शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २० कात्तिक २०८१, २२ : ००
मङ्गलबार, २० कात्तिक २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको २० गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मंगलबार मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरू लाइनमा बस्न थालेका छन् । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ । राष्ट्रपति चुनावअघिको सर्वेक्षणले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखाएको छ र उनीहरूबिच एक अङ्कको मात्रै भिन्नता रहेको छ ।

  • उपनिर्वाचन

आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले ४४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद  रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ ।  

  • ओलीविरुद्ध अभिव्यक्ति

साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे । सो भिडियो धेरैले हेरेका छन् ।

  • स्वर्णलक्ष्मी सहकारी घोटाला

ठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा १२ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा रकम भने भेटिएन । खाताबाट योजनाबद्ध रूपमा रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले ‘अपचलन गर्ने नियत’ राखेर नै रकम निकालेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

  • दूरसञ्चार नियमावली

सरकारले दूरसञ्चार ऐनको विपरीत हुने गरी दूरसञ्चार नियमावलीको संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नियमावलीको दशौँ संशोधन गरेको हो ।

  • सहकारी ठगी प्रकरण

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

  • दोषी ठहर

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।

  • गलैँचा उत्पादन

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली गलैँचा निर्यातबाट ३ अर्बभन्दा बढी रकम भित्रिएको छ । सो अवधिमा ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात हुँदा ३ अर्ब १ करोड ३५ लाख ३८ हजार रुपैयाँ भित्रिएको भन्सार विभागले जनाएको छ ।

  • स्वास्थ्यमा सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

  • सर्वोच्चको फैसला

सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्ध परेको रिट निवेदन खारेज भएको छ । मंगलबार  सर्वोच्च अदालतले उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो । 

 सर्वोच्च अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेको रिट खारेज गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप