शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
१७ वर्षपछि अफ्रो–एसिया कप क्रिकेटको चर्चा

भारतीय र पाकिस्तानी खेलाडीलाई एउटै टोलीबाट खेल्ने अवसर !

बुधबार, २१ कात्तिक २०८१, १६ : २२
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । विश्व क्रिकेटमा डेढ दशकभन्दा लामो समयपछि फेरि अफ्रो–एसिया कपको चर्चा सुरु भएको छ । लामो समयदेखि अवरुद्ध यो प्रतियोगिता पुनः सुरु गर्ने विषयमा विभिन्न स्तरमा छलफल भइरहेको समाचारमा जनाइएको छ ।

अफ्रो–एसिया कपको दुईवटा संस्करण सम्पन्न भइसकेको छ । अफ्रो–एसिया कपमा अफ्रिका र एसिया महादेशमा रहेका चर्चित खेलाडीहरु एकदिवसीय क्रिकेटमा आपसमा भिडन्त गर्छन् । अफ्रिका क्रिकेट एसोसिएसन (एसीए)को बैठकमा पनि यो प्रतियोगिता पुनः सुरु गर्ने विषयमा छलफल भएको छ ।

एसीएले यसको तयारी अगाडि बढाउन ६ सदस्यीय समिति पनि गठन गरेको छ । यो प्रतियोगिता पुनः सुरु भएमा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानका खेलाडीले फेरि एउटै टोलीबाट खेल्ने अवसर प्राप्त गर्नेछन् । क्रिकेट पारखीहरूका लागि पनि त्यो रोचक क्षण हुनेछ ।

‘अफ्रो–एसिया कप हरेक दृष्टिकोणले महत्त्वपूर्ण छ । खेलाडीबिच मित्रतापूर्ण भावना अभिवृद्धि गर्नदेखि दर्शकलाई फरक रोमाञ्च प्रदान गर्न पनि यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आर्थिक दृष्टिकोणले पनि यो महत्त्वपूर्ण सावित हुनेछ,’ एसीएका अन्तरिम अध्यक्ष तवेंगा मुखलानी भन्छन् ।

जिम्बाबे क्रिकेट संघका अध्यक्षसमेत रहेका मुखलानीका अनुसार, एसीए यो प्रतियोगिताका लागि उत्साही देखिए पनि एसियाली क्रिकेट काउन्सिल (एसीसी) बाट भने हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन । प्रतियोगिता पुनः सुरु हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताएका छन् ।

अफ्रो–एसिया कपको पहिलो संस्करण सन् २००५ मा दक्षिण अफ्रिकामा खेलिएको थियो । यो प्रतियोगिताको दोस्रो संस्करण सन् २००७ मा भारतमा आयोजना भएको थियो । पहिलो संस्करणमा तीनवटा एकदिवसीय खेलको शृंखला खेलिएको थियो । त्यो शृंखला १–१ को बराबरीमा सकिएको थियो ।

यसैगरी, सन् २००७ मा सम्पन्न दोस्रो संस्करणमा पनि तीन खेलकै शृंखला खेलिएको थियो । त्यो शृंखलामा एसिया–११ ले अफ्रिका–११ लाई ३–० ले हराएको थियो । यो प्रतियोगिताको तेस्रो संस्करण सन् २००९ मा केन्यामा आयोजना गर्ने तय भएको थियो ।

तर, तेस्रो संस्करण आयोजना हुन सकेन । त्यसपछि प्रतियोगिताले पनि निरन्तरता पाउन सकेन । सन् २००७ मा सम्पन्न दोस्रो संस्करणमा एसिया–११ श्रीलंकाली खेलाडी माहेला जयाबद्र्धनेको कप्तानीमा मैदानमा ओर्लिएको थियो ।

त्यतिबेला एसिया–११ टोलीमा भारतका वीरेन्द्र सेहवाग, युवराज सिंह, सौरव गांगुली, जहिर खान, महेन्द्रसिंह धोनी र हरभजन सिंह सहभागी थिए । एसिया–११ टोलीमा पाकिस्तानका पाकिस्तानका मोहम्मद युसुफ र मोहम्मद आसिफ, बंगलादेशका मसरफे बिन मोर्तजा र मोहम्मद रफिक तथा श्रीलंकाका सनथ जयसूर्या, दिलहरा फर्नान्डो र उपुल थारंगा सहभागी थिए ।

अफ्रिका–११ टोली भने दक्षिण अफ्रिकाका जस्टिन केम्पको कप्तानीमा मैदानमा ओर्लिएको थियो । अफ्रिका–११ टोलीमा एबी डेभिलियर्स, भुसी सिबान्डा, बोएटा डिप्पेनार, स्टिभ टिकोलो, मार्क बाउचर, सान पोलक, एल्टन चिगुम्बुरा, जोन बोथा, मोर्ने मोर्केल र पिटर ओगोन्डो सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप