सद्भाव र एकताको सन्देश दिन्छ छठ
सूर्यको उपासना गरी चार दिन (कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी)सम्म मनाइने छठ पर्व यसपालि मंगलबारदेखि सुरु भएर शुक्रबार सकिँदै छ ।
भारतमा पनि मनाइने यो पर्व नेपालको खासगरी मिथिला क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको छ । छठको महत्त्व क्रमशः बढ्दै जाँदा अहिले राजधानीसहित देशको अधिकांश भागमा चार दिनसम्म छठ पर्व मनाएको देखिन्छ ।
यस पर्वमा महिलाहरुले विशेषतः षष्ठी भगवती (छठी माता)को पूजाअर्चना गरी पुत्र, श्रीमान् र परिवारको कल्याणको कामना गर्छन् ।
कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा सुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको बुझिन्छ । तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको अनुमान गरिन्छ ।
- विधिविधान
कात्तिक शुक्ल चतुर्थी अर्थात् छठ पर्वको पहिलो दिन व्रतालुले खोलानाला, नदी, पोखरी र तलाउ लगायत जलाशयमा नुहाइधुवाई गर्छन् । यस दिन व्रतालुले लसुन र प्याज नहालेको सात्त्विक भोजन खाने गर्छन् । यस दिनलाई ‘अरबाअरबाइन’ वा नहान–खान पनि भनिन्छ ।
छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन् । बेलुकीपख दुध, चामल र सख्खरको खिर पकाई प्रसादको रूपमा चन्द्रोदयपछि षष्ठी देवीलाई चढाएर पूजापाठ गरेपछि व्रतालुले प्रसादको रूपमा लिने चलन छ ।
तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ । जसलाई ‘सँझिया घाट’ पनि भनिन्छ । छठ पूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अघ्र्य दिनका लागि गहुँको पिठो र गुँडबाट ठेकुवा बनाउने गरिन्छ ।
छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन् ।
सँझिया घाटका दिन व्रतालु महिलाले नदी, पोखरी, तलाउ लगायत जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।
चौथो दिन अर्थात् सप्तमी तिथिका दिन झिसमिसेमै व्रतालु फेरि नुहाइधुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् । बिहान सूर्य उदाउनुअघि नै व्रतालु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठी मातालाई अघ्र्य दिन्छन् ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ । षष्ठीको साँझ र सप्तमीको बिहान अघ्र्य दिने बेलामा घाटको दृश्य अति रमणीय र संगीतमय हुन्छ ।
छठ पर्वमा दुध, ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ । उखु, केरा, मुला, गाजर, बेसार, नरिवल, सुन्तला आदि फल लगायतले भगवान्लाई अघ्र्य दिइन्छ ।
कतिपय स्थानमा राति छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालु आफ्ना सामग्री प्रसादसहित फर्केर आउने र भोलिपल्ट बिहानतिर घाट जाने गर्छन् ।
छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोराछोरी र परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय गर्छन् ।
सूर्यलाई अघ्र्य दिएपछि छठ घाटमै व्रतालु महिलाले प्रसाद वितरण गर्छिन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रूपमा समापन हुन्छ । यस दिनलाई ‘परना’ भन्ने चलन छ । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किन्छन् ।
- महत्त्व
छठ व्रतमा प्रसादका रूपमा कृषिमा आधारित पूजा सामग्री प्रयोग गरिन्छ । किसानको आफ्नै खेतबारीमा पाइने मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलफूल, पान र सुपारीका साथैै विभिन्न प्रकारका मिठाई, ठेकुवा, भुसुवा, खजुरियालगायत पकवान्न चढाइन्छ ।
छठ पर्व पूर्ण रूपले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीमा निर्भर छ । यसमा स्थानीय उत्पादन, सीप र संस्कारको समिश्रण पाइन्छ । स्थानीय समुदायद्वारा हस्त निर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्री; ढकना, सरबा, दियो, हाथी लगायत सामग्रीको प्रयोग गर्नु यस पर्वको विशेषता हो ।
समाजको जातीय अन्तर्सम्बन्ध र अर्थतन्त्रको संयोजन पनि यसमा देखिन्छ । सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको ज्वलन्त उदाहरण हो । यो समस्त जात–जातिले मनाउने पर्व पनि हो । हरेक वर्ग, जात, समुदायका मानिस एउटै घाटमा एकसाथ यो पर्व मनाउने गर्छन् । यसबाट सृष्टि सबैका लागि समान हो । यहाँ कोही ठुलो–सानो, धनी–गरिब छैनन् । विभिन्न समुदायका मानिस सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वको रूपमा लिन थालिएको छ । प्रकृति र वातावरणीय हिसाबले पनि छठ सबैका लागि समान हो ।
अहिले भाकल पूरा भएका पहाडी र मुस्लिम समुदाय पनि छठ मनाउने गरेको पाइन्छ । आजको जातीय विद्वेष र भेदभाव छुवाछुतले भरिएको समाजमा यस पर्व सबैमा समान सहभागिताले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ ।
- पौराणिक कथा
छठी माताका सम्बन्धमा धार्मिक ग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’मा उल्लेख भए अनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको आहुतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रूपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए ।
सन्तान प्राप्त भएको खुसी एकै छिनमा शोकमा परिणत भयो । मृत सन्तानको जन्मको खबरले राजा विह्वल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन्, ‘म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ।’ उनले भनिन्, ‘हे राजन ! मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ ।’ त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो ।
हिन्दु धार्मिक र पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख छ । छठको पूर्वरूप (सूर्य उपासना) वेदमै पाइन्छ, भविष्य पुराण र पद्म पुराणमा समेत यसका वर्णन पाइन्छन् । भनिन्छ, अत्रिमुनिकी पत्नी अनुशुयाले सर्वप्रथम यो षष्ठी व्रत गरेकी थिइन् । महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य प्रेम र अटल सौभाग्यका लागि षष्ठी व्रत गरेकी थिइन् ।
त्रेता युगमा भगवान् रामले वनवास हुँदा रावणको वध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्ल औँसी तिथिमा उनी अयोध्या फर्के । राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कार्तिक शुक्ल षष्ठी तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए ।
अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा सूर्यवंशी रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुवै महत्त्वपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रूपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ ।
यस्तै अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ ।
छठ पर्वको पौराणिक, सांस्कृतिक महत्त्व मात्र नभई यसको वैज्ञानिक महत्त्व पनि रहेको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरका रूपमा रहेको छ । जुन समयमा पृथ्वीको दक्षिणी गोलाद्र्धमा सूर्य रहन्छ र दक्षिणायन सूर्यको अल्ट्राभ्वाइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ । यो समयमा सूर्य आफ्नो तलको राशि तुलामा अवस्थित हुन्छ । यस कारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरूको आँखा, पेट र छाला आदिमा पर्ने गर्छ ।
सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरूको हानि–नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्यको पूजा गरिन्छ । सूर्यका उपासना आरोग्य, आयुष्मानको लागि पनि गरिन्छ । बिहान र बेलुका सूर्यको अघ्र्यबाट शरीरको भिटामिन डी प्राप्त हुन्छ । साथै, यस पर्वमा व्रत बसेमा चर्मरोग र कुष्ठरोग निदान हुन्छ भन्ने मान्यता समेत पाइन्छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
छठ व्रतमा शारीरिक र मानसिक दुवै रूपबाट शुद्ध हुनुपर्छ । छठ पर्व आउनुभन्दा केही दिन पहिलेदेखि नै घरमा माछा–मासु वर्जित हुने गरेको छ । जस कारणले शरीर र मन दुवै शुद्ध हुन्छ । छठको व्रतका नियम निकै कडा एवं कठिन हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य
-
जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए