माडी दरबार क्षेत्रको उत्खनन र संरक्षणका लागि पहल आवश्यक
सेरा दरबार, जुन नुवाकोट जिल्लामा अवस्थित थियो । अहिले भग्नावशेषमा सीमित दरबारको विषय बेलाबेला चर्चामा आइरहन्छ । चर्चामा आउनुको कारण दरबारको सम्पत्ति हडप्ने वा कब्जा गर्ने होडबाजी हो । अहिले यहाँ दरबार नभएपनि दरबारको नाममा जग्गा र त्यो जमिनमा आँखा गाड्नेको लडाइँ चलिरहेको छ । अहिले बलशाली समूहको पैसा र पहुँचका कारण यो सार्वजनिक सम्पत्ति मान्छेहरूको नाममा लालपुर्जा बनेर खल्तीमा पुगेको छ ।
साँच्चै, हामी सार्वजनिक सम्पत्तिको संरक्षणमा उभिन चाहन्छौँ भने त्यस समयको माडी दरबारको पुरातात्त्विक अध्ययन आवश्यक छ ।
जुद्ध शमशेरले बनाएको दरबारलाई माडी दरबार पनि भन्ने गरिन्छ । के इतिहास सबै मेटिन्छ? वा इतिहास जीवित छ । नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक अध्ययनले नुवाकोटको धामीको टिपोट रहेको र उक्त नोटमा नेवारी भाषामा सेराब्यांसी लाइकु भन्ने शब्द उल्लेख गरेको पाइएको छ । लाइकु भनेको शाही दरबार हो । राजा पृथ्वीनारायण शाहको पत्र र लिखतहरूमा मुकाम नुवाकोट माडी लेखिएको छ । मुकाम भनेको केन्द्र हो । ऐतिहासिक दस्ताबेजमा असली किल्ला नुवाकोट दरबार हो र माडी दरबारलाई आरामदायी क्षेत्रको रूपमा उल्लेख गरिएको छ । शिलालेखमा सद्गवक्षदि चित्रम् भनेर उल्लेख गरिएका शब्दहरूले उक्त क्षेत्रमा सुगन्धितवाटिका, कुसुमवाटिका, सेरा बगैँचा, हिटी आदि रहेको सङ्केत गर्दछ ।
राजा पृथ्वीनारायण शाहको जीवनको अन्तिम समय यही माडी दरबारमा बित्यो । राजा राजेन्द्र विक्रम १८७३ देखि १९०४ सम्म यहाँ बसेका थिए र यहाँ शाही परिवारहरू आवतजावत गर्दथे । विक्रम संवत् १९०३ मा माडी दरबार भत्किएको आधिकारिक तथ्यहरू पाइन्छ । यसपछि राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरले दुर्गारत्न नुवाकोट साततले दरबारको जीर्णोद्धार गर्नुका साथै सेराको माडी दरबारलाई आधुनिक पुनर्जन्म पनि दिए । जुद्ध शमशेरले बनाएको त्यही दरबार नै ‘सेरा दरबार’ हो ।
ऐतिहासिक प्रमाणले के भन्छ ?
एक अध्ययन अनुसार तादी (सूर्यमती) नदी किनार लिच्छविकालमा नै ओगटेको क्षेत्र हो । सेरा दरबार नजिकैको दोलखादेवी पूर्वको धामीचौर र अहिले नारायणदेवी माध्यमिक विद्यालय चौरमा संवत् ४८५ को शिलालेख, इस्वी संवत् ७६४ को शिलालेख, सेरा दरबारमा रहेको पृथ्वीनारायण शाहको १८२२ को शिलालेख प्रमाणको रूपमा रहेको छ । मल्लकालमा यहाँ राजभवन थियो भने पृथ्वीनारायण शाहले १८२२ मा यहाँ दरबार बनाउन लगाएका थिए । राजा सधैँ युद्धमा व्यस्त हुने भएकाले यो दरबार बनाउने जिम्मा युवराज प्रताप सिंह शाहलाई दिइएको थियो ।
नेपाल-तिब्बत युद्धमा बहादुर शाहले सेरा दरबारमा रहेर युद्ध मोर्चा सम्हालेको तथ्यबारे बेलायती कम्पनी सरकारका प्रतिनिधि कर्नल किर्कप्याट्रिकले अकाउन्ट अफ दि किङ्डम अफ नेपाल १८११ पृष्ठ-११६-११७ मा लेखेका छन् । विक्रम संवत् १८३३ मा नुवाकोट भैरवीका धामी नानदेवलाई प्रतापसिंह शाहले लेखेको पत्रमा दरबारमा खरको छाना रहेको उल्लेख छ । राणाकालका पछिल्ला लिखत प्रमाणहरूमा राणा प्रधानमन्त्री चन्द्रशमशेर (१९५८-१९८६) को भन्सार अड्डा रहेको र भोटबाट आएका मालसमान र मधेशतिरका व्यापारीहरूको जमघट हुने उल्लेख छ ।
माडी दरबारको जग २५ मिटर लामो, २० मिटर चौडाइ र १.५ मिटर मोटो थियो । यहाँ पर्खाल, ढोका, इनार, देवस्थल, बन्दीखाना, कमलपोखरी, रंगबैठक र अन्य भग्नावशेषहरू भेटिएको थियो । अहिले यहाँ प्राचीन पक्षहरूको अध्ययन भइरहेको छ । अध्ययन अवलोकनका क्रममा फेला परेका सामग्रीमध्ये केही लिच्छकालकालीन ढुङ्गाका प्रस्तरमूर्तिहरू पनि फेला परेका छन् ।
राष्ट्रियकरण आवश्यक
राणाको पतनपछि देशमा राजपरिवारको हालीमुहाली चल्यो । दरबारको शक्तिको आडमा शाह परिवारले सो भूमिमा राज गर्यो । पञ्चायती भूमिसुधारलाई अवरुद्ध गर्दै राजा महेन्द्रकी जेठाजु वसुन्धरा शाह र हेलेन शाहले सो जग्गालाई गौरी शङ्कर फार्मिङको नाममा लग्यो । नापी पूर्व यो ऐलानी बगैँचा पोखरी थियो, विक्रम संवत् २०३६ सालको नापीले यो जग्गा शाहहरूको नाममा दर्ता गरिदिएको हो ।
अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएको छ । नेपालमा भएको बृहत् शान्ति सम्झौता २०६३ ले राजपरिवार र राजदरबारको सम्पत्ति नेपाल ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । नेपालमा संविधान २०७२ बमोजिम प्रतिनिधिसभाले नेपाल ट्रस्ट ऐन, २०६४ जारी गरी सम्बन्धित काम अगाडि बढाएको छ । राजा स्वयम्ले छोडेको नारायण हिटी राजदरबार सङ्ग्रहालय बनिसकेको छ तर सत्ता र पैसाको आडमा पृथ्वीनारायण शाहको माडी दरबारको सम्पत्ति किन र बेच गर्न र व्यक्तिले कब्जा गर्न पाउँछ ? नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले प्राचीन क्षेत्रको संरक्षणको व्यवस्था गरेको छ । ऐनअनुसार माडी दरबार क्षेत्रको उत्खनन र संरक्षणका लागि पहल आवश्यक छ ।
नेपाली शब्दकोश अनुसार सेरा भनेको ठुलो खेत वा राजाले आफैले खेती गरेको खेतलाई बुझाउँछ। नदीको किनारमा रहेको एउटा फरक ठाउँलाई माडी भन्ने गरिन्छ । त्यसैले यसबेला राजाको दरबार माडी दरबार र राणाले बनाएको दरबार सेरा दरबार हो । सबै पक्ष मिलेर यो ऐतिहासिक माडी दरबारको उत्खनन गर्न ढिलाइ गरिनु हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान