ट्रम्पको पुनरुदयले सम्हालिएको सुनको भाउ कहिलेसम्म घट्ला ?
काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै बुधबार सुन तथा कच्चा तेलको भाउमा एकै पटक उच्च गिरावट आयो । यसको प्रभावस्वरुप नेपाली बजारमा समेत बिहीबार सुनको भाउ प्रतितोला चार हजार रुपैयाँले घट्न पुग्यो ।
प्रतितोला १ लाख ७१ हजार रुपैयाँको ऐतिहासिक रेकर्डसम्म पुगेको सुन अहिले बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा ३० अक्टोबरमा प्रतिऔंस २७८८ अमेरिकी डलर पुगेको सुनको मूल्य अहिले २६५८ अमेरिकी डलरमा आइपुगेको छ । साताको अन्तरालमा सुनको मूल्यले करेक्सनको बाटो लिए पनि यो क्रमले अझै निरन्तरता पाउला कि नपाउला भन्नेमा भने आम चासो रहेको पाइन्छ ।
विज्ञका अनुसार आगामी दिनमा सुनको मूल्य के होला भन्ने जान्नको लागि पछिल्लो समय सुनको मूल्य लगातार रूपमा किन बढिरहेको छ भन्नेबारे जानकारी हुनुपर्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी अध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय सुनको मूल्य बढ्नुमा ब्रिक्स संगठनमा रहेका राष्ट्रले डलरप्रति गरेको अविश्वास सबैभन्दा सबैभन्दा प्रमुख कारण रहेको बताए ।
विश्वकै ठुला अर्थतन्त्र भएका चीन, भारत, रुस, ब्रजिल, दक्षिण अफ्रिकालगायत देशले पछिल्लो समय डलरको विकल्प खोज्ने तयारीमा छन् । युक्रेन युद्धपछि रुसले डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्नै छाडेको छ । यसको सट्टा सुन र बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीको माध्यमबाट रुसको बाह्या अर्थतन्त्र धानिइरहेको छ ।
त्यस्तै, चीन र अमेरिकाबिच पनि अहिले धेरै राम्रो सम्बन्ध छैन । यो सम्बन्ध बिग्रिएको ट्रम्पको अघिल्लो कार्यकालमा भएको व्यापार युद्धदेखि नै हो । जो बाइडेन आएपछि केही सुधार भए पनि चीन अहिले पनि विश्व अर्थतन्त्रको केन्द्रबिन्दुबाट अमेरिकालाई पछाडि धकेल्न चाहन्छ । त्यसैले चीनले पनि सुनको सञ्चिति बढाइरहेको देखिन्छ । भारत र अरू ब्रिक्स राष्ट्रहरू पनि सुन सञ्चितिकै ध्याउन्नमा देखिन्छन् ।
ट्रम्प निर्वाचित हुने बित्तिकै सुनको मूल्य घट्नुमा उनले लिएको ‘अमेरिका पहिलो’ नीतिको मनोविज्ञान प्रमुख कारण रहेको शाक्यको बुझाइ छ। जो बाइडेन र डेमोक्रेटिक उम्मेदवारहरूले अन्तर्राष्ट्रिय राजनीतिमा मात्रै धेरै ध्यान दिने गरेको र अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थाबिच ट्रम्पको यो घोषणाले लगानीकर्तामा उत्साह आएको देखिन्छ । तर, ट्रम्पले आगामी दिनमा लिने नीतिले यो अवस्था दीर्घकालीन रूपमा जान्छ कि जाँदैन भन्ने निर्धारण हुने शाक्यको विश्लेषण छ ।
पछिल्ला दिनमा सुनको मूल्य बढ्नुमा विकासशील देशका ठुला बैंकले बढाएको सुनको सञ्चिति प्रमुख कारण हो । अमेरिकी नीतिले ती देशको रणनीतिलाई परिवर्तन गर्न सके मात्रै यसले सुनको मूल्यलाई दीर्घकालीन रूपमै घटाउन मद्दत गर्छ । तर, यो सजिलो भने नभएको शाक्य बताउँछन् ।
नेपालमा बिबाहको सिजन सुरु भएकोले सुनको माग हुने समय नजिकिएको छ । मंसिर, माघ, फागुन, वैशाख लगायत महिनामा सुनको धेरै माग हुने गरेको छ । यसलाई केन्द्रित गरेर सुन किन्नेहरूका लागि अहिले घटेको मूल्यलाई सदुपयोग गर्न शाक्यको सुझाव छ ।
‘अहिले सुनको मूल्य घटे पनि पछिसम्म पनि घटिरहन्छ भन्ने लाग्दैन, त्यसैले सस्तिएको बेला नै सुनमा लगानी गर्ने उपयुक्त समय हो,’ शाक्य भन्छन्, ‘मंसिर, माघमा किन्नुभन्दा अहिले नै सस्तो पर्न सक्छ ।’
अघिल्लो कार्यकालमा राष्ट्रपति निर्वाचित भएर पनि संसदको दुवै सदनमा बहुमत नहुँदा कतिपय काम गर्न नपाएका नवनिर्वाचित राष्ट्रपति ट्रम्प अहिले भने दुवै सदनको शानदार बहुमत प्राप्त गर्ने अवस्थामा छन् । १०० सिट भएको माथिल्लो सदन सिनेटमा उनको रिपब्लिकन पार्टीले बहुमत हासिल गरिसकेको छ भने तल्लो सदनको रूपमा रहेको ‘हाउस’मा पनि बहुमतको नजिक पुगेको देखिन्छ । त्यसैले अघिल्लो कार्यकालमा ट्रम्पले घोषणा गरेका तर कार्यान्वयन गर्न नसकेका कामहरू पनि यस पटक कार्यान्वयनमा जान सक्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते
-
को हुन् ‘मानव तस्करी’मा मुछिएका लिलाबल्लभ अधिकारी ?
-
वार्षिक रूपमा ३० लाख मेट्रिक टन कृषि अवशेषमा आगजनी
-
सर्वोच्चको फैसला लगत्तै मनाङे सम्पर्कविहीन, पक्राउका लागि पूर्णपाठ कुर्दै प्रहरी
-
अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव
-
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ, तस्बिरमा हेर्नुहोस्