बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदूषण

वायु प्रदूषणको जोखिम सुरु, स्थानीय तहबाटै नियन्त्रणको पहल गर्न विज्ञको सुझाव

बिहीबार, २२ कात्तिक २०८१, ०९ : ५६
बिहीबार, २२ कात्तिक २०८१

काठमाडौँ । नेपालमा बर्सेनि चिसो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिन थाल्छ । चिसो बढ्दै जाँदा न्यानो हुनका लागि काठ दाउरामात्रै नभइ प्लास्टिक तथा टायर बालेरसमेत आगो ताप्ने गरिन्छ । यसरी आगो बाल्दा निस्कने धुवाँले वायु प्रदूषण बढाउने गर्दछ ।

सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दास बताउँछन् । ‘भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषणको जोखिममा छन्,’ उनले भने, ‘नेपालमा पनि सुरु हुन थालेको छ । पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण बढ्छ ।’

डा. दासका अनुसार नोेभेम्बरदेखि अप्रिलसम्म नेपालमा करिब ६ महिना वायु प्रदूषणको जोखिम रहन्छ । उनले नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने बताए । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ ।

‘वर्षिक मोटामोटी ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ,’ उनले भने, ‘यो मेरो आफ्नो अध्ययन हो । अहिले धान काट्ने सिजन हो, धान लगत्तै गहुँ बाली हुन्छ, किसानले गहुँ बाली छिटो छर्नका खेतमै पराल जलाउने गर्दछन् । जसले गर्दा प्रदूषण बढ्छ ।’

यस्तै, ६ महिना सुक्खा सिजन हुने भएकाले जङ्गलमा आगलागी हुँदा पनि वायु प्रदूषण बढ्ने वातावरणविद् डा. दासले बताए ।

वायु प्रदूषण रोक्न स्थानीय तहको पहल आवश्यक

वायु प्रदूषण रोक्न स्थानीय तहबाट पहल गर्नुपर्ने देखिएको छ । पछिल्लो समय कृषिमा बढ्दो यान्त्रिकीकरणले कृषि अवशेष जलाउने प्रचलन बढेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि पराल नजलाउन आग्रह गरेको छ । कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकूल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने भन्दै नजलाउन आग्रह गरेको हो ।

तराईका भू–भागमा धान, गहुँ लगायत बाली भित्र्याउन कम्बाईन हार्भेष्टरकोे प्रयोग हुन्छ । यसको मद्दतले बाली भित्र्याउँदा बालीको आधा डाँठ खेतमै छुट्ने हुन्छ । सो डाँठ खेतमा जलाउँदा धुँवा भएर वायु प्रदूषण हुने गर्दछ । यसरी खेतमै आगो नलगाउन स्थानीय तहले नै सचेतना फैलाउनु पर्ने उनको सुझाव छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि पराल नजलाउन आग्रह गरेको छ । कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकूल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने भन्दै नजलाउन आग्रह गरेको हो । सो पराल बेलर मेसिन अथवा अन्य विधिहरूबाट जम्मा गर्न नार्कले आग्रह गरेको छ ।

वायु प्रदूषण हुन नदिन सरकारको मात्र पहलभन्दा व्यक्तिगत रूपमा पनि सबै लाग्नुपर्ने वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट तथा सूचना अधिकारी दिपक ज्ञवालीले बताए । वायु प्रदूषण कम गर्न फोहोर तथा पातपतिङ्गर र प्लस्टिकजन्य वस्तु नबाल्न उनले सुझाएका छन् । विद्युतीय चुलो प्रयोग गर्ने, वातावरणमैत्री सवारी साधन प्रयोग तथा नियमित रूपमा सवारी साधन मर्मत गरेर प्रदूषण घटाउन सकिने उनको भनाइ छ ।

वायु प्रदूषणले पार्ने असर

नेपालको काठमाडौँ उपत्यका, विराटनगर लगायत स्थानमा वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने चिकित्सक बताउँछन् ।

वायु प्रदूषणले प्रत्यक्ष रूपमा श्वासनली र फोक्सोका अन्य साना–साना नालीमा असर गर्ने छातीरोग विशेषज्ञ डा. राजु पङ्गेनी बताउँछन् ।

वायु प्रदूषण नियन्त्रणका लागि सरकारले जनचेतनामुलक कार्यदेखि लिएर वायु प्रदूषण हुने निकायलाई नियमनको कार्य गर्दै आएको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट तथा सूचना अधिकारी दिपक ज्ञवालीले बताए ।

२.५ पीएम (पार्टिकुलेट म्याटर) भनिने सुक्ष्म कणहरू मानिसको कपालभन्दा २० गुणा सानो हुन्छ । पङ्गेनीका अनुसार हावामा भएको प्रदूषण फोक्सोको प्राकृतिक सुरक्षा प्रणालीलाई छलेर फोक्सोभित्र छिर्दछ र फोक्सोमार्फत रक्तनलीहरूमा पनि असर पुर्‍याउँछ । ‘२.५ पीएमभन्दा साना कण, वायुमा रहेका हानिकारक पदार्थहरू रक्तनलीमा प्रवेश गर्दछ । रक्तनलीहरू साँघुरो गराएर दीर्घकालीन रूपमा उच्च रक्तचाप बढ्छ, हृदयघात, पक्षघातजस्ता समस्या हुन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा श्वास नलीमा एलर्जी हुँदा साँघुरिएर श्वास प्रवाहमा समस्या आउँछ र दम रोगको सुरुवात हुन्छ । रुघाखोकी लाग्नेजस्ता समस्या आउँछन् ।’

डा. पङ्गेनीले संसारभर नै धूम्रपानले हुने दम रोग घट्दै गएको तर वायु प्रदूषणका कारणले हुने दम बढ्दै गएको बताए ।

वायु प्रदूषण नियन्त्रणका लागि सरकारले जनचेतनामुलक कार्यदेखि लिएर वायु प्रदूषण हुने निकायलाई नियमनको कार्य गर्दै आएको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट तथा सूचना अधिकारी दिपक ज्ञवालीले बताए ।

‘प्रदूषण नियन्त्रण एउटै निकायले गरेर हुँदैन,’ उनले भने, ‘यातायात सवारी साधन, उद्योग, निर्माण कार्य, आन्तरिक तथा बाह्य कारणले हुने भएकाले हामीले ती निकायलाई नियमन गरी आवश्यकता अनुसार निर्देशन दिने गरेका छौँ ।’

bayu prudoshan2

उनका अनुसार नेपालमा वायु गुणस्तर मापन गर्ने २७ वटा केन्द्र छन् । सो केन्द्रले दिएको वायु गुणस्तर परिणामलाई आधार बनाएर क्षेत्रअनुसार चेतनामूलक सूचना प्रवाह गरिने उनको भनाइ छ ।

बढी प्रदूषण भएमा उद्योग तथा निर्माण कार्यलाई केही दिन रोक्ने गरेको ज्ञवालीले जनाए । उनले मानवीय स्वास्थ्यमा हानि पुग्ने गरी वायु प्रदूषण भएमा सार्वजनिक रूपमा सूचना सार्वजनिक गर्ने गरिएको पनि जनाए ।

जनस्वास्थ्यको हिसाबले ५० भन्दा बढी वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अस्वस्थकर मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप