बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

स्थानीय तहको उपनिर्वाचन : कांग्रेसको २६ सिट दाउमा, अरु दलको कति ?

बिहीबार, २२ कात्तिक २०८१, १५ : ०६
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । स्थानीय तहका लागि मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत ४४ पदका लागि निर्वाचन हुँदैछ । विभिन्न कारण रिक्त ती पदमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

स्थानीय तहका रिक्त ४४ पदमध्ये आधाभन्दा बढीमा यसअघि नेपाली कांग्रेस विजयी भएको थियो । नेपाली कांग्रेसले जितेका २६ पद विभिन्न कारणले रिक्त रहेका थिए । आसन्न उपनिर्वाचनमा कांग्रेसलाई ती २६ स्थानको विरासत जोगाउनु नै मुख्य चुनौती हुने देखिएको छ ।

ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यी सबै पदमा यसअघि कांग्रेसले जितेको थियो ।

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३, तेहथुमको लालीगुराँस नगरपालिका–८,  ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरको बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र डाक्नेश्वरी नगरपालिका– ४ का वडाध्यक्ष यसअघि कांग्रेसले जितेको थियो । हाल रिक्त रहेका यी वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।

यस्तै, रौतहटको राजपुर नगरपालिका–६, कीर्तिपुर नगरपालिका– १, काठमाडौँ महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, गुल्मीको मुसीकोट नगरपालिका– १, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १, रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका– ५, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । यी पदमा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

यसैगरी  नेकपा एमालेले जितेका ८ स्थानमा पनि उपनिर्वाचन हुँदैछ । एमालेले अघिल्लो निर्वाचनमा जितेका ८ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

जसअनुसार झापाको कन्काई नगरपालिका–६, सुनसरीको गढी गाउँपालिका– ६, धनुषाको धनुषाधाम नगरपालिका– १ मा उपनिर्वाचन हुँदैछ ।

यस्तै रौतहटको ईशनाथ नगरपालिका– ७,  गोरखाको गोरखा नगरपालिका– ५, दैलेखको दुल्लु नगरपालिका– १३, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ र बझाडको सूर्मा गाउँपालिका– ४ मा पनि उपनिर्वाचन हुँदैछ, जहाँ यसअघि एमाले विजयी भएको थियो ।

संसदको तेस्रो शक्ति रहेको माओवादी केन्द्रले अघिल्लो स्थानीय तह निर्वाचनमा जितेका ८ स्थानमा अहिले उपनिर्वाचन हुँदैछ ।

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र  हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पद यसअघि माओवादी केन्द्रले जितेको थियो । यी दुवै पालिका उपाध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुँदैछ ।

यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, पुथा उत्तरगंगा गाउँपालिका– २, जाजरकोटको कुशे गाउँपालिका– ७, कालिकोटको तिलागुफा नगरपालिका– ४, र दार्चुलाको  दुहुँ गाउँपालिका– ५ को वडाध्यक्ष यसअघि माओवादी केन्द्रले जितेको थियो । यी वडाध्यक्ष पदका लागि पनि अहिले उपनिर्वाचन हुँदैछ ।

यस्तै, जसपा नेपालले जितेको १ र स्वतन्त्र उम्मेदवारले जितेको एक स्थानीय तहमा पनि उपनिर्वाचन हुँदैछ । जसपा नेपालले जितेको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । यसअघि स्वतन्त्र उम्मेदवारले जितेको कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्ष पदका लागि पनि अहिले उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप