मन्त्रीको राजीनामा प्रकरण : मानव तस्करीमा मुछिए अधिकारी
विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीमाथि मानव तस्करीको आरोप लागेको छ । आफू जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप उनीमाथि लागेको हो ।
सोही विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न आफूले राजीनामा गरेको दाबी गरे ।
‘मप्रति भएका नकारात्मक टीकाटिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरुले जनताकै बीचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन मैले राजीनामा दिएको छु,’ पत्रकार सम्मेलनमा अधिकारीले भने ।
अधिकारीले आफू जापान जाने क्रममा भेटिएका तीन जना नेपालीले नक्कली डकुमेन्ट बनाएर उतै बस्ने योजना बनाएको थाहा पाएको दाबी गरे । ‘यहाँबाट म जापानको टोकियो महानगरपालिकामा आयोजित कार्यक्रमका लागि सिंगल गएको हुँ । त्यो कार्यक्रम भयो तर, म गइँन । म नगएको कारण भनेको हङ्कङमा ३ जना मान्छे भेटिए । ती मान्छेलाई हेर्दा उनीहरु उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएँ । अब यो पाप गर्नुहुँदैन । बरु राजीनामा दिउँला । देशप्रति राष्ट्रप्रति गद्धारी गर्नु हुँदैन भनेर आयोजकसँग मैले मलाई फिर्ता गरिदिनुहोस् भनेँ । ट्रान्जिटबाट फिर्ता हुन मिल्दैन रहेछ । उनीहरु मेरै कार्यक्रममा गएका रहेछन् मिलाएर दुईवटा खोटाङको र एउटा रसुवाको रहेछ । त्यसपछि तिनीहरुसहित म फर्किएँ । उनीहरु अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा छन्,’ पत्रकार सम्मेलनमा अधिकारीले भने ।
ती तीन जनामा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना रहेको मन्त्री अधिकारीले नै बताए । उनीहरुले आफ्नो साथमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत बोकेको बताएपनि आफ्नो संलग्नता भने नभएको दाबी गरिरहे । तर स्राेतहरुका अनुसार मानव तस्करी भएको आशंकापछि उनलाई जापानले विमानस्थलबाटै डिपोर्ट गरेको हो ।
यसैबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ने समाचार सार्वजनिक भएसँगै मंगलबार मन्त्री अधिकारीलाई बोलाएर जवाफ माग गरेका थिए । सो क्रममा अप्ठ्यारो पर्नसक्ने भन्दै मुख्यमन्त्रीले राजीनामा गर्न सुझाव दिएको स्रोतको दाबी छ । यद्यपि आफैँले गल्ती गरेको फिल गरेर नैतिकताको हिसावले राजीनामा गरेको मन्त्री अधिकारीले दाबी गरेका छन् । ‘निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणीहरू बाहिर आए । यो आइसकेपछि आज हाम्रो देशमा एक खाले राजनीतिक नैतिक खडेरीको चर्चा, परिचर्चा भएको समाजमा नकारात्मक चर्चा बढ्दै गएको बेला यस्तो टिप्पणी सुनि सुनि पदमा बसिरहन मलाई उचित लागेन,’ अधिकारीले भने ।
अधिकारीले त मुख्यमन्त्रीले आफूलाई राजीनामा नगर्न सुझाव दिएको पनि दाबी गरे । ‘समाचार आउने वित्तिकै म आफैँ मुख्यमन्त्रीकोमा गएर म राजीनामा दिन्छु भनेको हुँ । मुख्यमन्त्रीले सोच्नुहोस् भन्नु भएको थियो । उहाँले त यस्तो विवाद अन्त पनि भएको छ नि किन हतार गर्नुहुन्छ भन्नु भएको थियो,’ उनले पत्रकार सम्मेलनमा भने ।
उनले आफ्नो भिसा अलिक अगाडि आएको भएपनि टिकट आकस्मिक आएको बताए । ‘भिसा अलिक अगाडि आएको हो । टिकट अक्टोबर २५ तारिकमा आयो, थाहा पाएको अक्टोबर २६ तारिकमा र उडेको अक्टोबर २७ तारिकमा हो । यति चाँडो भयो । मैले औपचारिक रूपमा कसैलाई जानकारी दिनै पाइनँ । मैले मुख्यमन्त्रीलाई चाहिँ केही दिन बिदामा बस्छु है भनेको थिएँ,’ अधिकारीले भने । उनका अनुसार २९ तारिकदेखि नोभेम्बर ३ तारिकसम्म टोकियो महानगरपालिकाको कार्यक्रम थियो । सोही कार्यक्रममा उनी गएका हुन् । जापानको टोकियो महानगरपालिकाले औपचारिक निमन्त्रणा गरेको पनि उनले दाबी गरे । यद्यपि स्रोतले दिएको जानकारी अनुसार कुनै सरकारी निकायले औपचारिक निमन्त्रणा गरेकै थिएन ।
मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (२)बाट निर्वाचित एमालेका सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । तर, उक्त कार्यकालमा पनि सांसद रहँदारहँदै सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकारीको पक्षमा अदालतमा वकालत गरेको विषय विवादमा आएको थियो । त्यस विषयमा पनि अधिकारीलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको थियो । उक्त प्रकरणमा माफी मागेर उन्मुक्ति पाएका अधिकारीले गरेको यो दोस्रो गल्ती हो । यही गल्तीको कारण अहिले उनले मन्त्री पदबाट राजीनामा दिनु परेको छ ।
अधिकारी २०८१ साल जेठ ४ गते मन्त्री पदमा नियुक्त भएका थिए ।