शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गौतमबुद्ध विमानस्थल

‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान निरन्तरता दिन सबैको हातेमालो जरुरी’

बुधबार, २१ कात्तिक २०८१, १० : ०८
बुधबार, २१ कात्तिक २०८१

बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन विदेशी एयरलाइन्सले नियमित उडान गर्ने भएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् । उनीहरूले अब अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सबैको हातेमालो जरुरी रहेको बताएका छन् ।

दुई वर्ष अघि उद्घाटन भएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीयमा निराशा बढेको थियो । २०७९ साल जेठ १ गते २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।

थाई एयरले भाइटीकाको दिनदेखि हप्ताको दुई दिन यो विमानस्थलमा उडान सुरु गरेको छ । अब ९ नोभेम्बर अर्थात् यही कार्तिक २४ गतेबाट जजिरा एयरलाइन्स र फ्लाई दुबईले पनि यहाँबाट उडान गर्ने गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले रातोपाटीलाई बताए ।

1

कार्तिक २४ गतेदेखि भैरहवामा हप्ताको सातै दिन फ्लाई दुबईले उडान गर्नेछ भने जजिराले हप्तामा तीन दिन उडान गर्ने छ । जजिराले भैरहवा–कुवेत उडान गर्ने छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्ने छ ।

रावतका अनुसार थाई एसियाले सोमबार र बिहीबार भैरहवा–बैंकक उडान गर्ने छ ।

Jazeera_  f

२०७९ को जेठमा सञ्चालन भए यता जजिराले केही समय उडान गरेर आफ्नो सेवा बन्द गरेको थियो भने हिमालय एयरलाइन्सले पनि मलेसिया उडान गर्ने प्रयास गरेको थियो । नेपाल वायुसेवा निगमले भने भैरहवाबाट मलेसिया उडान गरिरहेको छ । उसले हप्ताको एक दिन भैरहवाबाट  उडान गर्दै आएको छ ।

विभिन्न वायुसेवा कम्पनीले चासो देखाए पनि उडान नियमित गर्न नक्दा विमानस्थल निर्माण गर्दाको लागत र विमानस्थललाई मध्यनजर गरी विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायी निराश बनेका थिए ।

ddddddddddddd

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै यहाँ होटेल, ट्राभल एजेन्सी लगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि भएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा गर्न स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तीन वटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले रातोपाटीलाई बताए । उनले तीन वायुसेवा कम्पनीले नियमित उडान गर्नु खुसीको कुरा भएको बताउँदै यसलाई निरन्तरता दिँदै थप विमान कम्पनीलाई आकर्षित गर्न सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरूलाई काठमाडौँबाट विदेश जानुभन्दा भैरहवाबाट जाँदा सहज र सस्तो पर्ने गरी व्यावसायिक वातावरण बनाउने दायित्व निजी क्षेत्रको पनि रहेको उनको भनाइ छ ।

अधिकारीले भने, ‘हवाई कम्पनीले यात्रु पाएमा निरन्तरता दिन्छन् तर यात्रुहरू भैरहवा आउने वातावरण हामी सबैले सिर्जना गर्नुपर्छ ।’

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले भैरहवा विमानस्थल चलायमान हुँदा सबैभन्दा धेरै नाफा निजी क्षेत्रलाई हुने भएकाले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन राज्यसँगै निजी क्षेत्रले आ–आफ्नो ढङ्गबाट मद्दत गर्नुपर्ने बताए ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले यो विमानस्थल लक्षित समूह नै बुद्धमार्गी भएकाले  यहाँबाट चीन, भारत, श्रीलङ्का, थाइल्यान्डजस्ता देशमा सिधा उडान गर्नुपर्ने बताए । उनले अहिले सुरु भएको उडानले लुम्बिनीमा केही पर्यटक वृद्धि हुने अपेक्षा राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप