अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’बाट सम्मानित गरेको हो ।
इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।
यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।
समारोहमा बोल्दै राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।
ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।
नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई भिसा फ्री सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबिच हुने सरकारी भ्रमणहरूलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
उनले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरूको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरूलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गरे ।
यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।
ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।
कार्यक्रममा विभिन्न देशका राजदूतहरू, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री