बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

कांग्रेसमा हस्तक्षेप मुक्त होला टिकट वितरण ?

बिहीबार, २२ कात्तिक २०८१, ११ : १८
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते मनोनयन दर्ताको मिति तोकेपछि नेपाली कांग्रेसमा टिकट वितरणको रस्साकस्सी सुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि तल्ला तहका समितिले आकाङ्क्षीहरूको नाम माथिल्ला समितिलाई धमाधम पठाइरहेका छन् ।

कांग्रेसको विधान अनुसार तल्ला तहका समितिहरूले एक महिलासहित बढीमा तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गर्नुपर्ने हुन्छ । तर, आकाङ्क्षीहरू बढी भएकाले तल्ला तहले तीन जनाको मात्र नाम पठाउन सकेका छैनन् । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ११ जनाको नाम सिफारिस भएको छ ।

‘हामीले प्रयास गरे पनि सर्वसम्मत एकमात्र नाम पठाउन सकेनौँ । तर, जसको टिकट आउँछ, उसलाई जिताउने प्रतिबद्धता हाम्रो छ,’ कीर्तिपुर नगर सभापति कृष्णमान डङ्गोलले भने ।

यस्तै, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसले १३ जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका सभापति किरण (तुलसी) विश्वासका अनुसार केही दिनभित्रै एक जनाको नाम टिकट टुङ्गो लगाउने तयारी भएको छ ।

यता, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षको भने टिकट नै टुङ्गो लागिसकेको छ । जिल्ला सभापति वर्मा लामाले दिएको जानकारी अनुसार उपाध्यक्षमा पासा डिकी शेर्पालाई टिकट दिने जिल्ला संसदीय समितिले निर्णय गरेको छ ।

पार्टीको दाबी : टिकट वितरणमा हस्तक्षेप हुँदैन

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा विधानको व्यवस्था अनुसार केन्द्रीय कार्यसमिति र केन्द्रीय संसदीय समितिले टिकट वितरणमा टाउको दुखाउनु पर्दैन । अर्थात् तल्ला तहबाटै टिकट फाइनल हुन्छ । त्यस कारण टिकट वितरणमा केन्द्रीय नेतृत्वको कुनै हस्तक्षेप नहुने दाबी पार्टी शीर्ष नेतृत्वको छ ।

‘विधानअनुसार टिकट वितरण हुने भएपछि हामी केन्द्रबाट कुनै हस्तक्षेप गर्दैनौँ,’ पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, ‘टिकट वितरण तलबाटै प्रक्रियासङ्गत हुन्छ । हामी दबाब दिने काम केन्द्रबाट गर्दैनौँ ।’

पार्टीले उपनिर्वाचनका लागि स्थानीय तह उपनिर्वाचन ०८१– केन्द्रीय संयोजन समिति गठन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा यो समिति गठन भएको हो । समितिमा सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार सदस्य छन् । यस्तै प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य सदस्य छन् ।

यो समितिले उपनिर्वाचन हुने स्थानमा देखिएका समस्या तथा विवाद समाधान गर्ने, निर्वाचन परिचालन गर्ने लगायत अन्य राजनीतिक प्राविधिक काम गर्नेछ । तर, टिकट वितरणमा यसले कुनै हस्तक्षेप नगर्ने दाबी समिति सदस्यसमेत रहेका सहमहामन्त्री जीवन परियारको छ ।

‘हामी टिकट वितरणमा कुनै हस्तक्षेप गर्दैनौँ । विधानले अधिकार दिएको तल्ला तहलाई जिम्मेवारी पूरा गर्ने पूर्ण स्वतन्त्रता हामी दिन्छौँ,’ परियार भन्छन् ।

वडाको टिकट दिने अधिकार क्षेत्रलाई, नगरको टिकट प्रदेशबाट

१० औँ पटक संशोधन भएको नेपाली कांग्रेसको विधान अनुसार महानगरपालिका प्रमुख र उपप्रमुखभन्दा माथिल्लो तहमा मात्र केन्द्रले टिकट वितरण गर्नेछ । त्यसबाहेक तल्ला तहको संरचनाको टिकट वितरण गर्ने अधिकार तल्ला तहमै रहन्छ ।

विधानको दफा ३२ मा उम्मेदवारीको सिफारिस, निर्णय र अनुमोदन सम्बन्धी व्यवस्था गरिएको छ । उपदफा १ मा गाउँ, नगर वडाका अध्यक्ष र सदस्यको टिकट वितरण सम्बन्धी व्यवस्था छ । उक्त व्यवस्था अनुसार गाउँ, नगर, वडाको अध्यक्ष र सदस्यको उम्मेदवारीका लागि कार्य समितिले वडा अध्यक्षका हकमा एक महिलासहित बढीमा तीन जना र सदस्यका हकमा प्रत्येक एक सिटका लागि एक महिलासहित बढीमा तीन जना सहमति हुन सकेमा सहमति अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी गाउँ, नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउने व्यवस्था छ ।

यसरी सिफारिस भएर आएपछि गाउँ, नगरपालिका कार्यसमितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा पठाउने र प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा पठाउने व्यवस्था छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्राप्त नामको विवरण आफूसँग राखी प्रतिनिधि सभा संसदीय समितिमा पठाउने र संसदीय समितिले निर्णय गरेर टिकट वितरण हुन्छ ।

यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको हकमा भने गाउँपालिका कार्य समितिले अध्यक्ष र उपाध्यक्षका लागि समान एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गरेर प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउने गर्दछ । त्यसपश्चात् प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्राप्त नाममा आफ्नो राय सुझावसहित जिल्ला कार्यसमितिमा पठाउँछ । जिल्ला संसदीय समितिको बैठक बसी उम्मेदवार घोषणा गर्ने विधानको व्यवस्था छ ।

नगरपालिका प्रमुख र उपप्रमुखको हकमा भने नगर समितिले एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउने गर्दछ । यी दुवैले समितिले आफ्नो रायसहित जिल्ला कार्यसमितिमा पठाउने र जिल्ला कार्यसमितिले पनि आफ्नो राय लेखेर प्रदेश कार्यसमितिमा पठाउँछ । प्रदेशमा आएको नामहरूमध्ये प्रदेश संसदीय समितिले एउटा नाम अनुमोदन गरेर उम्मेदवार बनाउने विधानको व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप