अमेरिकी राष्ट्रपति निर्वाचन : धेरै मत पाएर पनि हार्छन्, किन महत्त्वपूर्ण छ इलेक्टोरल कलेज ?
वासङिटन डीसी । अमेरिकामा मंगलबार अर्थात् आज आम निर्वाचन हुँदैछ । कसलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउने भनेर अमेरिकी जनताले सिधै मतदान गर्दैनन् । यसका साटो उनीहरूले कुनै एक समूहका सदस्य अर्थात् इलेक्टोरल कलेजका लागि मत दिन्छन् ।
पछि इलेक्टोरल कलेजका सदस्य ‘इलेक्टर’ले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्छन् । इलेक्टोरल कलेज एउटा यस्तो व्यवस्था हो जसमा कम भोट पाउने उम्मेदवारले पनि चुनाव जित्न सक्छ । अमेरिकी इतिहासमा जनताको ‘पपुलर मत’ नजितिकनै राष्ट्रपतिको चुनाव जितेका पाँच जना राष्ट्रपति छन् । त्यसो गर्ने सबैभन्दा पछिल्लो राष्ट्रपति सन् २०१६ मा डोनल्ड ट्रम्प थिए ।
स्थापनाकालदेखि नै अमेरिकाले राष्ट्रपति चयन गर्न इलेक्टोरल कलेजको प्रयोग गर्दै आएको छ । यसले कसरी काम गर्छ, यसको इतिहास र राष्ट्रपति चुनावको नतिजामा मतदाताहरूले कस्तो भूमिका खेल्छन् ? यसबारे जानौँ ।
के हो इलेक्टोरल कलेज ? यसले कसरी काम गर्छ ?
इलेक्टोरल कलेज अमेरिकी चुनावमा एउटा महत्त्वपूर्ण प्रक्रिया हो । इलेक्टोरल कलेज मार्फत अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा आ–आफ्नो राज्यका निर्वाचक (इलेक्टर्स)मार्फत राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन् । यसरी अमेरिकी जनताले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न इलेक्टोरल कलेजलाई मतदान गर्छन् । पछि यी इलेक्टरले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूलाई समर्थन गर्छन् । अमेरिकामा कुल ५३८ इलेक्टर छन् । यीमध्ये अमेरिकाका सबै ५० राज्यको जनसंख्याका आधारमा ५३५ इलेक्टर र राजधानी वासिङटन डीसीबाट अतिरिक्त तीन इलेक्टर हुन्छन् ।
डीसी बाहेक यी ५३५ इलेक्टोरल भोटलाई यसरी बुझौँ– अमेरिकी संसदमा कुल सिट संख्या ५३५ छ । यसमध्ये ४३५ प्रतिनिधि सभाका सदस्य हुन्छन् भने सय जना सिनेटका सदस्य हुन्छन् । नियम अनुसार हरेक राज्यमा जनसंख्याका आधारमा कम्तीमा एक अधिकतम् सांसद पनि हुन सक्छन् । प्रत्येक राज्यबाट सिनेटर भने २÷२ जना हुन्छन् । यसको मतलब चुनावमा प्रत्येक राज्यबाट कम्तीमा तीन इलेक्टोरल भोट हुनेछन् । राष्ट्रपतिको निर्वाचन जित्न उम्मेदवारले कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ ।
अमेरिकाका संस्थापकहरूले सन् १७८७ को संविधानमा इलेक्टोरल कलेजको स्थापना गरेका थिए । ‘इलेक्टोरल कलेज’ शब्द नदेखिएको बरु ‘निर्वाचक’ शब्द उल्लेख गरेको राष्ट्रिय अभिलेखले देखाउँछ । सन् १८०४ मा १२ औँ संशोधनमार्फत इलेक्टोरल कलेजका केही नियम परिवर्तन गरियो । यस अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपतिका लागि छुट्टाछुट्टै चुनावी मतदानको आवश्यकता हटाइएको थियो ।
निर्वाचनमा मतदाताबाट अलग इलेक्टर्सको भूमिका के हुन्छ ?
आम चुनाव अघि, अमेरिकाका सबै राज्यहरूले मतदाताहरूको सूची छनोट गर्छन् । सामान्यतया नोभेम्बरको पहिलो साता मतदाताले मतपत्र वा अन्य माध्यमबाट भोट हाल्छन् । यो ‘लोकप्रिय भोट’ जित्ने उम्मेदवारले इलेक्टोरल कलेजमा इलेकटर्सले रिपब्लिकन, डेमोक्रेट वा तेस्रो पार्टी कसलाई उम्मेदवार बनाउने भन्ने तय गर्छन् ।
अधिकांश राज्यमा विनर–टेक्स–अल सिष्टम लागु हुन्छ । यसको मतलब राज्यमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले राज्यका सबै इलेक्टोरल भोट जित्छ । सन् २०२० मा करिब चार करोड जनसंख्या भएको राज्य क्यालिफोर्नियामा कुल ५५ इलेक्टोरल भोट थियो । यहाँ कुल १ करोड ७१ लाख मानिसले मतदान गरेका थिए । जसमध्ये १.११ करोड भोट बाइडेनको खातामा गएको थियो भने ६० लाख मत ट्रम्पले पाए ।
क्यालिफोर्निया जस्तै अधिकांश राज्यमा विनर–टेक्स–अल प्रणाली लागु भएको छ । अर्थात् त्यहाँ पनि सबैभन्दा धेरै मत प्राप्त गर्ने जो बाइडेनले क्यालिफोर्नियाका सबै ५५ इलेक्टोरल भोट पाए । चार इलेक्टर भएको मायने र पाँच इलेक्टर भएको नेब्रास्काले आफ्नो इलेक्टोरल मतलाई हरेक उम्मेदवारले कति पपुलर वा जनताको मत पाएका छन् भन्ने आधारमा बाँड्छन् ।
राष्ट्रपतिका लागि मतदान गर्न डिसेम्बरको मध्यमा मतदाताहरू आ–आफ्नो राज्यमा भेला हुन्छन् । यो बैठक डिसेम्बरको दोस्रो बुधबारपछि आउने पहिलो मंगलबार हुन्छ । चाखलाग्दो कुरा के छ भने अमेरिकामा मतदाता जो प्रति बचतबद्ध छ उही उमेदवारलाई मत दिन बाध्य पार्ने कानुन छैन । यिनीहरूलाई फेथफुल इलेक्टर भनिन्छ । आफूले जुन पार्टीको उमेदवारबाट शपथ लिएको हो, यिनीहरूले उसैलाई मत दिन्छन् भन्ने विश्वास गरिन्छ । यी इलेक्टरको चयन दलहरू आफैँले गर्छन् ।
राज्यले कति इलेक्टोरल भोट पाउँछ भन्ने कसरी तय हुन्छ ?
५० राज्य र वासिङटडन डीसी मिलाएर अमेरिकामा ५३८ इलेक्टर छन् । हरेक राज्यलाई यसको सांसद संख्याको आधारमा इलेक्टर बाँडफाँट गरिन्छ । अलास्का, डेलावेयर, नर्थ डकोटा, साउथ डकोटा, भर्मन्ट र वायोमिङ जस्ता सबैभन्दा कम जनसंख्या भएका राज्यहरूमा तीन–तीन जना इलेक्टर छन् । यहाँबाट सदनमा एक प्रतिनिधि सदस्य र दुई सिनेटर छन् । सबैभन्दा धेरै जनसंख्या भएको क्यालिफोर्नियामा ५४ इलेक्टोरल भोट छ । यसबाहेक वासिङ्टन डिसीमा पनि तीन जना इलेक्टर छुट्ट्याइएको छ ।
राज्यका इलेक्टर संख्या घटबढ भइरहन्छ ?
राज्यहरूलाई सन् २०२४ को इलेक्टोलर भोट सन् २०२० को जनगणनाको आधारमा बाँडफाँट गरिएको छ । प्रत्येक राज्यमा कम्तीमा तीन इलेक्टर छन् । वासिङ्टन, डिस्ट्रिक्ट अफ कोलम्बियाले तीन मत पाएको छ । यसरी देशभरमा कुल ५३८ इलेक्टोरल भोट छन् । राष्ट्रपति चयन गर्न यसमध्ये कम्तीमा २७० को मत चाहिन्छ । जनसंख्यामा आउने हेरफेरका कारण राज्यमा इलेक्टरको संख्या घटबढ हुन्छ । सन् २०२० को जनगणना पछि टेक्सासले दुई मात्रै इलेक्टोरल भोट पाएको छ भने अन्य पाँच राज्यले एक–एक इलेक्टर पाएको छ । सात राज्यमा एक/एक इलेक्टोरल भोट घटेको छ ।
कसले छान्छ इलेक्टर ? यिनीहरू को हुन्छन् ?
आमनिर्वाचन अघि उनीहरू सम्बद्ध रहेको राजनीतिक दलले इलेक्टर्स छान्छ । इलेक्टरको एउटै मात्र काम हुन्छ, नोभेम्बरको चुनावपछि आफ्नो राज्यमा बैठक गर्नु अनि राष्ट्रपति र उपराष्ट्रपतिको लागि एक/एक मत हाल्नु । प्रत्येक पार्टीको इलेक्टरको सूचीमा राज्य र स्थानीय स्तरमा निर्वाचित पदाधिकारी, पार्टीका नेता, सामाजिक कार्यकर्ता र पार्टीसँग सम्बन्धित अन्य व्यक्तिहरू समावेश हुन सक्छन् । राष्ट्रिय अभिलेखअनुसार सामान्यतया उनीहरूको राजनीतिक पार्टीप्रति यिनीहरूको सेवा र समर्पणलाई मान्यता दिन यिनीहरूको चयन गरिन्छ ।
इलेक्टर्स मत बराबर भयो भने के हुन्छ ?
यदि कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न सकेन भने प्रतिनिधिसभाले ‘कन्जेन्टेन्ट इलेक्शन’मार्फत राष्ट्रपतिको निर्वाचन गर्छ । यसमा शीर्ष तीन उम्मेदवारको आधारमा प्रतिनिधिसभाका सदस्यले राष्ट्रपतिका लागि मतदान गर्छन् । तर अमेरिकाको अहिलेसम्मको इतिहासमा तीन पटक मात्र यस्तो भएको छ । अन्तिम पटक यस्तो भएकै झण्डै २ सय वर्ष भइसक्यो ।
राष्ट्रपति इलेक्टर्सले छान्ने भए जनताले किन भोट हाल्छन् ?
अमेरिकी इतिहासमा कम लोकप्रिय भोट पाएर पनि चुनाव जितेर राष्ट्रपति बनेका पाँच व्यक्ति छन् । यो सूचीमा पछिल्लो नाम ट्रम्पको छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनले ट्रम्पको तुलनामा २८ लाख बढी मत पाएकी थिइन् । तर प्रमुख राज्यमा हिलारीले हारिन् । इलेक्टोरल कलेजमा ट्रम्पले ३०६ मत पाउँदा हिलारीले २३२ मतमात्रै पाइन् । सन् २०२० को चुनावलाई हेर्ने हो भने लोकप्रिय भोट र इलेक्टोरल कलेज दुवैमा ट्रम्पले बाइडेनसँग हारेका थिए ।