स्थानीय तहका ४४ पदमा उपनिर्वाचन : गत चुनावमा यस्तो थियो मत परिणाम
काठमाडौँ । आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ ।
कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ । आयोगले उपनिर्वाचनका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
- कोशी प्रदेश : ९ पद रिक्त
कोशी प्रदेश अन्तर्गत विभिन्न पालिकाका रिक्त ९ पदमा उपनिर्वाचन हुँदैछ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कांग्रेसका दील प्रसाद बोखिमले राजीनामा दिएपछि पद रिक्त भएको छ । यहाँ २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा बोखिमले ४०३ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेकी कुमारी सावादेनले ३९९ मत पाएकी थिइन् । सावादेनको तुलनामा बोखिम ४ मत बढी ल्याएर निर्वाचित भएका थिए ।
झापाको कन्काई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको निधन भएसँगै यो पद पनि रिक्त छ । यहाँ २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका दीर्घराज थापा ५०८ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४४० मत पाएका थिए ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । गत चुनावमा गच्छदारले ७ हजार ६०५ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका शिव नारायण माझीले ६ हजार ९३ मत पाएका थिए । तेश्रो स्थानमा रहेका माओवादीका विजय कुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।
तेहथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । अघिल्लो चुनावमा नेपाली कांग्रेसका तेजमान लिम्बु ५२४ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए ।
सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्षको निधन भएपछि सो पद रिक्त छ । यहाँ एमालेका वडा अध्यक्ष सदानन्द उराव झाँगर ७१२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४ मत पाएका थिए ।
ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको निधन भएकाले सो पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि उक्त पद रिक्त छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्कीले ३८४ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल नेपालले ३७० मत पाएका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष पद रिक्त छ । अघिल्लो निर्वाचनमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका रमेश राउत क्षेत्रीले ४०८ र माओवादीका नविन कुमार वान्तवाले ४०४ मत पाएका थिए ।
उपनिर्वाचन हुन लागेको उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा अघिल्लो चुनावमा कांग्रेसका पदम बहादुर खड्काले ६७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका रणजित राईले ५४८ मत पाएका थिए ।
- मधेस प्रदेश : ७ पद रिक्त
वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरीले ५३५ मत पाएर विजयी भएका थिए । चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा उनका प्रतिस्पर्धी एमालेका धीरेन्द्र कुमार साहले ४६९ मत र माओवादी केन्द्रका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए ।
यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गएको चुनावमा कांग्रेसका हरीप्रसाद रायले ३३३ मतसहित विजयी भएका थिए भने प्रतिस्पर्धी दल जसपा नेपालका महेन्द्र यादवले २६९ र जनमत पार्टीका उदय नारायण पंडितले १९७ मत पाएका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष विश्वनाथ यादवको निधनपछि उक्त पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए ।
उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ एमालेका वडाध्यक्ष शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।
रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मतले विजयी भएका थिए । उनका प्रतिस्पर्धी जसपा नेपालका मोहम्मद नसिम अख्तरले ४६५ र नेकपा एकीकृत समाजवादीका जिकरुलालले ३२० मत पाएका थिए ।
यता गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत पाएर विजयी भएका थिए । निकटम प्रतिस्पर्धी कांग्रेसका बैधनाथ ठाकुरले ५६१ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९ मत पाएका थिए ।
- बागमती प्रदेश : ७ पद रिक्त
बागमती प्रदेश अन्तर्गत दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा यो गाउँपालिकामा कांग्रेसबाट श्याम सुन्दर तामाङ ४ हजार ७४१ मत पाएर विजयी भएका थिए । उनका निकतम प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाएकी थिइन् ।
यता काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार रहेका नकर्मी ९ हजार ४३ मत पाइ निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत र माओवादी केन्द्रका शिवशरण महर्जनले ४०९० मत पाएका थिए ।
यता कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा गत निर्वाचनमा कांग्रेसका हिरालाल महर्जन ७७८ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका हर्ष महर्जनले ५८२ मत पाएका थिए ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधनपछि अहिले उपनिर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा अधिकारी १३८० मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले १०५७ मत पाएका थिए भने एमालेका ईश्वर बास्कोटाले २३६ मत पाएका थिए ।
यस्तै काठमाडौं महानगरपालिका वडा १६ मा पनि वडाध्यक्षको मृत्युका कारण उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले ४ हजार १९ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत पाएका थिए । नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १५८९ मत पाएका थिए ।
यता नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा गत चुनावमा कांग्रेसका तिलक बहादुर लामा ८८८ मत पाएर विजयी भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४ मत पाएका थिए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जिसस प्रमुखमा निर्वाचित भएपछि यहाँ पनि उपनिर्वाचन हुँदैछ । गत चुनावमा यहाँ माओवादी केन्द्रका ललित बहादुर घलानले १ हजार ३७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुन प्रसाद तिवारीले १ हजार ३४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३२५ मत पाएका थिए ।
- गण्डकी प्रदेश : १ पद रिक्त
गण्डकी प्रदेश अन्तर्गत गोरखा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । यहाँ गत निर्वाचनमा एमालेका खिलबहादुर रानाले ४५३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका गीता थापाले ४२८ मत ल्याएकी थिइन् ।
- लुम्बिनी प्रदेश : ६ पद रिक्त
गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।
यता रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका टंकबहादुर पुन ४८८ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका वेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।
यता बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडा अध्यक्ष पद खाली भएको थियो । गत निर्वाचनमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।
यता रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्र बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।
सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।
यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा तिलकराम यादवले १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए ।
- कर्णाली प्रदेश : ८ पद रिक्त
यता कर्णाली प्रदेशमा पनि जनप्रतिनिधिहरूको निधनका कारण उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । दैलेखको महाबु गाउँपालिका अध्यक्षको निधनका कारण अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । गत २०७९ सालको निर्वाचनमा यो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए ।
सोही जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ मा गत चुनावमा एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए ।
यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको गत वर्ष भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त छ । गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् ।
यता जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत पाएका थिए ।
कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा गत निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाहीले २३४ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेमकिपाका दिपबहादुर शाहीले १६१ मत पाएका थिए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा एमालेका नन्दलाल रोका १०८ मत पाएर निर्वाचित भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत पाएका थिए ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा ३ हजार २६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका जुनकुमारी फडेराले १ हजार ६४ मत पाएकी थिइन् ।
यता रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा कांग्रेसका अलबहादुर खत्री ४६२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत पाएका थिए ।
- सुदूरपश्चिम प्रदेश : ६ पद रिक्त
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ । जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले १ हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेश बहादुर रोकायाले १ हजार २१३ मत पाएका थिए ।
यता बझाडको सूर्मा गाउँपालिका वडा नम्बर ४ मा एमालेका सर्जन बहादुर बोहोरा ६२९ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर बोहोराले ६०४ मत पाएका थिए ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा कांग्रेसका पुष्पराज जोशीले ५१३ मत पाएका थिए भने प्रतिस्पर्धी एमालेका देव बहादुर भण्डारीले ३८७ मत पाएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्टले ५८२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए ।
कैलालीको जिल्ला समन्वय समिति प्रमुख निधन भएका कारण उनको स्थानमा पनि उपनिर्वाचन हुँदैछ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्र खड्का १ हजार १०२ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए । तेश्रो स्थानमा राप्रपाका सुशील कुमार भट्टले ४८७ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसभामुखको राजीनामा माग्ने एमाले 'मानव तस्करी'मा मुछिएका लिलाबल्लभबारे मौन !
-
उमागौरी सहकारीको अनियमितता प्रकरण : १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते
-
को हुन् ‘मानव तस्करी’मा मुछिएका लिलाबल्लभ अधिकारी ?
-
वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी
-
सर्वोच्चको फैसला लगत्तै मनाङे सम्पर्कविहीन, पक्राउका लागि पूर्णपाठ कुर्दै प्रहरी