बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

वायु प्रदूषणका कारण दमका रोगीलाई बढी जोखिम (भिडियोसहित)

बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । मौसम परिवर्तनसँगै दम रोगले बेला–बेला बिरामीमा जटिल समस्या देखिन्छ । मधुमेह, ब्लड प्रेसरजस्तै दमलाई दीर्घ रोग मानिन्छ । दम रोग लाग्नुमा धुम्रपान मुख्य कारण भए पनि पछिल्लो समय बढ्दो वायुप्रदूषण पनि यसको कारक बनेको छ ।

नेपालमा वायुको गुणस्तर बेला–बेलामा खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । वायुको गुणस्तर बिग्रिँदा मानिसमा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने चिकित्सकहरू बताउँछन् । यसले दमका भएकालाई झनै जोखिम हुन्छ ।

दम कस्तो रोग हो ? दमबाट बच्ने उपाय लगायत विषयमा केन्द्रित रहेर ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पङ्गेनीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

दम कस्तो खालको रोग हो ?   

दम रोग भनेको श्वासप्रश्वास नलीसँग सम्बन्धित दीर्घ रोग हो । श्वासप्रश्वास नलीमा विभिन्न कारणले सङ्कुचन आएर श्वास नली साँघुरो भएर देखिने स्वास्थ्य समस्यालाई दम रोग भनिन्छ । साधारण भाषामा हामीले यसलाई ‘एलर्जी’ खोकी भनेर बुझ्छौँ । सोही खोकी बिग्रेर दम या ‘अस्थामा’ हुन्छ । चलनचल्तीको भाषामा यसलाई दम रोग भनिन्छ ।

कम उमेर समूह र विशेषगरी महिला, एलर्जीका समस्या भएका व्यक्तिहरूलाई ‘अस्थामा’ दमको समस्या देखिन्छ । सीओपीडी दम रोग वृद्धवृद्धामा देखिन्छ ।

दम के कारणले हुन्छ ?

दम रोग एकै कारणले हुन्छ भन्ने हुँदैन । संसारभर नै दम गराउने मुख्य कारक तत्व धुम्रपान हो । तर पछिल्लो समय संसारभर धुम्रपानका कारणले हुने दम रोग घट्दै गएको छ । वायु प्रदूषणका कारणले हुने दम रोग बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँछ ।

वायु प्रदूषण दुई खालको हुन्छ । एउटा घर बाहिरको प्रदूषण । जसलाई ‘आउट डोर पोलुसन’ भनिन्छ । बाहिर हुने वायु प्रदूषण कालकारखाना, उद्योग, डढेलोले गर्दा हुन्छ । अर्को, आन्तरिक वायु प्रदूषण अर्थात् घरभित्रको वायु प्रदूषण हुन्छ । त्यसलाई हामी ‘इनडोर पोलुसन’ भन्छौँ । घरभित्रै हामीले बाल्ने वस्तुबाट निस्कने धुवाँ ‘इनडोर पोलुसन’ हो । गाउँघरतिर खाना पकाउने दाउराबाट बालिने चुलोबाट निस्काने धुवाँ ‘इनडोर पोलुसन’को मुख्य कारण हुन्छ । यसले दमको समस्या निम्तिन सक्छ ।

यस्तै, विभिन्न खालको उद्योग कलकारखाना, इँटा भट्टामा काम गर्ने, सिमेन्ट उद्योगमा काम गर्नेहरूलाई फोक्सोमा समस्या भएर दम रोग हुन सक्छ । सानै उमेरमा निमोनिया रोग भयो, क्षयरोग भयो, गर्भवती महिलाले धुम्रपान गर्नुभयो भने बच्चालाई समेत दम रोगको खतरा हुन सक्छ । अलि–अलि यसमा जेनेटिक कुरा पनि हुन सक्छ । तर प्रमुख रूपमा दमरोगको कारक धुम्रपान, वायु प्रदूषण, पेसागत काम पनि हुन सक्छ ।

दम लागेको कसरी थाहा पाउने ?

यसको प्रमुख लक्षण खोकी हो । हप्तौँ, महिनौँ वा वर्षदिनसम्म खोकी लाग्ने हुन्छ । बेला–बेलामा खकार आउने हुन्छ । सास फेर्न गाह्रो हुन्छ । छाती बेला–बेलामा घ्यार–घ्यार हुन्छ । छाती बज्ने हुन्छ । सुरुवाती अवस्था भ¥याङ चढ्दा स्याँ–स्याँ हुन्छ । गाह्रो काम गर्दा सास फेर्न कठिनाइ हुन्छ । पछि दम बल्झिँदै जाँदा सामान्य काम गर्दा पनि सास फेर्न गाह्रो हुन्छ । पछि गएर अक्सिजनको मात्रा घट्दै जान्छ । अक्सिजन घटेर बेला–बेलामा गाह्रो भएर अस्पताल गइराख्नु पर्ने हुन्छ । कहिलेकाहीँ हात–गोडा सुन्निन्छ । तर दमको प्रमुख लक्षण भनेको खोकी र सास फेर्न गाह्रो हुने हो ।

raju pangeni

दमको उपचार विधि के हुन्छ ?

दमको उपचार विधिभन्दा दम हुनै नदिनु राम्रो हो । दम के–के कारणले हुन्छ, त्यसबाट जोगिनु पर्छ । दम रोग भइसकेपछि पनि ती विषयबाट जोगिएको राम्रो हो । दम रोग सुरुवात भइसकेको छ भने धुम्रपान गर्नै हुन्न । यसले धेरै हादसम्म दम रोग नियन्त्रण गर्न सकिन्छ । दम भएको जानकारी भएपछि दम रोगको उपचार विधि भनेको बाफ लिने या तान्ने हो । त्यसलाई ‘इन्हेलर’ भनिन्छ । किनकि दम रोग भनेको श्वास नलीको समस्या हो । ‘इन्हेलर’ ले सिधै श्वास नालीमा औषधि जाने भएर प्रभावकारी हुन्छ । यसले थोरै ‘डोज’ले पनि पुग्छ । ‘साइड इफेक्ट’ पनि कम हुन्छ  । यो बाहेक आवश्यकता अनुसार अन्य खाने औषधि, सुईहरू हुन्छ । दम बल्झिएमा ‘अक्सिजन’ समेत दिनुपर्ने अवस्था हुन सक्छ ।

दमबाट कसरी जोगिने ?

दमबाट जोगिनु भनेकै धुलो, धुवाँबाट जोगिनु हो । धुम्रपान कसैले गर्नुहुन्छ भने छोड्नु पर्छ । वायु प्रदूषणबाट जोगिनु पर्छ । जुन बेलामा वायु प्रदूषणको मात्रा बढ्छ, त्यो बेला घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ । घरभित्र पनि धुलो र धुवाँ आउने काम गर्दा आफू टाढा बस्ने, धुवाँरहित चुलोको प्रयोग गर्ने । धुवाँबाट जोगिने उपाय आपनाउनु पर्छ । खाना पकाउँदा सुधारिएको चुलोदेखि विभिन्न विकल्प छन्, ती प्रयोग गर्नु पर्छ । पेसागत रूपमा कसैले धुवाँ–धुलोमा रहेर काम गर्नु भएको छ भने काम गर्दा सजगता अपनाउनुपर्छ । नियमित मास्क लगाउनुपर्छ । कलकारखाना, इँटा भट्टा, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा काम गर्ने श्रमिकले समय समयमा स्वास्थ्य जाँच गराइरहनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया