कांग्रेस र एमाले दुवै दलले मतदातालाई धोका दिए : प्रभु साह
जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धनको आलोचना गरेका छन् । यी दुई दलले मतदातालाई धोका दिएको समेत उनको भनाइ छ ।
दीपावली तथा छठ पर्वको अवसरमा आजपा धनुषा जिल्लाको आयोजनामा आज जनकपुरधामको पगलाबाबा धर्मशालामा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागी साहले दलतन्त्र कमजोर भएपछि ठुला दुई दल कांग्रेस र एमालेले गठबन्धन गरेको बताए ।
‘पछिल्लो निर्वाचनमा एमाले नेतृत्वमा एउटा गठबन्धन थियो । अर्कोतर्फ कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन थियो । एमालेले मतदातासँग मलाई मत दिनु एमालेको सरकार बनाउँछौँ भन्यो, र कांग्रेसले हामीलाई मत दिनुस् हामी कांग्रेसको सरकार बनाउँछौँ भन्यो । तर एमाले कांग्रेसको र कांग्रेसले एमालेको सरकार बनाउँछौ भनेका थिएनन्,’ साहले भने, ‘तर दुवै दलले मतदातालाई धोका दिए । अनैतिक गठबन्धन गरेपछि के यिनीहरूले मतदातासँग माफी माग्नु पर्दैन, भोट फिर्ता गर्नुपर्दैन ? एउटा दलालले जग्गा किनबेचको बैना लिन्छ तर किनबेच नभएपछि बैना फिर्ता गर्छ । यिनीहरू मतदाताको भोट फिर्ता नगर्ने कस्तो दल भएछन् ।’
कांग्रेस र एमालेको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको र यिनीहरुको कुनै बिचार, सिद्धान्त, रुपरंग केही पनि नमिल्ने उनले बताए । दलतन्त्र नेपालमा बर्बाद हुँदै गइरहेको बताउँदै साहले कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र नै कमजोर भएको बताए ।
‘दलतन्त्र नांगिदै गइरहेको हामी देखिरहेका छौं । दलतन्त्र कमजोर बन्दै गइरहेको छ । मतदाता, जनतालाई धोका दिने कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र कमजोर भएको छ,’ साहले भने, ‘दलतन्त्र कमजोर भयो, लोकतन्त्र कमजोर भयो । जनताका बिच कमजोर भएकाहरु मिल्नुपर्ने बाध्यता आयो । यिनीहरूले जनताको आवश्यकता, चाहना बुझ्न नसकेर कमजोर भएका छन् ।’
कांग्रेस र एमालेको गठबन्धन केही नेताको सीमित स्वार्थका लागि भएको बताउँदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेताकार्यकर्ताहरु सन्तुष्ट नदेखिएको बताए । जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसकेको यो सरकार धेरै दिन नटिक्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी