कांग्रेस–एमाले उम्मेदवार छान्दै, माओवादी र नागरिक उन्मुक्ति भोट माग्दै

विराटनगर । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि पनि मतदान हुनेछ ।
उपनिर्वाचनमा कांग्रेस र एमालेले पालिकास्तरबाट उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएका छन् भने माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी भने उम्मेदवार घोषणा गरेर घरदैलोमा हिँडिसकेका छन् ।
माओवादी केन्द्रले पालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउँदा नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
एमाले ग्रामथान गाउँपालिकाका अध्यक्ष सत्यनारायण माझीले पालिकाबाट ११ जनाको नाम जिल्लामा सिफारिस गरेको बताए । सिफारिस हुनेहरूमा तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आशनारायण माझी, तुलसी विश्वास, शिवनारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नविनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठ छन् । कार्तिक २३ गतेसम्ममा प्रदेशले नाम टुङ्गो लगाउने उनले जनाए ।
नेकपा एमालेको जिल्ला समितिको बैठकले भने चार जनाको नाम प्रदेश समितिलाई सिफारिस गरेको जनाइएको छ । जसमा तुलसीराम विश्वास, तुलसी विश्वास, कृष्ण माझी र शिवनारायण माझी छन् । चार जनामध्ये पनि तुलसी विश्वास र शिवनारायण माझीमध्येबाट एक जना उम्मेदवार बन्ने लगभग पक्का रहेको एमाले स्रोत बताउँछ ।
शिवनारायण माझी यसअघि जुवाको खालबाटै पक्राउ परेका थिए । सोही काण्डका कारण उनलाई उम्मेदवार बनाउँदा हारिने डरले एमालेले तुलसी विश्वासलाई उम्मेदवार बनाउन सक्ने स्रोतको दाबी छ ।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने केही दिनभित्रमा उम्मेदवारको अन्तिम टुङ्गो लाग्नसक्ने बताए । ‘प्रदेश पार्टी समितिलाई अन्तिम टुङ्गो लगाउने जिम्मा दिएको छ । छिटै टुङ्गो लाग्ला,’ उनले भने ।
उता, नेपाली कांग्रेसको गत कार्तिक १४ गते बसेको पालिका समितिको बैठकले १३ जनाको नाम सिफारिस गरेको छ । जसमा किरण (तुलसी) विश्वास (कांग्रेसका पालिका सभापति), फूलकुमारी चौधरी (पालिका उपसभापति), राजेश माझी (पालिका उपसभापति), हजारीप्रसाद चौधरी (पालिका कार्यसमिति सदस्य), बलराम सरदार (पूर्व महासमिति सदस्य), चन्दन माझी (महाधिवेशन प्रतिनिधि), सत्यनारायण भगत (महासमिति सदस्य), बादल माझी (क्षेत्रीय प्रतिनिधि), सुवास गच्छदार (क्षेत्रीय प्रतिनिधि), ज्योति गच्छदार (क्रियाशील सदस्य), शेखर विश्वास (क्षेत्र नम्बर ४ (क) प्रदेश सदस्य), उषादेवी चौधरी (महाधिवेशन प्रतिनिधि) र सूर्यनारायण माझी (कोशी प्रदेश सदस्य मनोनीत) छन् ।
कांग्रेसले विभिन्न मापदण्ड बनाउँदै जिल्ला समितिलाई उक्त नाम सिफारिस गरेको हो । जसमा पार्टीको क्रियाशील सदस्य भएको २० वर्ष हुनुपर्ने, भ्रातृ संगठनमा वडा तहदेखि नै काम गरेको हुनुपर्ने, पार्टीले गरेका विभिन्न आन्दोलन र संघर्षमा भाग लिएको हुनुपर्ने र अहिले जनताको प्रत्यक्ष सेवामा खटेकोलाई प्राथमिकता दिनुपर्ने गरी सिफारिस गरेको ग्रामथान कांग्रेसका सभापति विश्वासले बताए ।
उनका अनुसार कांग्रेसले कसको अवस्था के हो भन्ने विषयमा टोलटोलमा जानकारी लिइरहेको छ । जिल्ला कार्यसम्पादन समितिले नै कार्तिक २४ गतेसम्ममा उम्मेदवारको अन्तिम टुङ्गो लगाउने उनले जानकारी दिए ।
- ग्रामथानमा विगतको परिणाम
मङ्सिर १६ गतेका लागि पालिकाहरूमा रिक्त जनप्रतिनिधिको पदपूर्ति गर्न उपनिर्वाचन मिति तोकिएको छ । सोही मितिमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मङ्सिर २ गते उम्मेदवारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको सङ्ख्या २७ हजार ४३९ छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ ।
२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मतमात्रै ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते