आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वर्णलक्ष्मी सहकारी घोटाला

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लेखा समिति सदस्य पक्राउ

बुधबार, २१ कात्तिक २०८१, १७ : ३१
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।

उनी सहकारीको लेखा समितिकी सदस्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

रकम अपचलतबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई केन्द्रमा राखेर काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्क प्रालि, वीरगन्ज स्थित सानो पाइला सहकारी र चितवन स्थित सहारा बचत तथा अन्य सहकारी तथा जीबीले सञ्चालन गरेको कम्पनीहरूमा पनि रकम लगेको भेटिएको छ । त्यहाँबाट कहाँ कहाँ रकम गएको छ भन्नेबारे स्वर्णलक्ष्मीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

स्वर्णलक्ष्मीका अध्यक्ष जीवी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नविन अछामी र पूर्व अध्यक्ष दीपक लामा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । कल्पना कुमारी श्रेष्ठ, पूर्व प्रबन्धक भूपेन्द्र राई लगायत २४ जना विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

यो पनि पढौँ...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप