बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय

यी कुरा नभएको भए कमला ह्यारिसले जित्ने थिइन् चुनाव ?

बिहीबार, २२ कात्तिक २०८१, १३ : ५४
बिहीबार, २२ कात्तिक २०८१

वासिङ्टन डिसी । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुअघि भएका अधिकांश चुनावी सर्वेक्षणहरूले वर्तमान उपराष्ट्रपति कमला ह्यारिस पूर्वउपराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चुनौती दिन बलियो उम्मेदवार भएको देखाएको थियो । तर बुधवारको मतगणनाको नतिजाले बिल्कुलै फरक स्थिति देखाएको छ । कमला ह्यारिस जित्ने धेरै दाबी गरिएको भएपनि चुनावमा उनले हारिन् । यति बेला ह्यारिस किन हारिन् भन्ने समीक्षा भइरहेका छ । यसका लागि विभिन्न कारण बताइएको छ ।

चुनावी अभियान ढिलो सुरु हुनु, जो बाइडेनको कार्यकालको बोझ र अमेरिकी मध्यम वर्गसँग संवाद गर्न नसक्नु नै अमेरिकी राष्ट्रपतिको चुनावमा ह्यारिसले हार्नुको केही कारण रहेको विज्ञहरू बताउँछन् ।

अन्तिम क्षणमा उम्मेदवारीमा हेरफेर

कमला ह्यारिसलाई यसै वर्षको अगस्टमा मात्रै डेमोक्रेटिक पार्टीको उम्मेदवार बनाइएको थियो । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्ने निर्णय गरेपछि मात्रै यस्तो भएको  थियो । जसका कारण चुनाव प्रचारका लागि ह्यारिसले निकै कम समय पाइन् । ट्रम्प भने यस वर्षको सुरुदेखि नै चुनावी अभियानमा व्यस्त थिए ।

‘ह्यारिसले १०० दिनअघि मात्र मनोनयन पाएकी थिइन् । यसमा एक किसिमको भौतिक र लजिस्टिक चुनौती छ । उनले अमेरिकाजस्तो ठुलो देशलाई कभर गरेर छोटो समयमा नै टोली खडा गर्नुपर्ने थियो ।’ अन्तर्राष्ट्रिय सम्बन्धका गहिरो दृष्टि राख्ने अनि अनन्ता सेन्टरकी सीईओ इन्द्राणी बागची भन्छिन् । पूर्व भारतीय राजदूत नवतेज सरना पनि जसरी ह्यारिसलाई उम्मेदवारको रूपमा अगाडि ल्याइयो, त्यो गम्भीर दाबेदारका लागि ढिलो गरी चालिएको कदम भएको बताउँछन् । 

कुनै उम्मेदवारले पहिला नै प्राइमरीमार्फत आउने र चुनावी अभियानको पूर्ण तयारी गर्ने समय मिलेको भए यो भन्दा राम्रो गर्न सक्ने उनी उनको बुझाइ छ । ह्यारिस डेमोक्रेटिटिक प्राइमरीमा भएर चुनावमा नआएकोले धेरै मानिसहरूले उनको उम्मेदवारीलाई उपयुक्त नठानेको क्लिभल्याण्ड स्टेट युनिभर्सिटीका फ्याकल्टी जेनिया बहलको भनाइ छ ।  ‘उम्मेदवारीमा हेरफेर ट्रम्पको हत्या प्रयास लगत्तै भयो । मानिसहरूले लाग्यो कि त्यहाँसम्म ह्यारिस उचित प्रक्रिया पूरा नगरी पुगिन् उनीहरूलाई लाग्यो कि उनी एक महिला थिइन् अनि उनीसँग रङ्गको पृष्ठभूमि थियो,’ उनको धारणा छ ।

बाइडेनको कार्यकालको बोझ

कमला ह्यारिसले जो बाइडेन विरुद्ध तयार भएको सत्ता विरोधी भावनाको भार बहन गर्नुपरेकोमा तीनै जना विज्ञहरू सहमत छन् । चुनाव अघि गरिएको जनमत सर्वेक्षणमा बाइडेनप्रतिको समर्थन ४० प्रतिशत मात्रै थियो । द्विध्रुवीय राजनीतिमा यसलाई एकदम कम मानिन्छ । ह्यारिसले आफैँले पनि आफैँलाई बाइडेनको नीतिबाट आफूलाई अलग गर्न सकिनन् । त्यसको परिणति उनले भोग्नुपर्‍यो ।

सुनियोजित रणनीतिअन्तर्गत ट्रम्पले चाहे अर्थव्यवस्थाको मुद्दा होस् वा अध्यागमनको बाइडेनको हरेक असफलताको लागि ह्यारिसलाई जिम्मेवार ठहराउने प्रयास गरेको नवतेज सरना भन्छन् । वास्तविकता के भयो भने ट्रम्पले सधैँ  ह्यारिसलाई बाइडेन प्रशासनको सबै कामसँग जोड्ने प्रयास गरे । यसबाट यो भयो कि पछिल्ला चार वर्षदेखि देशमा भइरहेको समस्याबाट ह्यारिसले पनि आफूलाई टाढा राख्न सकिनन् । ट्रम्पले  अर्थतन्त्र, अध्यागमन र विदेश नीति सबैलाई आफ्नो एजेन्डा बनाए । फरक देखिन ह्यारिसले आफूलाई गर्भपतन र महिला अधिकारहरूमा ध्यान केन्द्रित गर्ने प्रयास गरिन् । तर आफू स्वयम् उपराष्ट्रपति भएको तथ्यबाट उनी टाढा रहन सकिनन् ।

ह्यारिस बाइडेनको डेपुटी भए पनि उनीसँग महत्त्वपूर्ण नीतिहरू सम्बन्धी निर्णय गर्ने संवैधानिक अधिकार नभएको बागची र बहलले बताइन् । तर, अमेरिकी जनताले यसलाई त्यसरी हेरेनन् । इन्द्राणी बागची भन्छिन्, ‘महत्त्वपूर्ण मुद्दाहरूमा निर्णय लिने व्यक्ति नभए पनि बाइडेनको बोझ ह्यारिसमा सर्‍यो । भोटमा मामुली हेरफेरले ले पनि अमेरिकी चुनावमा ठुलो प्रभाव पर्छ । भारतको तुलनामा त्यहाँको चुनाव अलि फरक छ किनकि त्यहाँ लडाई एउटा सानो निर्णायक मतदाताहरूको समूहको लागि हुन्छ । ट्रम्पको आफ्नै आधार थियो र ह्यारिसको आधार थियो । तिनीहरू दुवैले जनसङ्ख्याको सानो भागको लागि लडिरहेका थिए ।’

‘अर्थव्यवस्था र अध्यागमन सम्बन्धी बाइडेनका धेरै नीतिहरूको मिडियामा आलोचना भएको थियो । मान्छेहरूलाई यही लाग्यो कि उपराष्ट्रपतिको रूपमा ह्यारिसले त्यो गर्न सकिनन् जो उसले गर्नु पर्थ्यो, संवैधानिक रूपमा उपराष्ट्रपतिसँग ती शक्तिहरू थिएन यो फरक कुरा  थियो,’ बहलको भनाइ छ । ट्रम्पले आप्रवासीबारे आम अमेरिकीको चिन्तालाई निकै राम्रोसँग प्रयोग गरे । खास गरी अवैध आप्रवासनमाथि उनले लगातार हमला गरिरहे । यो रोचक छ किनभने उनको पछिल्लो कार्यकालमा अवैध आप्रवासीको सङ्ख्या बढेको थियो ।

मध्यम वर्गलाई ह्यारिसले बुझ्न सकिनन् 

ह्यारिसले बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेको अमेरिकी मध्यम वर्गको भावना बुझ्न असफल भएको बहलको ठम्याई छ । सायद यही कारणले गर्दा  आफ्ना प्रमुख मतदाताहरू जस्तै काला र हिस्पैनिक समुदायहरूबाट उनले पूर्ण समर्थन प्राप्त गर्न नसकेको उनी मान्छन् । बाइडेनले आफ्नो लागि खासै केही नगरेको काला र हिस्पैनिक मतदाताहरूले ठाने । प्रारम्भिक सर्वेक्षणहरूले काला र ल्याटिनो मतदाताहरूले ह्यारिसबारेमा सकारात्मक दृष्टिकोण नराख्ने देखाएपछि पूर्व राष्ट्रपति बाराक ओबामाले विशेष गरी अश्वेत मतदाताहरूलाई अपील नै गरेका थिए ।  

‘उनीहरूमध्ये धेरैले भनेका थिए कि ह्यारिसको नीति र मुद्रास्फीतिमा गरेको कामसँग सहमत छैनौं । वास्तवमा, यो काला र ल्याटिनो यस्ता मतदाताहरू हुन् जो आर्थिक परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुन्छन् । तिनीहरूमध्ये धेरै महिना–महिनाको आम्दानीमा निर्भर हुन्छन् । जब तपाईं आफैँ खानाको जोहो गर्ने सङ्घर्षमा हुनु हुन्छ भने जाति र लिङ्ग जस्ता बाह्य मुद्दाबारे चिन्ता गर्न सम्भव हुँदैन,’ बहल भन्छिन् ।

यस कुरामा सरना पनि सहमत छन् । एउटा सीमापछि आधारभूत आवश्यकताहरूको चिन्ता गर्ने मानिसहरूका लागि जात र लिङ्ग जस्ता मुद्दाहरू महत्त्वहीन हुने उनको धारणा छ । उनी भन्छन्, ‘ट्रम्पले अर्थतन्त्र र दैनिक जीवनका समस्याबारे कम सुविधा भएकाले पनि बुझ्न सक्ने भाषामा कुरा गरे । तसर्थ, यी धेरै विपन्न समूहहरूले सोचे कि ट्रम्पले यी समस्याहरू समाधान गर्न सक्छन् । अर्काेतर्फ ह्यारिससँग भन्नका लागि नयाँ केही नभएकोले यी समस्याहरूसँग जोडिएको उनीहरूले माने ।

अमेरिकामा धेरैजसो मतदाता महिला नै छन् । तर महिला उम्मेदवार भएर पनि ह्यारिसले पराजय भोग्नुपर्‍यो । अधिकांश महिला मतदाता गोरो हुनुले पनि ह्यारिसले कम समर्थन पाएको बहल बताउँछिन् । उनले भनिन्, ‘अमेरिकामा सबैभन्दा ठुलो मतदाता समूह गोरा महिला छन् र यो चुनावमा महिलाले ठुलो सङ्ख्यामा मतदान गरे । चाखलाग्दो कुरा के भयो भने ट्रम्पले बढी मत पाए ।’

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप