बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको रस्साकस्सीमा दलहरू, यस्तो छ माओवादीको तयारी

मङ्गलबार, २० कात्तिक २०८१, २१ : ०७
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । आगामी मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनमा प्रमुख दलहरू एकल प्रतिस्पर्धाको तयारीमा छन् । सोही अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि आवश्यक तयारीमा जुटेको छ । सातै प्रदेशका विभिन्न स्थानीय तहका रिक्त पदका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न माओवादीका स्थानीय समिति आन्तरिक छलफलमा जुटेका छन् ।

मंसिर १६ गते कोशी प्रदेशका ९, मधेस प्रदेशका ७, बागमती प्रदेशका ७, गण्डकी प्रदेशका १, लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ८ र सुदूरपश्चिमका ६ गरी स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

गत महिना बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयसहित उपनिर्वाचनको तयारीमा जुट्न माओवादीले मातहतका समितिलाई परिपत्र पठाएको थियो । बैठकले यसपटक एकल प्रतिस्पर्धा गर्ने र आवश्यक परेमा सत्ता गठबन्धन बाहिरका दलहरूसँग सहकार्य गर्ने नीति तय गरेको छ ।

करिब १० वर्षपछि पहिलो पटक प्रतिपक्षमा पुगेको माओवादीले ०७२ को निर्वाचन यता पहिलो पटक एकल प्रतिस्पर्धामा उत्रिन लागेको हो । सत्ता घटक दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै उपनिर्वाचनमा एकल उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ । रास्वपाले परम्परागत दलहरूसँग चुनावी सहकार्य नगर्ने तर नयाँ वैकल्पिक शक्तिसँग सहकार्य हुन सक्ने बताएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पनि चुनावको तयारीमा जुटिसकेको छ । मधेस केन्द्रित दल लगायत क्षेत्रीय दलहरूले पनि चुनावको तयारी थालेका छन् ।

‘मिसन–०८४’मा ध्यान केन्द्रित गरिरहेका प्रमुख राजनीतिक दलहरूले यो उपनिर्वाचनलाई मत सर्वेक्षणका रूपमा लिएका छन् । वर्षौंदेखि कहिले एमाले र कहिले कांग्रेससँग मिलेर निर्वाचनमा होमिएको माओवादीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । एकातिर एकल प्रतिस्पर्धा गर्दा यसअघि जितेका क्षेत्र जोगाउनुपर्ने दबाब माओवादीलाई छ भने अर्कोतिर कुनै दलसँग गठबन्धन नगरी निर्वाचन जित्न सकिन्छ भन्ने कुरालाई जनमतबाट प्रमाणित गर्नुपर्ने चुनौती पनि छ ।

दुई ठुला दल कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्दा चुनौती थपिए पनि पहिलाको तुलनामा माओवादी जनमत बढ्दै गएको कोशी प्रदेशका इन्चार्ज तथा माओवादीका उपमहासचिव हरिबोल गजुरेलले दाबी गरे ।

‘प्रतिपक्षमा पुगेपछि माओवादीप्रति जनमत बढ्दै गएको छ । लामो समय गठबन्धन गरेर निर्वाचनमा जाँदा आफ्नो पहिचान गुमाएजस्तो भएका थियौँ । ०७२ पछि पहिलो पटक एकल प्रतिपर्धा गर्दैछौँ । अघिल्लो विरासतलाई जोगाएर केही क्षेत्र जित्ने गरी निर्वाचनको तयारी गरेका छौँ’, उनले भने, ‘एकल उम्मेदवारी दिने भनेर पार्टीले नै निर्णय गरिसकेको छ । अब सम्पूर्ण शक्ति आफ्ना उम्मेदवारलाई जिताउन लगाउने छौँ । विपक्षमा रहेका एकीकृत समाजवादी, नेकपा लगायत दलहरूसँग केही क्षेत्रमा सहकार्य भए पनि एकल प्रतिस्पर्धा हुनेछ ।’

माओवादीको आन्तरिक परिपत्रमा एकल प्रतिस्पर्धालाई महत्त्व दिए पनि विपक्षी दलहरूसँग सहकार्यको ढोका उसले खुलै राखेको छ । यस उपनिर्वाचनमा उम्मेदवारी दिने पक्षमा नरहेको नेकपाले माओवादीसहित समाजवादी मोर्चाका उम्मेदवारलाई समर्थन गर्ने नीति लिएको छ । माओवादीले पनि समाजवादी मोर्चा र माओवादी घटकबिच सहकार्य गर्न सक्ने गरी तयारी गरेको छ ।

सातै प्रदेशमा उपनिर्वाचनको तयारी कस्तो छ ? यसै विषयमा माओवादी केन्द्रका प्रदेश इन्चार्ज, अध्यक्ष तथा सम्बन्धित प्रदेशमा कार्यरत स्थायी समिति सदस्य, केन्द्रीय सदस्यहरूसँग रातोपाटीले जानकारी लिएको छ ।

कुन प्रदेशमा के छ तयारी ?

कोशी प्रदेश

कोशी प्रदेशको ७ जिल्लाको ९ वटा स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुँदैछ । जसमध्ये मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादीले प्रमुख महत्त्व दिएको छ । अघिल्लो निर्वाचनमा यो पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवनारायण माझी थारुले ६ हजार ९३ मत पाएका थिए । योपटक माओवादीले यहाँ नवनारायण माझी थारुलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा माओवादीका उम्मेदवार विजयकुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।

माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले ग्रामथान, झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्ष जित्ने दाबी गरेका छन् । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसको एकलौटी भएकाले निर्वाचनको खासै तयारी नगरेको उनले बताए ।

कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा गोपाल थापा उम्मेदवार रहेको नेम्वाङले जानकारी दिए । अन्य पालिकाबाट उम्मेदवारको नाम आउन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार सबै निर्वाचन क्षेत्रमा पार्टीले सर्वेक्षण टोली पठाइसकेको र त्यसको प्रतिवेदनको आधारमा पार्टीले आवश्यक तयारी गर्नेछ ।

‘हामी एकल प्रतिस्पर्धाबाट जित्ने गरी निर्वाचनको तयारीमा लागेका छौँ । कांग्रेस र एमाले बाहेकका साना दलसँग सहकार्य हुन सक्छ’, नेम्वाङले भने ।  

कोशी प्रदेश अन्तर्गत ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालिगुराँस नगरपालिका–८, सुनसरीको गडी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।

मधेस प्रदेश

मधेस प्रदेशका ४ जिल्लाको ६ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपाल नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

यद्यपि मधेस प्रदेशमा पार्टीभित्र प्रारम्भिक रूपमा निर्वाचनको तयारी सम्बन्धमा छलफल भएको तर उम्मेदवार सिफारिस नभएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।

‘निर्वाचनको तयारी सम्बन्धमा प्रारम्भिक छलफल भएको छ । उम्मेदवारी सिफारिस भइसकेको छैन । यस विषयमा इन्चार्जसँग कुराकानी भएको थियो । उहाँ अहिले काठमाडौँमा भएकाले मधेस फर्किएपछि निर्वाचनको योजना बनाएर अगाडि बढ्छौँ’, उनले भने ।

बागमती प्रदेश

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पाँच स्थानीय तहको ७ वटा पदका लागि उपनिर्वाचन हुँदैछ । जसमध्ये काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचन हुँदैछ । यसैगरी काठमाडौँकै कीर्तिपुर नगरपालिका–१ र ४, काठमाडौँ महानगरपालिका–१६,  नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा रिक्त वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । 

बिहीबार माओवादी कीर्तिपुर नगर समितिले वाम बुद्धिजीवी डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वासम्मत उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नगर इन्चार्ज सूर्य सुवेदीले जानकारी दिए ।

महर्जन ०७९ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला उनले चार हजार ९० मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएका थिए ।

तत्कालीन सत्ता गठबन्धन कांग्रेस, माओवादी, एकीकृत समाजवादीबिच चुनावी तालमेलमा सहमति नहुँदा ती दलले एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । परिणामस्वरुप कीर्तिपुरमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले बाजी मारेका थिए । नकर्मी नौ हजार ४३ मत ल्याइ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशरत्न बज्रचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेका थिए ।

यो नगरपालिका बाहेक प्रदेशका अन्य पालिकामा समेत रिक्त पदका लागि उम्मेदवार घोषणा भइसकेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । निर्वाचनमा माओवादीले एकल प्रतिस्पर्धा गर्ने र अधिकांश क्षेत्र जित्ने उनको दाबी छ ।

‘गौरीशंकर गाउँपालिका यसअघि हामीले जितेकै क्षेत्र हो । कीर्तिपुरमा अघिल्लो पटक राम्रै मत ल्याएका थियौँ । यसपटक जित्ने गरी तयारी गरेका छौँ । मकवानपुरमा हामीले जितेको क्षेत्र हो’, पौडेलले भने, ‘नुवाकोटको ककनी गाउँपालिकामा हाम्रो राम्रो जनमत छ । अघिल्लो निर्वाचनमा प्राविधिक कारणले पराजित भएका हौँ । योपटक अधिकांश क्षेत्रमा एकल जित्ने गरी अगाडि बढेका छौँ ।’  

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा गोरखा जिल्लाको गोरखा नगरपालिका–५को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । ०७९ को निर्वाचनमा यहाँ एमालेले जितेको थियो । माओवादी भने तेस्रो स्थानमा थियो । योपटक माओवादीका उम्मेदवारलाई जिताउने गरी योजना अगाडि बढाउने माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको चार जिल्ला गुल्मी, रोल्पा, बर्दिया र कपिबस्तुको ५ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । जसमा रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष, सोही गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष पद रिक्त छ । यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कपिलबस्तुको शुद्धोधन गाउँपालिका–१ मा पनि उपनिर्वाचन हुँदैछ ।

रिक्त स्थानीय तहमा उपनिर्वाचनको तयारी भइरहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । बुधबारसम्म सबै निर्वाचन क्षेत्रबाट स्थानीय समितिले उम्मेदवारका रूपमा तीन जनाको नाम सिफारिस गरेर पठाउने उनले जानकारी दिए ।

‘सबै रिक्त क्षेत्रमा हामीले एकल उम्मेदवारी दिन्छौँ । तीमध्ये रुकुम(पूर्व)को उपाध्यक्ष र वडाध्यक्ष हामीले जितेको क्षेत्र हो । त्यसलाई कायमै राखेर थप दुई वडाध्यक्ष जित्ने हाम्रो लक्ष्य छ’, बरालले भने ।

कर्णाली प्रदेश

माओवादीको आधार क्षेत्र रहेको कर्णालीका ६ जिल्लाका ८ स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदैछ । जसमध्ये दैलेखको महाबु गाउँपालिका अध्यक्ष, सोही जिल्लाको दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यसैगरी कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र सोही जिल्लाको कुसे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, हुम्लाको सर्केगाँड गाउँपालिकाका उपप्रमुख, रुकुपश्चिमका सानीभेरी गाउँपालिका–५ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

०७९ को निर्वाचनमा महबु गाउँपालिकामा कांग्रेसका उम्मेदवार लछुमन गुरुङ निर्वाचित भएका थिए । गुरुङले दुई हजार ९७९ मत ल्याएका थिए । उनका निकटमत प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए । तेस्रोमा एकीकृत समाजवादीका उम्मेदवार जंगबहादुर शाहीले २ हजार २६८ मत पाएका थिए । माओवादीले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको थियो । एकल प्रतिस्पर्धा भएमा जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख आफूले जित्ने माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले दाबी गरिन् ।

‘अघिल्लो निर्वाचनमा गठबन्धन भएकाले एकल उम्मेदवार दिन सकिएको थिएन । योपटक कांग्रेस, एमाले र माओवादीबिच एकल प्रतिस्पर्धा भएमा अघिल्लो विरासत कायमै राखी थप जित्नेगरी तयारी गरेका छौँ । एकल प्रतिस्पर्धा हुँदा अधिकांश क्षेत्र योपटक हामीले सहजै जित्न सक्छौँ’, केसीले भनिन् ।

सबै क्षेत्रमा उम्मेदवार उठाउने विषयमा छलफल जारी रहेकाले बुधबार वा बिहीबारसम्म उम्मेदवार सिफारिस हुने अध्यक्ष केसीले बताइन् । यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ लाई महत्त्व दिइएको उनको भनाइ छ । अघिल्लो निर्वाचनमा ४ र ५ नम्बर वडा बाहेक सबै माओवादीले जितेको थियो । यी दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । योपटक ती क्षेत्रमा पनि माओवादीले जित्ने अध्यक्ष केसीको दाबी छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको ६ जिल्लाका ५ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष र कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

अन्य प्रदेशको तुलनामा यो प्रदेशमा माओवादी जनमत कमजोर रहेकाले खासै तयारी गरिएको छैन । तर रिक्त सबै पदमा उम्मेदवारी दिने केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए ।

‘उम्मेदवार छनोट भइसकेको छैन । यस विषयमा बुधबार पार्टीभित्र छलफल गर्छौं । अघिल्लो निर्वाचनमा माओवादी जनमत कमजोर रहे पनि यसपटक एकल प्रतिस्पर्धा गर्न लागिएकाले केही वडा जित्न सकिने आकलन गरेका छौँ । त्यसैअनुसार हामी निर्वाचनको तयारी गर्छौं’, पुनले भने ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप