अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति ?
वासिङ्टन डिसी । अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ । अहिलेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सुनिश्चित देखिएको छ । ट्रम्पले आफूले जितेको दाबी गरिसकेपनि औपचारिक घोषणा भने हुन बाँकी छ।
अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने बाटोमा रहेका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिन्छन् । ट्रम्प अर्बौँ डलरका मालिक हुन् । विश्वभर उनको व्यवसाय फैलिएको छ । यसमा मिडिया टेक्नोलोजीदेखि रियल इस्टेटसम्मका व्यवसाय छन् ।
७ अर्ब डलरभन्दा बढीको नेटवर्थ
ट्रम्प अमेरिकाका धनाढ्य नेता हुन् । उनी दोहोर्याएर ह्वाइट हाउस छिर्दैछन् । ट्रम्पसँग कुल ६ अर्ब ६० करोड डलरदेखि ७ अर्ब ७० करोड डलरबीचको नेटवर्थ भएको बताइन्छ । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको बिलेनियर्स इन्डेक्सका अनुसार ट्रम्पसँग ६ अर्ब ६० करोड डलरको सम्पत्ति छ । ब्लूमबर्ग बिलेनियर्स इन्डेकसका अनुसार उनीसँग ७ अर्ब ७० करोड डलरको सम्पत्ति छ ।
सम्पत्तिमा उतारचढाव
ट्रम्पले पहिलो पटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिँदा फोर्ब्सका अनुसार सन् २०१६ मा उनको सम्पत्ति साढे ४ अर्ब डलर थियो । तर त्यति नै बेला उनले आफूसँग यो भन्दा बढी सम्पत्ति रहेको बताएका थिए । तर राष्ट्रपति बनेपछि उनको सम्पत्ति घट्यो । फोर्ब्सका डेटा अनुसार सन् २०२० मा सम्पत्ति घटेर २ अर्ब १० करोड डलरमा आयो । कार्यकाल सकिएपछि सन् २०२२ मा सम्पत्ति बढेर ३ अर्ब डलरमा उक्लियो । यही महिना उनको सम्पत्ति ७ अर्ब डलर माथि उक्लियो ।
रिपोर्टका अनुसार ट्रम्पको सम्पत्तिमा सबैभन्दा ठुलो हिस्सा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको छ । फोर्ब्सका अनुसार यसको खुद मूल्य ५ अर्ब ६० करोड डलर छ । सन् २०२४ को अप्रिलमा ट्रम्पसँग यो कम्पनीमा ११ करोड ४५ लाख ५० हजार कित्ता र अतिरिक्त ३ करोड ६० लाख कित्ता अर्नआउट शेयर थियो ।
२० एकडमा फैलिएको ट्रम्प मेन्सन
विश्वका अन्य धनाढ्यसँग झैँ ट्रम्पसँग एक से एक लग्जरी प्रोपर्टी छ । ह्वाइट हाउस छोडेपछि ट्रम्प यही बस्दै आएका थिए । सन् १९२७ मा बनेको यो भवनलाई ट्रम्पले सन् १९८५ मा किनेका थिए । फ्लोरिडाको पाम बीचमा १ करोड डलर मूल्यको शानदार मेन्सन छ । सेन्ट मार्टिनमा पनि लग्जरी प्रपर्टी छ ।
ट्रम्प गल्फका पनि सौखिन हुन् । उनीसँग १९ वटा गल्फ कोर्स छ । कार र विमानको कलेक्सनले पनि ट्रम्पको धनको झल्को दिन्छ । वासिङ्टन पोस्टका अनुसार ट्रम्पसँग ५ थान विमान छ भने रोल्स रोयसदेखि मर्सिडिज बेञ्जसम्मका अनगिन्ती लक्जरी गाडी पनि छन् ।
पिताको व्यवसायलाई बढाएका थिए ट्रम्पले
ट्रम्पले आफ्नो पिताबाट रियल इस्टेट कारोबार पैतृक सम्पत्ति पाएका थिए । पिता फेड ट्रम्प आफ्नो जमानामा न्यूयोर्कको सफल रियल इस्टेट व्यापारी थिए । फेडले पत्नी एलिजावेथसँथ मिलेर सन् १९२७ मा रियल इस्टेट कम्पनी सुरु गरेका थिए । सन् १९७१ देखि डोनाल्ड ट्रम्पले आफ्नो पिताको कारोबार सम्हाल्न सुरु गरेका थिए ।