ट्रम्प : एक ब्रान्डको पुनरुदय
वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावमा लगातार तीन पटक उम्मेदवार हुनुअघि डोनाल्ड ट्रम्प अमेरिकाका प्रतिष्ठित अर्बपति थिए ।
२०१५–१६ को राष्ट्रपतीय चुनावअघिका दशकहरूमा, न्यूयोर्कको ‘रियल स्टेट मुगल’ डोनाल्ड ट्रम्पको जीवनबारे ट्याब्लोइड र टेलिभिजनमा धेरै कथाहरू प्रकाशित थिए ।
उनको प्रसिद्ध नाम र चुनावी अभियानको शैलीले उनलाई अनुभवी राजनीतिज्ञहरूलाई हराउन मद्दत गर्यो । तर विभिन्न विवादका कारण उनले एक कार्यकालपछि नै राष्ट्रपति चुनावमा हार बेहोर्नुपरेको थियो ।
रिपब्लिकन पार्टीका उम्मेदवार ७८ वर्षीय डोनाल्ड ट्रम्पले एकपटक फेरि चुनौतीलाई नै चुनौती दिँदै राजनीतिक पुनरागमन गरेका छन् । उनी फेरि राष्ट्रपति पदमा पुग्ने पक्का भएको छ ।
- परिवारका उत्तराधिकारी
डोनाल्ड ट्रम्प न्यूयोर्कका घर जग्गा व्यवसायी फ्रेड ट्रम्पका चौथो सन्तान हुन् ।
पारिवारिक सम्पत्ति भए पनि ट्रम्प आफ्नो बुबाको कम्पनीमा सबैभन्दा सानो पददेखि काम गर्न चाहन्थे । १३ वर्षको उमेरमा विद्यालयमा दुर्व्यवहार गर्न थालेपछि उनलाई सैनिक विद्यालयमा पठाइयो ।
पेन्सिल्भेनिया विश्वविद्यालयको वार्टन स्कुलबाट डिग्री प्राप्त गरेपछि, उनी आफ्नो बुबाको उत्तराधिकारीको दाबेदार बने किनभने उनका जेठो दाजु फ्रेडले पाइलट बन्ने निर्णय गरेका थिए ।
अत्यधिक मदिरा सेवनका कारण ४३ वर्षको उमेरमा फ्रेड ट्रम्पको मृत्यु भएको थियो । यही कारणले आफूले जीवनभर रक्सी र चुरोट नपिउने प्रण गरेको ट्रम्पको भनाइ छ ।
ट्रम्पले कम्पनीमा आबद्ध हुनुअघि आफ्नो घर जग्गा व्यवसायका लागि बुबाबाट १० लाख अमेरिकी डलरको ‘सानो’ ऋण लिएको बताएका थिए ।
उनले आफ्नो बुबालाई न्यूयोर्क सहरमा आवासीय परियोजनाहरूको विस्तृत पोर्टफोलियो व्यवस्थापन गर्न मद्दत गरे र कम्पनीको नियन्त्रण लिए ।
सन् १९७१ मा ट्रम्पले कम्पनीको नाम परिवर्तन गरेर ‘ट्रम्प अर्गनाइजेसन’ राखेका थिए ।
डोनाल्ड ट्रम्प आफ्ना पितालाई आफ्नो प्रेरणा मान्छन् । सन् १९९९ मा उनको बुवाको निधन भएको थियो ।
- एक ब्रान्ड
ट्रम्पको नेतृत्वमा, उनको पारिवारिक व्यवसाय ब्रुकलिन र क्वीन्सको आवासीय फ्ल्याटबाट म्यानहाट्टन परियोजनाहरूमा विस्तार भयो ।
प्रसिद्ध ‘फिफ्थ एभिन्यू’ ट्रम्पको घर बन्यो, जुन धेरै वर्षसम्म उनको घर नै रह्यो । यो ट्रम्पको सबैभन्दा चर्चित सम्पत्ति पनि थियो । जीर्ण कमोडोर होटल ग्रान्ड हयातको रूपमा पुनः स्थापित भयो ।
डोनाल्ड ट्रम्पसँग एट्लान्टिक सिटी, शिकागो र लस भेगासदेखि भारत, टर्की र फिलिपिन्ससम्म फैलिएको क्यासिनो, साझेदारी, गल्फ कोर्स र होटलहरू सहित धेरै सम्पत्तिहरू छन् ।
मनोरञ्जनको क्षेत्रमा पनि उनको स्टारडम बढ्दै गयो । पहिले उनी मिस युनिभर्स, मिस यूएसए र मिस टिन युएसए सौन्दर्य प्रतियोगिताको आयोजक थिए, त्यसपछि एनबीसी रियालिटी शोको निर्माता र होस्ट भए।
उनको ट्रेडमार्क ‘यू आर फायर्ड’ रिफ्रेन्सले ‘द डोनाल्ड’लाई लोकप्रिय नाम बनाइदियो । अपरेन्टिसका प्रतियोगीहरूले १४ सिजनसम्म आफ्नो व्यापार साम्राज्यमा व्यवस्थापन सम्झौताको लागि प्रतिस्पर्धा गरेका थिए ।
ट्रम्पले धेरै पुस्तकहरू लेखेका छन्, धेरै फिल्महरूमा अभिनय गरेका छन् र प्रो रेस्लिङ जस्ता धेरै टिभी कार्यक्रमहरूमा देखा परेका छन् । यसबाहेक उनले सोडा ड्रिंकदेखि घाँटीको टाईसम्म सबै बेचिसकेका छन् ।
तर, पछिल्लो समय उनको समग्र आर्थिक अवस्था खस्कँदै गएको छ । फोर्ब्सका अनुसार हाल उनको सम्पत्ति ४ अर्ब डलर नजिक छ ।
ट्रम्पले छवटा छुट्टाछुट्टै अवसरहरूमा व्यापार दिवालियापनको सामना पनि गरेका छन् । उनका धेरै व्यवसायहरू जस्तै ट्रम्प स्टिक्स र ट्रम्प विश्वविद्यालय जस्ता परियोजनाहरू डुबेका छन् ।
उनले अनुसन्धानबाट बच्न आफ्नो करसम्बन्धी जानकारी पनि लुकाए, जुन २०२० मा न्यूयोर्क टाइम्सले विस्तृत रूपमा प्रकाशित गरेको थियो । यस प्रतिवेदनले वर्षौँको आयकर छली र दीर्घकालीन वित्तीय नोक्सानलाई उजागर गरेको थियो ।
- ट्रम्पको परिवार
डोनाल्ड ट्रम्पको व्यक्तिगत जीवनले व्यापक हेडलाइन्स पाउँदै आएको छ । उनको पहिलो र सबैभन्दा प्रसिद्ध पत्नी इभाना जेलनिकोवा, एक चेक खेलाडी र मोडेल थिइन् । सन १९९० मा सम्बन्धविच्छेद गर्नुअघि उनीहरूका तीन सन्तान थिए – डोनाल्ड जुनियर, इभान्का र एरिक ।
उनीहरूको कानुनी लडाइँहरूले गसिप स्तम्भहरूको पहिलो पृष्ठ भरिए । श्रीमतीले ट्रम्पमाथि लगाएको घरेलु हिंसाको आरोपबारे ट्रम्पमाथि बनेको फिल्ममा चित्रित गरियो ।
यद्यपि, इभानाले घरेलु दुर्व्यवहारको आरोपको बारेमा धेरै कम बोलिन् ।
यसपछि ट्रम्पले सन १९९३ मा अभिनेत्री मार्ला म्यापल्ससँग विवाह गरे । विवाह भएको दुई महिनापछि उनले आफ्नो एक्लो सन्तान टिफनीलाई जन्म दिइन् । दुवैले सन १९९९ मा सम्बन्धविच्छेद गरेका थिए ।
ट्रम्पकी वर्तमान पत्नी पूर्व स्लोभेनियाली मोडल मेलानिया नाउस हुन् । उनीहरु दुवैले सन २००५ मा विवाह गरेका थिए र उनीहरूको एउटा छोरा छ, जसको नाम ब्यारोन विलियम ट्रम्प हो, जो भर्खरै १८ वर्षका भए ।
ट्रम्पमाथि यौन दुर्व्यवहार र अवैध सम्बन्धको आरोप पनि लागेको छ ।
यस वर्षको सुरुमा, दुई अलग–अलग न्याायाधीशहरूले ट्रम्पले लेखक ई जीन क्यारोलले लगाएको यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेर बदनाम गरेको निर्णय गरे ।
उनलाई लेखकलाई ८.८ करोड अमेरिकी डलर तिर्न भनिएको थियो । तर ट्रम्पले यस निर्णयको विरुद्धमा पुनरावेदन गरे।
यसबाहेक ट्रम्पलाई पोर्न स्टार स्टोर्मी डेनियल्सलाई दिएको ‘हश मनी’ लुकाउनका लागि व्यापारिक रेकर्ड झूटो बनाएको ३४ वटा मुद्दामा दोषी ठहर गरिएको छ ।
यो सन २००६ मा भएको विवाहेत्तर सम्बन्धसँग सम्बन्धित मुद्दा हो ।
- राष्ट्रपतिको उम्मेदवार
सन् १९८० मा ट्रम्प ३४ वर्षका थिए । त्यसबेलाको एक अन्तर्वार्तामा उनले राजनीतिलाई ‘धेरै नराम्रो जीवन’ भनेर व्याख्या गर्दै भनेका थिए, ‘सबैभन्दा सक्षम व्यक्तिले राजनीतिको सट्टा व्यवसाय रोज्छन् ।
तर, सन १९८७ देखि उनले राष्ट्रपति पदमा दाबी गर्न थाले । ट्रम्पले सन २००० को राष्ट्रपतीय निर्वाचनमा रिफर्म पार्टीको उम्मेदवार बन्ने सम्भावनाको खोजी गरेका थिए ।
यसपछि उनले २०१२ मा पनि रिपब्लिकन उम्मेदवार बन्ने प्रयास गरे ।
ट्रम्प ‘जन्मवाद’ अर्थात् ‘थ्योरी अफ बर्थ’ को सबैभन्दा मुखर समर्थक हुन् । यो एउटा षडयन्त्रको सिद्धान्त हो जसका अनुसार बराक ओबामा अमेरिकामा जन्मिएकोमा शंका गर्थ्यो । ट्रम्पले सन २०१६ सम्म यो ‘झूट’ भएको स्वीकार गरेनन् र यसका लागि कहिल्यै माफी मागेनन् ।
सन् २०१५ को अन्त्यसम्म ह्वाइट हाउसको दौडमा ट्रम्पको सहभागिताको कुनै आधिकारिक घोषणा भएको थिएन । त्यसपछि उनले अमेरिकी सपनालाई मृत भनी वर्णन गरे र ‘यसलाई अझ ठुलो र राम्रो बनाउने’ वाचा गरे।
ट्रम्पको भाषणमा उनी आफ्नो सम्पत्ति र व्यावसायिक सफलताको प्रशंसा गरिरहेको देखियो । उनले मेक्सिकोले लागु औषध, अपराध र बलात्कारीलाई अमेरिका पठाएको पनि आरोप लगाए । उनले देशलाई सीमानामा पर्खाल बनाउने वाचा गरे ।
उनले बहसको मञ्च र विवादास्पद नीतिमा आफ्नो प्रभावशाली प्रदर्शनमार्फत प्रशंसक र आलोचकहरूलाई आकर्षित गरे । यससँगै उनले मिडियालाई पनि आफूतर्फ आकर्षित गरेका छन् ।
‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको नारा प्रयोग गर्दै उनले रिपब्लिकन पार्टीका आफ्ना प्रतिद्वन्द्वीहरूलाई सजिलै पराजित गर्दै डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको सामना गरे ।
यस अभियानको वरिपरि धेरै विवादहरू थिए, जसमा यौन दुर्व्यवहारको बारेमा लिक गरिएको अडियो टेप पनि समावेश छ । जसका कारण उनी आमनिर्वाचन अघि गरिएको जनमत सर्वेक्षणमा पछि परेको देखियो ।
तर, ट्रम्पले दिग्गज हिलारी क्लिन्टनलाई हराएर राजनीतिक पण्डितहरू र सर्वेक्षणकर्ताहरूलाई चकित पारे । उनले जनवरी २०, २०१७ मा संयुक्त राज्य अमेरिकाको ४५ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।
- राष्ट्रपतिको रूपमा ट्रम्प
आफ्नो कार्यकालको पहिलो घण्टादेखि नै डोनाल्ड ट्रम्पले निकै नाटकीय ढङ्गले काम गरेका थिए । उनी प्रायः ट्वीटर (अहिले एक्स) मा घोषणाहरू गर्दै र विदेशी नेताहरूसँग खुलेर भिडिरहेको देखियो ।
उनले प्रमुख जलवायु र व्यापार सम्झौताबाट अमेरिकालाई अलग गरे । यसबाहेक सात मुस्लिम बाहुल्य देशबाट यात्रामा प्रतिबन्ध लगाए भने अध्यागमनमा कडा प्रतिबन्ध लगाए ।
ट्रम्पले चीनसँग व्यापार युद्ध सुरु गरे, रेकर्ड कर कटौती लागू गरे र मध्य पूर्व क्षेत्रसँग सम्बन्धलाई नयाँ आकार दिए ।
लगभग दुई वर्षसम्म, एक विशेष अभियोजकले २०१६ मा ट्रम्पको अभियान र रुस बिचको साँठगाँठको आरोपको अनुसन्धान गर्यो । यस अवधिमा कम्प्युटर ह्याकिङ, आर्थिक अपराधजस्ता अभियोगमा ३४ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता गरियो । तर ट्रम्पविरुद्ध कुनै मुद्दा दर्ता भएको छैन । अनुसन्धानमा उनको आपराधिक संलग्नता पुष्टि हुन सकेन।
त्यसको लगत्तै ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बने । उनीमाथि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको बारेमा जानकारी सङ्कलन गर्न विदेशी सरकारलाई दबाब दिएको आरोप लागेको थियो ।
डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले उनलाई महाभियोग लगाए पनि रिपब्लिकन बहुल सिनेटमा उनी सफाइ पाएका थिए ।
कोभिड–१९ महामारी उनको चुनावी वर्ष २०२० मा हाबी भयो।
अमेरिका संक्रमण र मृत्युको मामिलामा विश्वमै सबैभन्दा शीर्ष स्थानमा रहेपछि संकटलाई सम्हालन नसकेको भन्दै उनले कडा आलोचनाको सामना गर्नु परेको थियो ।
यस बाहेक, उनको विवादास्पद टिप्पणीका लागि पनि उनको कडा आलोचना भएको थियो, जसमा शरीरमा कीटाणुनाशक इन्जेक्सन गरेर भाइरसको उपचारमा अनुसन्धानको सुझाव दिनु सामेल थियो ।
सन् २०२० को अक्टोबरमा कोभिड–१९ सङ्क्रमित भेटिएपछि उनले केही दिनको लागि चुनावी प्रचारप्रसार बन्द गर्नुपरेको थियो ।
राष्ट्रपति चुनावमा ट्रम्पले करिब ७ करोड ४० लाख मत प्राप्त गरे जुन अन्य कुनै पनि अमेरिकी राष्ट्रपतिको तुलनामा बढी थियो । यद्यपि उनले बाइडेनसँग ७० लाखभन्दा बढी मतले हारे ।
नोभेम्बर २०२० देखि जनवरी २०२१ सम्म, उनले व्यापक चुनावी धाँधली र भोट चोरीको आरोप लगाउँदै कानुनी लडाइँ लडे, जुन ६० भन्दा बढी अदालती मुद्दाहरूमा खारेज भयो।
चुनावी नतिजालाई अस्वीकार गर्दै ट्रम्पले जनवरी ६ मा वासिङ्टनमा आफ्ना समर्थकहरूसँग र्याली निकालेर उनीहरूलाई एकताबद्ध हुन अपिल गरेका थिए । बाइडेनको विजयलाई कंग्रेसले सोही दिन औपचारिक रूपमा प्रमाणित गर्ने तयारी थियो।
ट्रम्पको र्याली दङ्गामा परिणत भयो, जसका कारण सांसद र उनका आफ्नै उपराष्ट्रपति खतरामा परेका थिए । यो ऐतिहासिक दोस्रो महाभियोगको कारण बन्यो । तर, सिनेटले ट्रम्पलाई पुनः सफाइ दिएको थियो।
त्यस दिन ट्रम्पको कथित कार्यका कारण उनीविरुद्ध दुई आपराधिक मुद्दा विचाराधीन छन् ।
- ट्रम्पको पुनरागमन
क्यापिटल हिलमा भएको आक्रमणपछि डोनाल्ड ट्रम्पको राजनीतिक करियर लगभग समाप्त भएको थियो । उनका दाता र समर्थकहरूले उनलाई फेरि कहिल्यै सहयोग नगर्ने बताएका थिए ।
उनका नजिकका साथीहरूले समेत सार्वजनिक रूपमा उनलाई बहिष्कार गरे ।
उनी बाइडेनको उद्घाटन समारोहमा उपस्थित भएनन् । उनी आफ्नो परिवारसँग फ्लोरिडा गएका थिए । तर समर्थकहरूको वफादार समूहका साथ, उनले रिपब्लिकन पार्टीको लगाम थामी राखे ।
ट्रम्पको राष्ट्रपतिको सबैभन्दा ठुलो विरासत तब आयो जब तीन दक्षिणपन्थी सर्वोच्च अदालतका न्यायाधीशहरूले उनलाई ५० वर्ष पुरानो राष्ट्रिय गर्भपतन अधिकार अन्त्य गर्न मद्दत गरे ।
यी न्यायाधीशहरूलाई ट्रम्पद्वारा मनोनीत गरिएको थियो, जसले रूढीवादी बहुमतलाई बलियो बनाए र लगभग ५० वर्ष पुरानो राष्ट्रिय गर्भपतन अधिकार समाप्त गर्न मद्दत गरे ।
सन् २०२२ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको कमजोर प्रदर्शनका लागि दोष लगाइए पनि, ट्रम्पले फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरे र चाँडै नै आफ्नो पार्टीको राष्ट्रपति पदका उम्मेदवार बने ।
उनलाई पूर्वउपराष्ट्रपतिसहित एक दर्जनभन्दा बढी विपक्षीले चुनौती दिएका थिए । तर ट्रम्पले बहसलाई बेवास्ता गर्दै बाइडेनलाई निशाना बनाए ।
ट्रम्पले चार आपराधिक मुद्दामा ९१ वटा आरोपको सामना गर्दै आम चुनाव सुरु गरेका थिए । तर, कानुनी मामिलाहरू स्थगित गर्ने उनको रणनीतिले धेरै हदसम्म काम गर्यो ।
निर्वाचनअघि तीनवटा मुद्दामा सुनुवाइ नहुने र न्यूयोर्कमा उनको सजाय नोभेम्बरको अन्त्यसम्मका लागि स्थगित गरिएको छ ।
जुलाई १३ मा पेन्सिल्भेनियाको बटलरमा चुनावी र्यालीका क्रममा २० वर्षीय बन्दुकधारीले ट्रम्पमाथि घातक हमला गरेका थिए ।
थोमस म्याथ्यू क्रुक्सले नजिकैको छतबाट एआर शैलीको राइफलबाट आठ राउन्ड फायर गरेका थिए । आक्रमणकारी मारिनुअघि अघि ट्रम्पको दाहिने कानमा गोली लागेको थियो ।
केही दिन पछि, रिपब्लिकन राष्ट्रिय अधिवेशनमा, पार्टीले उनको प्रशंसा गर्यो र औपचारिक रूपमा उनलाई लगातार तेस्रो पटक रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गर्यो । राष्ट्रपति बाइडेनसँग उनको रि–म्याच पक्का भयो ।
महामारीपछि, बाइडेनको कार्यकाल आर्थिक संकट, उच्च मुद्रास्फीति, अवैध अध्यागमनमा वृद्धि र विदेश नीतिमा अराजकताले घेरिएको थियो ।
यसैबिच बाइडेनले आफ्नो राष्ट्रपतिको उम्मेदवारी त्यागे र आफ्नो उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे । लगत्तै ट्रम्पले कमला ह्यारिसलाई प्रशासनको असफलतासँग जोड्ने प्रयास गरे ।
राष्ट्रिय सर्वेक्षणहरूले कमला ह्यारिसले उदार मतदाताहरूलाई प्रेरित गरेको र लाखौँ डलर जुटाएको संकेत गरेको थियो । यसका कारण नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको निर्वाचन रोचक बनेको थियो ।
ट्रम्पले आफ्ना समर्थकहरूलाई भनेका थिए, ‘नोभेम्बर ५, २०२४ अमेरिकाको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मिति हुनेछ ।’
बीबीसी