शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा डेंगु सङ्क्रमण घट्दै

बुधबार, २१ कात्तिक २०८१, १४ : ०४
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । नेपालमा डेंगु  सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।

सरकारले डेंगुको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२ औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेंगु सङ्क्रमणको ४५ औँ हप्ता चलिरहेको छ ।  

डा.दाहालले ४२ औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५ औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिए । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।” 

अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । 

उपत्यकामा ६ हजारभन्दा बढीमा सङ्क्रमण

उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप