बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रको संस्थागत निर्णय नआउँदा पार्टी एकतामा ढिलाइ, के गर्दैछ कार्यदल ?

बिहीबार, २२ कात्तिक २०८१, १७ : ४०
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी यतिबेला अन्योलमा देखिएका छन् ।

यी दुवै पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेको ७–८ महिना पुगिसकेको छ । तर, माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियामा ढिलाइ भएको हो । दसैँ अगाडि बस्ने भनिएको माओवादीको केन्द्रीय समिति बैठक मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनपछि बस्ने भएको छ । उपनिर्वाचन मङ्सिर १६ गते हुँदैछ ।

दसैँअघि बस्ने भनिएको बैठक शीर्ष नेताहरूको जिल्ला दौडाहा, चाडपर्व, स्थानीय तहको निर्वाचनको तयारी लगायतका कारण केन्द्रीय समिति बैठक पछि सारिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । एकताको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनले बताए । यी दुई पार्टीबिच एकता गर्न माओवादी सकारात्मक भए पनि कुनै निष्कर्षमा पुगेको छैन । 

‘विप्लव र महिन्द्रजीको पार्टीसँग एकता गर्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन । एकता गर्ने भएपछि अब धेरै समय कुराउन हुँदैन भनेर पार्टीभित्र छलफल भएको छ । यसबारे ठोस निर्णय केन्द्रीय समिति बैठकले गर्नेछ । एकताका लागि दुवै पक्षबिच छलफल भए पनि कुनै निष्कर्षमा पुगेका छैनौँ’, गजुरेलले भने । 

केही दिनअघि अर्का उपमहासचिव जनार्दन शर्माले विप्लव लगायत नेताहरूसँग पार्टी एकताबारे छलफल गरेका  थिए । गएको वैशाखमा कपिलवस्तुस्थित शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

त्यसअघि चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी र नेसपाबिच एकता गर्ने चार बुँदे सहमति भएको थियो । यद्यपि यो सहमतिलाई बाबुराम भट्टराई पक्षधरले खारेज गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय गरिएको थियो । 

साथै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न चार सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादीबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव  रहेका थिए । 

अहिलेसम्म कार्यदलको बैठक चार पटक बसेको नेसपाका महासचिव रमेश यादवले जानकारी दिए । यादवका अनुसार पछिल्लो समय भदौमा कार्यदलको बैठक बसेको थियो । दसैँ, तिहार, छठ जस्ता चाडपर्व भएकाले बैठक बस्न नसकेको उनले बताए । यद्यपि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने र चुनाव चिन्ह फेर्ने सम्बन्धमा सहमति भएको यादवले दाबी गरे । यसबारे माओवादी केन्द्रीय समितिले निर्णय गर्ने शीर्ष नेताबाट जानकारी आएको उनको भनाइ छ । 

‘एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने कार्यदलमा सहमति भएको छ । यस्तै माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्र हँसिया हथौडा फेर्ने विषयमा सहमति भएको छ । चुनाव चिन्न के राख्ने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ’, उनले भने । 

माओवादीले स्थानीय तह उपनिर्वाचनपछि केन्द्रीय समिति बैठक बसेर एकताबारे निर्णय गर्ने जानकारी गराएको यादवले जानकारी दिए । नेसपाले एकताका लागि माओवादी शब्द र चुनाव चिन्ह हटाउनुपर्ने सर्त राखेको छ । तर अनौपचारिक रूपमा उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्माबिच कुराकानी भइरहेको यादवको भनाइ छ । 

यता कपिलवस्तुमा आलु खेतीमा व्यस्त रहेका विप्लवले मङ्सिरको दोस्रो हप्तामा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । पार्टीको ६–६ महिनामा केन्द्रीय समिति बैठक बोलाउने व्यवस्था भए पनि खेतीपातीका कारण बैठक बस्न ढिलाइ भएको विप्लवका सचिवालयले बताएको छ । 

माओवादीसँग एकता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढिरहेको विप्लवले दाबी गरेका छन् । केही दिनअघि उपमहासचिव शर्मासँग भएको छलफलबारे जानकारी दिँदै उनले माओवादीबाट संस्थागत निर्णय आएपछि एकता प्रक्रिया अगाडि बढ्ने रातोपाटीसँग विप्लवले बताएका थिए । 

स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले एकता सम्बन्धमा दुई पार्टीबिच सकारात्मक छलफल भइरहेको बताए । माओवादीको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । 

‘एकताबारे शीर्ष तहमा सकारात्मक छलफल भइरहेको छ । माओवादीबाट एकताको निर्णय हुँदासाथ बाँकी प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।  माओवादीका उपमहासचिव गजुरेलले तत्काल नेकपा र नेसपाबिच एकता हुने जानकारी दिए । वैचारिक र सैद्धान्तिक विषयमा खासै मतभेद नभए पनि साङ्गठनिक अवस्थाबारे कुनै निष्कर्षमा नपुगेको तीनै दलका नेताहरूले बताएका छन् । 

माओवादीले यी दुई दलबाहेक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादी लगायत दलहरूसँग एकताको पहल गरे पनि सफल भएको छैन । तथापि एकता, सहकार्य र मोर्चाबन्दीको पहल भने जारी राख्ने माओवादी नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप