काठमाडौँ । लोकेन्द्रबहादुर चन्दलाई धेरैले राजनीतिक रूपमा चिन्छन् । पञ्चायती पृष्ठभूमिबाट राजनीतिमा लागेका उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा छन् । तर उनी राजनीतिभन्दा पनि साहित्यमा बढी केन्द्रित हुन चाहन्थे । राजनीतिमा बढी सक्रिय हुँदाहुँदै पनि उनका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।
चन्दले राजनीतिमा लागेर आफू माथिल्लो पदमा पुग्छु भन्ने जीवनमा कहिल्यै कल्पना गरेनन् । २०५४ सालमा ‘विसर्जन’ कथासङ्ग्रहका लागि मदन पुरस्कार पाएका चन्दले चार पटक देश हाँक्ने अवसर पाए । २०४० साल, २०४६ साल, २०५३ साल र २०५९ सालमा गरी ४ पटक उनी प्रधानमन्त्री भए ।
लोकन्थलीस्थित पुरानो एक बङ्गलामा राजनीतिक लुछातानीबाट पर शान्तसँग बसिरहेका चन्द ८५ वर्षका भए । कुनै बेलाका पार्टी तथा सत्ताको प्रमुख पदमा रहेका चन्दको घरमा निकै भिडभाड हुन्थ्यो । तर अहिले उनको घर प्रायः सुनसान रहन्छ । अचेल आक्कल झुक्कल पार्टीका केही व्यक्ति र विभिन्न जिल्लाबाट शुभचिन्तक उनलाई भेट्न पुग्ने गरेका छन् ।
चन्द स्वयं आफूलाई अवकाशको समय बिताइरहेको भन्न रुचाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेतामध्येका एक उनी अहिले राजनीतिमा पनि निष्क्रिय छन् । बुढ्यौली लागेको र स्वास्थ्यमा पनि समस्याका कारण उनी आराम र अध्ययनमा दैनिकी बिताइरहेका छन् ।
विगतमा फुर्सदको समयमा लेख्ने–पढ्ने गरेका चन्द अब लेख्न नसक्ने भएका छन् । तर पढ्न भने छोडेका छैनन् । उद्यपि उनले लेखेर तयार पारेको एउटा उपन्यासको पाण्डुलिपी टाइपिङको पर्खाइमा छ ।
चन्दले भने, ‘हातका औँलाहरूमा अलि समस्या भएकाले लेख्न गाह्रो हुन्छ तर पढ्न भने छोडेको छैन । आँखा नदुखुन्जेल पढ्ने गर्छु ।’
चन्दले जीवनभर विभिन्न राजनीतिक जिम्मेवारी बहन गरे । तर खासमा उनी आफूलाई सधैँ साहित्यिक व्यक्तित्वका रूपमा चिनाउन चाहन्थे । २०५४ सालमा कथासङ्ग्रह ‘बिसर्जन’का लागि मदन पुरस्कार पाएका उनले आफ्ना कथाहरूमा नेपाली समाज र जनजीवनका विभिन्न उतारचढावलाई कलात्मक र साहित्यिक माध्यमबाट व्यक्त गरेका छन् ।
‘मेरो असली झुकाव साहित्यतिर नै हो,’ चन्दले भने । प्रधानमन्त्रीको कुर्सीमा बसेरै पनि उनले कविताहरू रचना गरे । त्यो कुर्सी एक संयोगमात्र थियो, तर उनको वास्तविक संसार भने साहित्य थियो ।
‘रातको समयमा खाना खाइसकेपछि साहित्यका लागि समय दिन्थेँ,’ चन्दले भने । यद्यपि, आजकाल स्वास्थ्य समस्याका कारण लेख्न नसके पनि आफ्नो पढ्ने बानीलाई उनले निरन्तरता दिइरहेका छन् ।
उनका अपराजिता, बिसर्जन, बाह्रौँ खेलाडी, हिउँको तन्ना, स्प्रिरिङ : एन एडेप्ट डाइरेक्टर चर्चित कृति हुन् ।
बुढ्यौली जीवनमा पनि चन्द आफ्नो अनुशासनमा अडिग छन् । बिहान ६ बजे उठिसक्ने उनको बानी छ । नित्यकर्मपछि जप–तप र ध्यान गरिसक्दा १० बजिसक्छ । दिउँसोको समय उनी पुस्तकहरू अध्ययन गर्छन् । समय कटाउन खासै गाह्रो छैन उनलाई ।
फुर्सदका बेला साहित्यका पुस्तकहरू, कथाहरू, विदेशबाट साथीहरूले पठाएका अङ्ग्रेजी किताबहरू अध्ययन गर्ने गरेको पूर्वप्रधानमन्त्री चन्दले सुनाए ।
साँझ नेपाल टेलिभिजनको समाचार हेर्ने उनको बानी छ । त्यही समाचारबाट देशमा के भइरहेको छ भन्ने सूचना उनले लिने गरेका छन् । अन्य च्यानलबाट आउने समाचार पनि अनुकूलतामा हेर्ने गरेका उनले बिहान दुईतीन वटा पत्रिकामा सरसर्ती आँखा लगाउँछन् ।
देशको राजनीति भरोसायोग्य नभएको चन्द बताउँछन् । ‘म निष्पक्ष रूपमा के भन्न चाहन्छु भने अहिलेको परिस्थितिमा तपाईंलाई प्रधानमन्त्री बनाए पनि हुने यही नै हो,’ कारण खुलाउँदै उनले भने, ‘किनभने हामी खाली मागिरहने, डिमान्डिङ सोसाइटी छ हाम्रो । यो चाहियो, यो दिनुपर्यो भन्ने । आफूचाहिँ केही नगर्ने । सांसद छ भने उसलाई मन्त्री चाहियो, मन्त्री छ भने उसलाई प्रधानमन्त्री चाहियो । कर्मचारीमा पनि अधिकृत छ भने उसलाई तुरुन्तै उपसचिव हुनुपरेको छ ।’
सर्वसाधारणमा पनि त्यस्तै डिमान्डिङ प्रवृत्ति रहेको चन्दले बताए । ‘सरकारले यो गर्न सकेन, यो भएन भनेर त म पनि भन्न सक्छु तर देश राम्रो बनाउन सरकारले मात्र सक्दैन,’ उनले भने, ‘विकासका लागि वा राजनीति सपार्नका लागि जनताको पनि सहयोग चाहिन्छ । जनता कुनै पनि सरकारसँग सन्तुष्ट हुँदैनन् । प्रजातन्त्र भनेको त जनताको राज्य हो । उनीहरू पनि जिम्मेवार हुनुपर्यो । सरकार ठिक छैन भने त्यसलाई फाल्न एकजुट हुन सक्नुपर्यो ।’
सरकारबाट केही न केही खोजिरहने र आफ्नो तर्फबाट देशका लागि केही नगर्ने बानी नागरिकमा रहेको चन्दले बताए । उनका अनुसार पञ्चायती व्यवस्थामा विकासमा जनतालाई पनि प्रत्यक्ष रूपमा जोडिन्थ्यो । विकासको कुनै योजना अघि बढाइन्छ भने त्यसमा लाग्ने कुल खर्चको आधा सरकारले बेहोर्ने, आधा जनश्रमदानबाट काम गराइन्थ्यो ।
चन्दले भने, ‘एक लाखको परियोजना छ भने कम्तीमा १० हजार श्रमदानबाट काम हुन्थ्यो । तर आज १ मिनेट पनि अर्को व्यक्तिका लागि काम गर्न कोही तयार छैन । देशको लागि २ मिनेट पनि काम गर्न कोही तयार छैनन् । त्यसका लागि परिस्थिति, नीति ठिक हुनुपर्यो । अहिलेको परिस्थितिमा जो प्रधानमन्त्री भए पनि केही हुने अवस्था छैन ।’
चन्द पञ्चायतकालमा दुई पटक प्रधानमन्त्री बने । प्रजातन्त्र पुनर्स्थापनापछि पनि उनी प्रधानमन्त्री बने । यी दुई कालखण्डबिच तुलना गर्ने हो भने पञ्चायतकालमा भन्दा अहिलेको प्रधानमन्त्रीलाई काम गर्न सहज वातावरण रहेको उनको अनुभव छ ।
चन्द स्मरण गर्छन्, ‘अहिलेका मानिसहरू पञ्चायतकालमा प्रधानमन्त्रीलाई काम सजिलो थियो भन्ने सोच्छन् तर त्यस्तो थिएन । बरु अहिलेको प्रधानमन्त्रीलाई धेरै सजिलो छ । पार्टीको निर्णय माने पुग्यो । त्यो बेला एक–एक जनाको चित्त बुझाउनु पर्थ्यो । राष्ट्रिय पञ्चायतमा १०८ जना सदस्य थिए, प्रत्येकको चित्त बुझाउन सक्नुपर्थ्यो । उनीहरूले भनेका जायज माग पूरा नगरी हुँदैनथ्यो ।’
पञ्चायतकालमा जिल्लाबाट केही मानिस कुनै काम गरिदिनुपर्यो भनेर आउँदा त्यो काम कसरी गर्न सकिन्छ भनेर ज्यादै चिन्ता लाग्ने चन्दले सुनाए । ‘अहिले त्यो अवस्था छैन कि जस्तो लाग्छ,’ उनले भने, ‘पैसा भयो भने चुनाव जितिहालिन्छ, किन एक–एक मान्छेको पछि लाग्नुपर्यो भन्ने अहिलेको मानसिकता छ ।’
पञ्चायतकालमा प्रधानमन्त्री राजाप्रति उत्तरदायी हुनुपर्ने भए पनि राजाबाट हस्तक्षेप भने नहुने उनको अनुभव छ । हप्तामा एकपटक राजाले प्रधानमन्त्रीलाई दर्शन दिने, त्यतिबेला केही सवाल भएमा कुराकानी हुने उनले बताए । आफू प्रधानमन्त्री भएका बेला आफूले राखेका कुरामा तत्कालीन राजा वीरेन्द्रले विभिन्न तर्क गर्ने र कन्भिन्स गर्ने तर हस्तक्षेप नगर्ने उनको अनुभव छ ।
बहुदलीय प्रजातन्त्रसँगै देशमा भ्रष्टाचार पनि मौलाउँदै गएको पूर्वप्रधानमन्त्री चन्दको ठम्याइ छ । ‘पञ्चालयतकालमा भ्रष्टाचार हुँदैनथ्यो । धेरैलाई राजाको डर हुन्थ्यो,’ उनले भने । राजाकोमा रिपोर्ट गयो भने हाम्रो भलो हुँदैन भनेर पनि त्यतिबेला भ्रष्टाचार नहुने उनले बताए । त्यतिबेला भ्रष्टाचारका कुनै ठुलो काण्ड नआएको जिकिरसमेत उनले गरे ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि मान्छेको प्रवृत्ति नै फेरिएको चन्दको अनुभव छ । अचेल स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको भन्दै समाचार आउने गरेको तर पञ्चायतकालमा भ्रष्टाचार त परको कुरा, राज्यले दिएको बजेट हाराहारी थप श्रमदानसमेत जोडेर विकासका काम अघि बढ्ने गरेको उनले बताए ।
चन्दले भने, ‘म जिल्ला सभापति भएको बेला डडेल्धुरा–बैतडी सडक धेरैजसो जनश्रमदानबाट निर्माण भएको थियो । मलाई २० लाख रकम दिएर २० किलोमिटर सडक बनाउने जिम्मा दिएर पठाइयो । मलाई साथीहरूले तिमीलाई डुबाउने काम भयो भने । २० लाखले २० किलोमिटर सडक कहाँ बन्छ भनेर पनि भने । मैले देखा जाएगा भनेँ ।’
आफूले त्यतिबेला सो क्षेत्र आसपासका सबै मान्छेलाई ७ दिन जनश्रमदानका लागि आग्रह गरेको उनको भनाइ छ । ‘सबै मान्छेहरू आए । सडकमा माटो फाल्नेमात्र हैन, ढुङ्गाहरू हटाउने काम पनि सबै सम्पन्न भयो,’ उनले भने, ‘त्यो बेला उक्त सडकलाई नमुनाका रूपमा लिइएको थियो । तर अहिले स्थानीय तहमा आफैँ डोजर ल्याउने, पैसा हजम गर्ने प्रवृत्ति बढेको सुन्ने गरेको छु । डोजरले पानीको मुहान सुक्ने, पहिरो जाने अवस्था बढेजस्तो लाग्छ ।’
पञ्चायतमा २ पटक र प्रजातान्त्रिक कालमा २ पटक गरी ४ पटक प्रधानमन्त्री भएका चन्दलाई २०४७ देखि २०६९ सालसम्मको अवधिजस्तै राजा सहितको प्रजातान्त्रिक व्यवस्था नै ठिक लाग्छ । प्रधानमन्त्रीको रूपमा काम गर्न पनि त्यो व्यवस्था ठिक रहेको उनले बताए ।
२०५३ सालमा आफू प्रधानमन्त्री भएका बेला विपक्षी दलले अविश्वासको प्रस्ताव ल्यापछि आफूले खुसीराजीका साथ प्रधानमन्त्री पद छोडेको उनको भनाइ छ ।
तर २०५९ सालमा भने दुई सातामात्रै आफू प्रधानमन्त्री भएकाले त्यतिबेला काम गर्न नपाएको चन्दले बताए । २०४६ सालमा अरुले प्रधानमन्त्री हुन नमानेको अवस्थामा राजा वीरेन्द्रले ‘तिमी पनि सहयोग गर्दैनौ त ?’ भनेपछि आफू प्रधानमन्त्री भएको चन्द बताउँछन् ।
२०४६ सालमा पञ्चायतविरुद्ध राजनीतिक दलहरूले आन्दोलन चर्काएका बेला भारतले राजासामु २ शर्त राखेको तर राजाले ती शर्त नमानेर प्रजातन्त्रलाई नै स्वीकार गरेको चन्दको भनाइ छ ।
उनले भने, ‘भारतबाट एउटा चिठी आएको थियो रे । परराष्ट्र र रक्षा दुई विषयमा मिलेर कुरा गरौँ, निर्णय गरौँ, अरु सबै ठिक हुन्छ भन्ने सन्देश आएको पत्र मरिचमान सिंहले पनि देख्नुभएको थियो । त्यति ठुलो देशसँग यस्तो विषयमा अघि बढ्दा हामी तल पर्न सक्छौँ, म आफ्नो पालामा हाम्रा पुर्खाहरूले आर्जन गरेको स्वतन्त्रता र सार्वभौमिकतालाई जान दिन चाहन्न । आन्दोलनकारीलाई राष्ट्रिय सम्प्रभूतता चाहिएको हो कि होइन ? हो भने म जहिले पनि छाडिदिन्छु भनेर राजा वीरेन्द्रले भन्नुभएको थियो ।’
चन्दका अनुसार कम्युनिस्ट र कांग्रेससँग वार्ता गर्न राजाले दुई टोली परिचालन गरेको र वार्ताका क्रममा राष्ट्रिय सम्प्रभूतामा उनीहरू प्रतिबद्ध भएपछि बहुदल घोषणा गरिदिएका थिए ।
आफू राजावादी भए पनि २०४६ सालपछिको प्रजातान्त्रिक राजनीतिक व्यवस्था राम्रै रहेको चन्दको बुझाइ छ । उनले भने, ‘त्यतिबेला प्रजातन्त्र पनि थियो, राजा पनि थिए । तर अहिले देशमा अभिभावक नभएको जस्तो सबैले महसुस गरेका छन् । केहीदिन अघि नेपाल बार र सर्वोच्च अदालतबिच द्वन्द्व हुँदा पनि कसैले ल तिमीहरू आऊ, झगडा नगर भन्ने अधिकार कसैलाई भएन । हाम्रोजस्तो मुलुकमा त्यस्तो अभिभावकीय संस्था चाहिन्छ कि भन्ने हो ।’
राजाको सक्रिय शासन हैन, अभिभावकीय भूमिका निर्वाह गर्ने संस्था चाहिन्छ भन्ने महसुस भएको चन्दले बताए । उनले भने, ‘संवैधानिक राजसंस्था पनि नभनौँ, साङ्केतिक मात्रै भए पनि राजा राख्नु ठिक हुन्छ जस्तो मलाई लाग्छ ।’
देश गणतन्त्रमा जाँदा पनि सांस्कृतिक राजा राख्ने कि भन्ने बारेमा छलफल भएको उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक दलहरू तयार हुने हो भने गाह्रो नहुने बताए ।
‘संसदबाट केवल सांस्कृतिक भूमिकाको राजा राख्ने र सङ्कट परेको बेलामा गाँठो फुकाउने व्यवस्था राख्न आज जरुरत छ कि भन्ने लाग्छ मलाई,’ उनले भने । राष्ट्रपति पनि रहने र सांस्कृतिक राजा पनि रहने व्यवस्था राख्न सकिने उनको भनाइ छ ।
राजाले विगतदेखि भूमिका निर्वाह गरेका सांस्कृतिक पर्वहरूमा अहिले राष्ट्रपतिले भूमिका निर्वाह गरेको बताउँदै चन्दले भोलि मुसलमान वा क्रिश्चियन राष्ट्रपति भयो भने उनीहरूले त्यस्तो भूमिका निर्वाह गर्न समस्या पर्ने तर्कसमेत गरे । उनले भने, ‘हाम्रो आफ्नै मौलिक विभिन्न परिपाटी छन्, जहाँ राजाले गर्नुपर्ने काम थियो, अहिले त्यो राष्ट्रपतिहरूले भ्याइराखेका छन् । भक्तपुरतिर राजा वा राष्ट्राध्यक्ष नगइ कुनै मन्दिरको ढोका नै नखोल्ने पनि चलन छ । अहिले पनि राष्ट्रपति जुन भूमिकामा छन्, त्यही भूमिकामा रहन्छन् तर राजालाई सांस्कृतिक अधिकार दिएर राख्दा केही बिग्रिँदैन । सुरक्षाकर्मी त अहिले पनि दिइराखिएकै छ । उहाँलाई एउटा सांस्कृतिक संस्थाको रूपमा राख्दा उपयुक्त हुने मेरो विचार छ ।’
राज्यसँग असन्तुष्ट रहेका सीके राउत, विप्लव लगायतलाई जसरी व्यवस्थापन गरियो, त्यसैगरी राज्यप्रति असन्तुष्ट रहेका राजावादीहरूलाई यो तरिकाबाट सम्बोधन गर्न सकिने चन्दको धारणा छ । राजाको रोजाइमा ३ पटक प्रधानमन्त्री भएका चन्द राजसंस्था जानुमा राजाको मात्रै कमजोरी नरहेको तर्क गर्छन् ।
राजदरबार सचिवालयको भूमिका, राजाका सल्लाहकारहरूको कमजोरी र राजनीतिक दलहरूले सम्झौता पालना नगरी धोका दिएका कारण राजसंस्था हट्न पुगेको उनको धारणा छ ।
पूर्वप्रधानमन्त्री चन्दले भने, ‘राजनीतिक दलहरूले राजालाई हामी राख्छौँ भनेका हुन् । मैले एकदुई जनालाई तपाईंहरूले भनेकै हो भनेर सोधेँ । उनीहरूले भनेकै हो, नत्र कहाँ छोड्थे र भनेका थिए । राजनीतिक दलहरूले पनि झुक्क्याए । सल्लाहकारहरूले पनि सही सल्लाह दिन सकेनन् ।’
राप्रपाका संस्थापक नेतासमेत रहेका चन्द अहिलेको राप्रपा नेतृत्वप्रति त्यति सन्तुष्ट देखिएनन् । राजसंस्थाका लागि आन्दोलन गर्ने भनेर जनमत हासिल गर्ने तर सत्तामा जान खुट्टा उचाल्ने प्रवृत्ति रहेको उनको ठम्याइ छ ।
चन्दले असन्तुष्टि पोखे, ‘उनीहरू राजसंस्थाका लागि आन्दोलन गर्ने भन्छन् । त्यसकै आधारमा जनमत पाएको छ । जिल्ला जिल्लाबाट मान्छे काठमाडौँ नआएको पनि होइन तर अर्को दिन घर जाउ भनिदिन्छन् । उनीहरूलाई राख्ने व्यवस्था पनि गर्न सकेका छैनन् । पार्टीको स्ट्यान्ड संवैधानिक राजसंस्था राखेका छन् । ठिक छ, आन्दोलनबाट सम्झौतामा गए बेसै हुन्थ्यो ।’
आफूलाई पार्टीका कार्यक्रममा बोलाए पनि स्वास्थ्यका कारण जान नसक्ने चन्दले बताए । आक्कल झुक्कल पार्टीका केही नेताहरू आउने गरे पनि पहिलेजस्तो अवस्था भने छैन ।
उनले जनताको सोच एकातिर तर भोट अर्कोतिर रहेको सुनाए । ‘मैले देखेको छु– मन्दिरमा पूजा गरिरहेका छन्, मन्दिर निर्माण गर्न चन्दा उठाइरहेका छन्, तर भोटचाहिँ माओवादीलाई दिइरहेका छन् । यो त नमिल्ने कुरा भयो नि, हैन ?’
चन्दले पुनः सांस्कृतिक राजाको विषय दोहोर्याए । त्यो आफूलाई लागेको तर पूर्वराजा र राजनीतिक दलहरू यसबारे के सोच्छन् भन्ने कुरा थाहा नपाएको उनले बताए । यो विषयमा पनि राजा र दलहरूबिच संवाद हुन आवश्यक रहेको उनको भनाइ छ ।
चन्दले भने, ‘सांस्कृतिक राजाबारे आफ्नो विचारमात्र व्यक्त गरेको हुँ । यसका लागि राजनीतिक दलहरू र पूर्वराजा पनि तयार हुने वा नहुने थाहा छैन । यो मेरो सोचाइमात्र हो । सांस्कृतिक राजसंस्था राख्नेबारे राजा र राजनीतिक दलहरूबिच कुराकानी होस् भन्ने मेरो चाहना हो । दुवै पक्षले चाहेमा यो हदसम्म जान सकिन्छ जस्तो लाग्छ ।’
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको अर्को पाटो भनेको साहित्य पनि हो । २०५४ सालमा ‘विसर्जन’ कथासङ्ग्रहका लागि मदन पुरस्कार पाएका उनका धेरै कृति प्रकाशन भएका छन् ।
पछिल्लो समय साहित्यिक क्षेत्रमा पनि खडेरी परेको उनको अनुभव छ । अहिले साहित्य पढ्ने मान्छे पाउन गाह्रो रहेको उनले बताए । अहिले धेरै मानिस मोबाइलमा हराउने गरेको उनको अनुभव छ ।
चन्दले भने, ‘अहिले साहित्यमा पनि सङ्कट आएजस्तो लाग्छ । साहित्य पढिदिने मान्छे चाहिन्छ । अहिले मोबाइल छ, कोही पनि साहित्य पढ्नतिर लाग्दैनन् । हाम्रो समयमा त लाइब्रेरी जाने चलन थियो । शिक्षकले कोर्सबुक पढाउँदा किताबभित्र कथाका किताबहरू राखेर लुकेर पढ्ने गर्थ्यौँ । तर अहिले मोबाइल इत्यादिका कारण त्यस्तो छैन ।’
प्रधानमन्त्रीको कुर्सी टेबलमा छँदा पनि चन्दको साहित्य लेखन रोकिएन । उनले भने, ‘साहित्य भनेको हृदयको उद्गार हो । मनमा भाव आएपछि मैले केही कविता प्रधानमन्त्रीको टेबलमा बसेर पनि रचना गरेको छु । खाना खाएपछि रातितिर साहित्यका लागि समय दिन्थेँ ।’
आफ्नो असली झुकाव साहित्यतिरै रहे पनि भाग्य वा नियतिका कारण राजनीतिमा घचेटिएको चन्दले सुनाए । उनले भने, ‘यता आउँदा पनि ठिकै भयो, जनताको आशिर्वादले राम्रै काम गरेँ ।’
कसैले उनलाई मोबाइलमा साहित्य पठाउने हो भने मानिसले पढ्छन् भनेर पनि सुनाए । तर लामा–लामा साहित्य कसैले मोबाइलमा पढ्ला भन्ने आफूलाई नलागेको उनले बताए । साहित्यका लागि नयाँ पुस्तामा चाख हराउँदै गएको उनको अनुभव छ ।
अहिलेका हाम्रा शिक्षा, किताबहरू पनि विदेशीका लागि कामदार उत्पादन गर्ने खालको रहेको चन्दको बुझाइ छ । सरकारले पनि कला, साहित्यका विषयलाई त्यति महत्त्व नदिएको उनले बताए ।
प्रतिक्रिया