सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भारतलाई यू–१९ विश्वकपको उपाधि चुमाउने उन्मुक्त चन्द लुम्बिनी लायन्समा

बुधबार, २१ कात्तिक २०८१, १४ : ०२
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द लुम्बिनी लायन्समा आबद्ध भएका छन् ।

लुम्बिनी लायन्सले आगामी एनपीएलका लागि चन्दसँग सम्झौता गरेको हो । उनी भारतलाई आईसीसी यू–१९ विश्वकपको उपाधि चुमाउने टोलीका कप्तान हुन् । उनले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलिसकेका छन् ।

चन्दको आगमनले लुम्बिनी लायन्स उत्साही भएको क्लबले जनाएको छ । भारतलाई सन् २०१२ को यू–१९ विश्वकप जिताउँदा उनले फाइनलमा शतकसमेत प्रहार गरेका थिए । उनले दिल्ली डेयरडेभिल्स र मुम्बइ इन्डियन्सलगायतका चर्चित क्लबबाट आईपीएल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ‘नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा मैदानमा ओर्लन आतुर छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवलाई टोलीको सफलताका लागि प्रयोग गर्नेछु,’ ३१ वर्षीय उन्मुक्तले भनेका छन् ।

लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जीसीले पनि उन्मुक्त चन्दजस्तो अनुभवी खेलाडीलाई टोलीमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘उनलाई क्लबमा आबद्ध गर्न पाउँदा हामी निकै उत्साही छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टोलीलाई थप बलियो बनाउने छ,’ उनले भनेका छन् ।

उनले ६७ वटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले तीन हजार तीन सय ७९ रन बनाएका छन् । त्यसमा उनले आठ शतक र १६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एक सय २० वटा लिस्ट ए क्रिकेट खेल्दै कुल चार हजार पाँच सय पाँच रन बनाएका छन् ।

लिस्ट ए क्रिकेटमा उनले सात शतक र ३२ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ९० वटा टी–२० क्रिकेटमा पनि कुल एक हजार सात सय ९५ रन बनाएका छन् । एनपीएल क्रिकेट मंसिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठवटा टोली सहभागी छन् ।

लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

हालै सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री) मा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्स क्लबले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादब र सन्दीप जोरा हुन् ।

यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चिएको थियो ।

यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको थियो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्चिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप