शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहौल

बुधबार, २१ कात्तिक २०८१, २१ : २८
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनको माहौल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको माहौल सुरु भएको हो । 

उपनिर्वाचनमार्फत नगरप्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर चुनावका आकांक्षी र सम्भावित परिणाम बारे चर्चा सुरु भएको छ ।  

नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरूले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख राजकुमार नकर्मी मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो । 

वडा नं १ का तत्कालीन वडाध्यक्ष हीरालाल महर्जन कलेजो रोगको उपचारका क्रममा र ४ का वडाध्यक्ष श्याम अधिकारीको दुर्घटनामा परी निधन भएपछि प्रमुख र दुई वडाध्यक्ष पद रिक्त छन् ।  सत्तारुढ दलहरुमध्ये नगरप्रमुख पदमा कांग्रेसको नगर समितिबाट सभापति कृष्णमान डङ्गोलसहित ११ जना आकांक्षीको नाम काठमाडौँ जिल्ला समितिसमक्ष सिफारिस गरिएको छ । सिफारिस हुने अन्य आकांक्षीमा नगरसमितिकै पूर्वसभापति बद्रीलाल महर्जन, ५ नं वडाका पूर्ववडाअध्यक्ष हिमाल कार्की, दिवङ्गत प्रमुख राजकुमार नकर्मीकी धर्मपत्नी जमुना नकर्मी, महिला नेतृ सङ्गीता बोगटी तथा स्थानीय नेताहरू शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् । 

वडा नं १ का अध्यक्षका लागि कांग्रेसका  इच्छाकुमार महर्जन, सिकन्दर महर्जन र महेश्वर महर्जन आकांक्षी छन् । यसैगरी वडा नं ४ को वडाअध्यक्षका लागि मुरारी विष्ट, मिलन विष्ट, राजेन्द्र बानियाँ, सुभद्रा सिग्देल, कालुभाइ खड्का, सुजन बस्नेत, इन्द्र बुढाथोकी र अनिल बाँस्कोटा आकांक्षीका रुपमा देखिएका छन् । कांग्रेसले यसअघि आफूले जितेको प्रमुख र १ नम्बर वडाध्यक्ष कायम राख्दै वडा नं ४ को अध्यक्ष समेत कब्जा गर्ने लक्ष्य लिएको छ । 

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेको नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएका उनको नाम बुधबार बसेको एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।  

यसैगरी वडा नं १ मा २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका हर्षमान महर्जनलाई एमालेले अघि सार्ने जनाएको छ । वडा नं ४ को वडाअध्यक्षको उम्मेदवारका लागि बद्री बुढाथोकीलाई अघि सार्ने पार्टीको तयारी छ । पछिल्लो स्थानीय चुनावमा प्रमुखसहित नगरपालिकाका महत्त्वपूर्ण पदहरु गुमाएको एमाले पुरानो साख फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्राध्यापक डा शिवशरण महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी वडा नं १ मा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिहीबारबाट मात्र उम्मेदवार छनोट प्रक्रिया थाल्ने पार्टीका जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए । उनले,“निर्वाचन परिचालन समिति बनेपछि उम्मेदवारीका लागि आवेदन आह्वान हुनेछ । त्यसपछि सर्वसम्मत नभएका पदहरुमा आन्तरिक चुनावबाट उम्मेदवारी छनोट हुनेछ ।” 

कीर्तिपुरको चुनावी मैदानमा केही स्वतन्त्र उम्मेदवारको समेत चर्चा चलेको छ । सफाइ अभियन्ता राजमान मानवले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । भाषा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले पनि नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप