१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको २१ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- मन्त्री नै मानव तस्करीमा
कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
- अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकामा राष्ट्रपतिको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरिसकेका छन् । निर्वाचन आयोगले जितको घोषणा गर्न बाँकी नै रहेको भएपनि आफ्ना समर्थक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ट्रम्पले विजयी भाषण पनि दिइसकेका छन् । यसक्रममा उनले अमेरिकालाई फेरि विश्वकै महान् देश बनाउने बताएका छन् ।
- ठप्प पार्ने चेतावनी
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
- आईपीएल
इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।
- उपनिर्वाचन
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
- स्वास्थ्य सुधारोन्मुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
- स्वर्णलक्ष्मी सहकारी घोटाला
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।
- प्रधानमन्त्रीको चीन भ्रमण
नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् । मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक–एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो ।
- दोषी ठहर
सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचार (पेडोफाइल) मा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।
- मनाङे सम्पर्कविहीन
सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।