मुख्यमन्त्री र कर्मचारीको सुझाव नमानी जापान उडेका थिए अधिकारी
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जापान नजान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मन्त्रालयका कर्मचारीहरूले दिएको सुझाव नमानेको रहस्योद्घाटन भएको छ ।
नेकपा एमाले स्रोतले दिएको जानकारी अनुसार मन्त्री अधिकारीले जापान उड्नुअघि मुख्यमन्त्री कार्कीसँग परामर्श गरेका थिए । तर, मुख्यमन्त्रीले प्रक्रिया पुर्याइन नजान सुझाव दिएका थिए । उक्त सुझाव बेवास्ता गर्दै अधिकारी जापान प्रस्थान गरेका थिए ।
यस्तै जापानको भिसा लागेको विषयमा मन्त्री अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीसँग पनि सुझाव मागेका थिए । मन्त्रालयका कर्मचारीले कार्यालय बिदा हुने समयमा प्रक्रिया पूरा गर्न नसकिने भन्दै नजान सुझाव दिएका थिए । ‘कार्यालय बिदा हुने बेलामा मन्त्रीज्यूले जापानको टोकियोको आर्ट काउन्सिलको पत्र देखाउनु भयो र जापानको भिसा लागेको बताउनु भयो । त्यो पत्र हेरेपछि हामीले यो विषयमा प्रक्रिया पूरा गर्न अहिले सम्भव छैन, तपाईं नजानु उपयुक्त हुन्छ भन्ने सुझाव दिएका थियौँ,’ मन्त्रालयका कानुन उपसचिव विश्वदिप बेस्राले भने ।
जवाफमा मन्त्री अधिकारीले ‘हेरौँ ! अब काठमाडौँसम्म पुग्छु । नजान पनि सक्छु’ भनेर हिँडेको उनको भनाइ छ । उनका अनुसार मन्त्री अधिकारीलाई निमन्त्रणा गरेको विषयमा मन्त्रालयलाई कुनै औपचारिक जानकारी समेत थिएन ।
यसैबिच मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गर्दै पक्राउ परेका खोटाङका जनक राई र रसुवाका कञ्चन देवकोटाले प्रयोग गरेको कागजात नक्कली हो वा होइन भनेर सोधेको छ । उक्त पत्रको जवाफ दिँदै मन्त्रालयले नक्कली डकुमेन्ट भएको र उनीहरू आफ्नो मन्त्रालयको कर्मचारी नभएको जवाफ पठाएको उपसचिव बेस्राले बताए ।
उता, अनुसन्धान ब्यूरोले खोटाङ ऐंसेलुखर्क–२ को वडा कार्यालयलाई पत्राचार गर्दै दावा शेर्पाले प्रयोग गरेको परिचय पत्रमा उक्त वडाको सदस्य भएको उल्लेख रहेको भन्दै त्यस विषयमा स्पष्ट पार्न आग्रह गरेको छ । उक्त पत्रको जवाफ पठाउँदै वडाध्यक्ष नन्दकुमार तामाङले आफ्नो वडाको सदस्य नभएको र शेर्पाले प्रयोग गरेको डकुमेन्ट नक्कली भएको जवाफ दिएका छन् ।
‘प्रहरीले पत्र पठाएको थियो । त्यसको जवाफ हामीले पठाएका छौँ । शेर्पाको डकुमेन्ट नक्कली रहेछ,’ उनले भने ।
परिचयपत्रमा मन्त्री अधिकारीको नाममा हस्ताक्षर !
यसैबिच पक्राउ परेका जनक राई र रसुवाका कञ्चन देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचय पत्र प्रयोग गरेको खुलेको छ । पद सहायक उल्लेख रहेको उक्त परिचयपत्रमा लिलाबल्लभ अधिकारीको नाममा हस्ताक्षर छ ।
यस्तै ऐँसेलुखर्च गाउँपालिका २ नम्बर वडा कार्यालयको परिचयपत्रमा दाबा शेर्पाको पद वडा समिति सदस्य उल्लेख छ । तर, वडाअध्यक्षको नाम भने गिरेन्द्रबहादुर राई उल्लेख छ । गिरेन्द्र बहादुर राई पालिका अध्यक्ष हुन् । उक्त वडाको वडाध्यक्ष नन्दकुमार तामाङ हुन् ।
मन्त्री अधिकारीले पत्रकार सम्मेलनमै ढाँटेको खुलासा
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करी गरेको आरोप लागेपछि बुधबार राजीनामा दिएका छन् । मन्त्री अधिकारी २०८१ साल जेठ ४ गते मन्त्री पदमा नियुक्त भएका थिए । राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारी स्वयंले अनुसन्धानलाई सहयोग गर्न राजीनामा गरेको बताए ।
मन्त्री अधिकारी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा विपरीत, प्रदेश तथा संघको मन्त्रीमण्डलबाट स्वीकृति नलिइ सुटुक्क जापान उडेका थिए । उनीसँगै नक्कली कागजातको आधारमा दावा शेर्पा, जनक राई र कञ्चन देवकोटा पनि जापान गएका थिए । तर, मन्त्री अधिकारीसहित ४ जनाको टोलीले नक्कली डकुमेन्ट पेस गरेको भन्दै जापानको अन्तर्राष्ट्रिय विमानस्थलले डिपोर्ट गरेको थियो । तर, मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भने आफैँ फर्किएको बताएका छन् ।
अधिकारीले आफू जापान जाने क्रममा आफूसँग तीन जना नेपालीले नक्कली डकुमेन्ट बनाएर उतै बस्ने योजना बनाएको खुलेपछि आफू फर्किन सबै सुरक्षा निकायलाई जानकारी दिएको बताएका थिए । ‘यहाँबाट म जापानको टोकियो महानगरपालिकामा आयोजित कार्यक्रमका लागि सिंगल गएको हुँ । त्यो कार्यक्रम भयो तर, म गइनँ । म नगएको कारण भनेको हङ्कङमा ३ जना मान्छे भेटिए । ती मान्छेलाई हेर्दा उनीहरू उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएँ । अब यो पाप गर्नुहुँदैन । बरु राजीनामा दिउँला । देशप्रति राष्ट्रप्रति गद्दारी गर्नु हुँदैन भनेर आयोजकसँग मैले मलाई फिर्ता गरिदिनुहोस् भनेँ,’ पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘ट्रान्जिटबाट फिर्ता हुन मिल्दैन रहेछ । उनीहरू मेरै कार्यक्रममा गएका रहेछन् । मिलाएर दुईवटा खोटाङको र एउटा रसुवाको रहेछ । त्यसपछि तिनीहरुसहित म फर्किएँ । उनीहरू अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा छन् ।’
तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले भने मन्त्री अधिकारीलाई डिपोर्ट गरिएको र उनी पनि अनुसन्धानको दायरामा आउन सक्ने बताएका छन् ।
मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (२)बाट निर्वाचित एमालेका सांसद हुन् । अघिल्लो प्रदेश सभामा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित थिए । तर, उक्त कार्यकालमा पनि सांसद रहँदारहँदै सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न आरोप लागेका प्रहरी अधिकारीको पक्षमा उनले अदालतमा वकालत गरेको विषय विवादमा आएको थियो । त्यस विषयमा पनि अधिकारीलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको थियो ।
उक्त प्रकरणमा माफी मागेर उन्मुक्ति पाएका अधिकारीले गरेको यो दोस्रो गम्भीर गल्ती हो । यही गल्तीको कारण अहिले उनले मन्त्री पदबाट राजीनामा दिनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता
-
पर्साबाट डेढ लाख क्याप्सुल लागुऔषध बरामद
-
एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई खुवाइयो खाना
-
भारत–पाकिस्तान भिडन्त फेब्रुअरी २३ मा
-
बाघ पासोमा पार्ने २० वर्षीय युवकविरुद्ध मुद्दा दायर गर्ने तयारी
-
कांग्रेस नेता महरलाई नेपाल जेसीजको मानार्थ सदस्यता प्रदान