शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

उपाधि सुदूरपश्चिम प्रदेशको पोल्टामा, फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हरायो

बुधबार, २१ कात्तिक २०८१, १४ : ५५
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा बुधबार सम्पन्न नरेश श्रेष्ठ मेमोरियल वाईवाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । सुदूरपश्चिम प्रदेशले फाइनलमा बलियो प्रतिद्वन्द्वी लुम्बिनी प्रदेशमाथि आठ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ३७.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने ४३.१ ओभरमा अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि ओपनर ब्याट्सम्यान अभिषेक थापाले २९ रनको योगदान गरेका थिए । उनले २७ बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर राजेश ऐर भने १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी नरेन भट्टले भने जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै २७ रन बनाए । उनले ५३ बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रकाश पाण्डे केवल एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

युवराज खत्रीले त खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आषिश लुहार पनि दुई रन बनाउँदै आउट भए । दीपक रोकाया पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । नरेन साउदले टोलीको खातामा १५ रन थपे ।

यसैगरी, अकोश धामी आठ रन बनाउँदै आउट भएका थिए । कप्तान हेमन्त धामी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सचिन भट्ट तीन रनमा अविजित रहे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा ११ रन पाएको थियो ।

सुदूरपश्चिम प्रदेशका ब्याट्सम्यानका लागि लुम्बिनी प्रदेशका बलर सन्तोष यादव सबैभन्दा घातक बनेका थिए । उनी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै केवल २८ रन खर्चिए । रमेश कुर्मीले पनि तीन विकेट हात पारे । उनले १० ओभरमा दुई मेडन राख्दै केवल १८ रन खर्चिए । शिव कुँवरले पनि एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि ओपनर ब्याट्सम्यान आकाश चन्दले सर्वाधिक २२ रन बनाएका थिए । टोलीको कप्तानसमेत रहेका चन्दले ४४ बलमा चार चौका हिर्काए । अर्का ओपनर सम्राट भुषाल भने शून्य रनमै पेभेलियन फर्किए ।

सन्तोष यादबले १२ र विजय कोहरले १९ रन बटुले । दर्श सोनार पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान समिर अली मुसलमानले टोलीको खातामा १८ रन थपे । दिलसाद अली, निर्मल गुरुङ र नर सार्कीले त खातासम्म खोल्न सकेनन् ।

शिव कुँवरले अविजित २० रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरेका थिए । तर, अन्य ब्याट्सम्यानबाट गतिलो साथ पाउँदै उनको त्यो योजना सफल हुन सकेन । रमेश कुर्मी चार रन बनाउँदै पेभेलियन फर्किए । समग्रमा फाइनलमा लुम्बिनी प्रदेशका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि २० रन पाएको थियो ।

सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिए । सचिन भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट हात पारे । अशोक धामीले पनि एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेश लिग चरणको खेलबाट समूह विजेता बन्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिम प्रदेश लिग चरण आफूले खेलेको ६ मध्ये पाँच खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । सुदूरपश्चिम प्रदेशले १० अंक जोडेको थियो ।

लुम्बिनी प्रदेश भने समूहगत चरणको खेलमा दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो । लुम्बिनी प्रदेश पनि लिग चरणमा आफूले खेलेको ६ मध्ये पाँच खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । लुम्बिनी प्रदेशले पनि १० अंक नै बटुलेको थियो । तर, नेट रन रेटमा लुम्बिनी प्रदेश पछि परेको थियो ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । समूहगत चरणको तालिकामा ६ अंकसहित गण्डकी प्रदेश तेस्रो, समान अंक जोडेको मधेश प्रदेश चौथो, चार अंकसहित बागमती प्रदेश पाँचौँ, समान अंक जोडेको कर्णाली प्रदेश छैटौँ र दुई अंकसहित कोशी प्रदेश सातौँ भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप