा पनि सेवा आयोगमा पार्टीका मान्छे हुन्छन्, उनीहरूले असहयोग गर्छन् । 

मेरो पालामा धेरै काम गरेँ तर पुनर्संरचनाको काम सकिएन । त्यो तत्काल सकिने अवस्था पनि थिएन । अहिले दोस्रो कार्यकालका लागि आवेदन दिँदा प्रपोजलमै मैले पुर्नसंरचना गर्ने कुरा गरेको थिएँ । अर्को चार वर्ष पाएको भए धेरै परिवर्तन गरिसकेको हुन्थेँ । 

विदेशमा विद्यार्थीको खोसाखोस छ । नेपालमा विद्यार्थी नै छैनन् । यसमा रिसर्च गर्दा देशमा नपढ्नुको केही कारण देखिए— 

१) वर्क र स्टडी मिलेन भन्ने थियो । वर्क मिले स्टडी नमिल्ने, स्टडी मिले वर्क नमिल्ने ।

२) नपढ्ने र राजनीति गर्ने विद्यार्थीले पढ्ने विद्यार्थीलाई दबाएर राख्ने अवस्था छ । 

३) परीक्षा हुने, नतिजा नआउने अवस्था छ । 

४) प्राध्यापकहरू पढाउन छाडेर राजनीति गर्नतिर लाग्ने, नियमित पढाई नहुने समस्या छ ।   

यी कुरा तह लगाउन सकियो भने बाहिर जाने विद्यार्थी रोक्न सकिन्छ । 

विश्वविद्यालय हेरेर भन्दा पनि प्रोफेसरहरु हेरेरै विद्यार्थी पढ्न जाने हुन् । विश्वविद्यालय जस्तो भए पनि कुन प्रोफेसर हो भन्ने प्रमुख हुन्छ । अहिले कुन देशमा पढेको भन्दा पनि कुन प्रोफेसरससँग पढेको भन्ने कुरा छ । कुन प्रोफेसरसँग पढेको भन्ने कुरा गुणस्तरसँग जोडिएको हुन्छ । 

हामीकहाँ बाहिरका विद्यार्थी नेपाल ल्याउनेबारे सोच्नै पाइँदैन, त्यसका विषयमा सोच्नै दिँदैनन् । भीसी दैनिक रूपमै सानातिना काममा व्यस्त हुँदा नयाँ कुरा सोच्नै पाउँदैनन् ।

(त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति खनियाँसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. तीर्थ खनियाँ
प्रा.डा. तीर्थ खनियाँ
लेखकबाट थप