शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १२८ रनको लक्ष्य

बुधबार, २१ कात्तिक २०८१, ११ : ३३
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार भइरहेको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ३७.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रन बनाएको हो । फाइनलमा सुदूरपश्चिमका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर अभिषेक थापा २९ रन बनाउँदै आउट भए । उनले २७ बलमा पाँच चौका पनि हिर्काए ।

अर्का ओपनर राजेश ऐर भने १४ रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी नरेन भट्टले भने जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै २७ रन बनाए । उनले ५३ बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रकाश पाण्डे केवल एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । युवराज खत्रीले त खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आषिश लुहार पनि दुई रन बनाउँदै आउट भए । दीपक रोकाया पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

नरेन साउदले टोलीको खातामा १५ रन थपे । अकोश धामी आठ रन बनाउँदै आउट भए । कप्तान हेमन्त धामी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सचिन भट्ट तीन रनमा अविजित रहे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो ।

सुदूरपश्चिम प्रदेशका ब्याट्सम्यानका लागि लुम्बिनी प्रदेशका बलर सन्तोष यादब सबैभन्दा घातक बनेका थिए । उनी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै केवल २८ रन खचिए । रमेश कुर्मीले पनि तीन विकेट हात पारे । उनले १० ओभरमा दुई मेडन राख्दै केवल १८ रन खर्चिए । शिव कुँवरले पनि एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेश लिग चरणको खेलबाट समूह विजेता बन्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिम प्रदेश लिग चरण आफूले खेलेको ६ मध्ये पाँच खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । सुदूरपश्चिम प्रदेशले १० अंक जोडेको थियो ।

लुम्बिनी प्रदेश भने समूहगत चरणको खेलमा दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको हो । लुम्बिनी प्रदेश पनि लिग चरणमा आफूले खेलेको ६ मध्ये पाँच खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । लुम्बिनी प्रदेशले पनि १० अंक नै बटुलेको थियो । तर, नेट रन रेटमा लुम्बिनी प्रदेश पछि परेको थियो ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । समूहगत चरणको तालिकामा ६ अंकसहित गण्डकी प्रदेश तेस्रो, समान अंक जोडेको मधेश प्रदेश चौथो, चार अंकसहित बागमती प्रदेश पाँचौँ, समान अंक जोडेको कर्णाली प्रदेश छैटौँ र दुई अंकसहित कोशी प्रदेश सातौँ भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप