मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
अमेरिकी चुनाव

अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ?

मङ्गलबार, २० कात्तिक २०८१, १४ : ४७
मङ्गलबार, २० कात्तिक २०८१

वासिङटन डीसी । सन् २०२४ को सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अमेरिका पुगेर अमेरिकी नेताहरूसामु रुससँगको युद्धमा आफ्नो जितको योजना प्रस्तुत गरे । उनले यो योजना आफ्नो देशको संसदमा पेस गर्नु केही साताअघि अमेरिकी नेताहरूसमक्ष प्रस्तुत गरेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उनको रणनीति थियो ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दा उपराष्ट्रपति तथा आजको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सँगै उभिएकी थिइन् । रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुनै पनि निर्णय युक्रेनको सहमतिविना गर्न नसकिने ह्यारिसले बताएकी थिइन् ।

त्यसको एक दिनपछि राष्ट्रपति जेलेन्स्कीले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा भेटे । यस भेटमा डोनाल्ड ट्रम्पले भने, ‘यो युद्ध छिटै अन्त्य हुनुपर्छ किनभने युक्रेन र यसका राष्ट्रपतिले ठुलो कठिनाइको सामना गरिरहेका छन् ।’

त्यति नै बेला जेलेन्स्कीले चाहिँ अमेरिका युद्धभर नै मजबुतीका साथ उभिएको र आफूलाई ऊसँग पूरै आशा भएको बताएका थिए । अमेरिकाको भावी राष्ट्रपतिले युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्छ ? यसैबारे आज हामी चर्चा गर्नेछौँ ।

रूस–युक्रेन युद्धको हालत

‘युक्रेनले कुनै पनि मूल्यमा आत्मसमर्पण गर्नेछैन, किनकि रुसले युक्रेनी सरकारको अस्तित्व नामेट पार्न पार्न चाहन्छ,’ युक्रेनी अनुसन्धानकर्ता तथा बौद्धिक समूह डेमोक्रेटिक इनिसिएटिभ फाउन्डेसनको क्षेत्रीय द्वन्द्व र सुरक्षा अध्ययनका प्रमुख मारिया जोल्किना भन्छिन् । उनले अगाडि भनिन्, ‘तर युक्रेनका धेरै सहयोगीहरू, विशेष गरी अमेरिकाको यही सोच छ कि कम्तीमा युद्धविरामको सम्भावनालाई रणनीतिक दृष्टिकोणबाट विचार गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय समुदायले युक्रेनको हिस्सा मानेको क्रिमियालाई सन् २०१४ मा रुसले गाभेको थियो र त्यसपछि २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्‍यो ।

कयौँ वर्षदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन ऐतिहासिक रूपमा रुसको हिस्सा भएकाले यसलाई छुट्टै देश ठान्दिनँ भन्ने दाबी गर्दै आएका छन् । रुसको जितको अर्थ युक्रेनले स्वतन्त्र राष्ट्रको रूपमा काम गर्न नसक्ने मारिया जोल्किना बताउँछिन् । उनी भन्छिन्, ‘रूसको उद्देश्य अझै पनि उस्तै छ । ऊ युक्रेनी सहरहरूलाई यस्तो क्षति पुर्याउन चाहन्छ कि त्यहाँका मानिसहरूलाई बस्न गाह्रो होस्, खास गरी जाडोका दिनहरूमा ।’

जोल्किनाका अनुसार अगस्टमा युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण र कब्जा गर्न थालेको थियो । दोस्रो विश्वयुद्धपछि यस्तो पहिलो पटक भएको थियो । यस हमलाले रुसलाई हक्कबक्क पारिदियो । यसको उद्देश्य युक्रेनले आफ्ना समर्थकहरूलाई युद्धमा युक्रेनलाई गरेको सहयोगले उनीहरूलाई फाइदा भइरहेको छ भनी आश्वासन दिन सकोस् भन्ने थियो । तर पछि रुसले उक्त क्षेत्रको एक चौथाई भूभाग पुनः कब्जा गर्‍यो अनि रुसी सेना पूर्वी युक्रेनमा प्रवेश गर्‍यो ।

युक्रेनमा रुसको निरन्तरको प्रगति

‘बिस्तारै रुसी सेना दोनेत्स्क क्षेत्रका भित्री सहरहरूसम्म पुगेका छन् । उनीहरू युक्रेनको केन्द्रसम्म पुग्न चाहन्छन्,’ जोल्किना भन्छिन् । उनका अनुसार पाक्रोस्क र बुग्लेदारमाथि कब्जा गरेपछि रुसी सेनाका लागि दोनेत्स्क क्षेत्रका क्रोमोतोर र बागलान्स्क सहर पुग्ने बाटो खुलेको छ । त्यहाँबाट उनीहरूलाई युक्रेनको मुख्य औद्योगिक क्षेत्र निप्रोभ क्षेत्रमा पुग्न सजिलो हुनेछ ।

उनी भन्छिन्, ‘यदि यस्तो भयो भने, २०२२ पछि पहिलो पटक युक्रेनी सेना सबैभन्दा कठिन अवस्थामा हुनेछ ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सांसदहरूलाई प्रस्तुत गरेको विजय योजनामा कयौँ पक्ष छन् । पहिलो त युक्रेनलाई नेटोको सदस्यता दिइनेछ । तर यसका लागि सबै नेटो सहयोगीहरूको सहमति आवश्यक छ । अर्कोतर्फ युक्रेन नेटोमा सामेल भयो भने, पश्चिमी देशहरू रसियासँग प्रत्यक्ष द्वन्द्वमा आउनेछन् । जोल्किना भन्छिन्, ‘युक्रेनले पश्चिमी देशहरूसँग यो पनि माग गरेको छ कि उनीहरूले दिएको लामो दूरीको मिसाइलहरूलाई रुसको आन्तरिक क्षेत्रमा आक्रमण गर्न अनुमति दिनुपर्छ ।’

युक्रेनले रुसविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध खासै प्रभावकारी नभएको भन्दै उसकाविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाउन माग गरेको छ ।

पर्याप्त सहयोग पाएमा अर्काे वर्ष युद्ध अन्त्य गर्न सक्ने जेलेन्स्कीले भनेका छन् । युक्रेनले पाइरहेको सहायता अप्ठ्यारोमा पर्ने भएकाले उसलाई पनि अमेरिकाको भावी राष्ट्रपति को होला भन्ने चिन्ता रहेको जोल्किना बताउँछिन् ।

डेमोक्र्याट पार्टीको अडान

अमेरिका युक्रेनको सार्वभौमसत्ताको सबैभन्दा ठुलो समर्थक भएको र राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस यसका लागि सधैँ प्रतिबद्ध रहेको डेमोक्रेटिक पार्टीका रणनीतिकार तथा राजनीतिक विश्लेषक मेरी एन मार्स बताउँछन् । डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिका उम्मेदवार सुरुदेखि नै युक्रेनसँग सम्बन्धित निर्णयहरूमा संलग्न छिन् । मेरी एन मार्श भन्छिन्, ‘युक्रेनसँग सम्बन्धित हरेक बैठकमा उनी सहभागी भएकी छिन् । उनले जेलेन्स्कीलाई रुसी आक्रमणको गुप्तचर जानकारी पनि दिइरहेकी छिन् ताकि उनी यसको सामना गर्न आवश्यक तयार हुन सकुन् ।’

जेलेन्स्कीलाई ह्यारिसले गुप्तचर मामिलामा पनि सल्लाह दिइरहेकी छन् । ह्यारिस राष्ट्रपति बनिन् भने यसले युक्रेनविरुद्ध रुसी आक्रमण अन्त्य गर्न युक्रेनलाई धेरै मद्दत गर्ने मार्शको बुझाइ छ । दर्जनौँ देशले युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता दिइरहेका छन् । तर युक्रेनलाई सबैभन्दा ठुलो सहयोग अमेरिकाले दिइरहेको छ । यो महिना अमेरिकाले युक्रेनलाई ४२ करोड डलरभन्दा बढीको सैन्य सहायता दिएको थियो ।

युक्रेनलाई कसरी सहयोग गर्दैछ अमेरिका ?

अब युक्रेनका निजी कम्पनीहरू पनि हतियार उत्पादनको क्षेत्रमा आउन थालेका छन् । तर युक्रेनलाई देशका धेरै क्षेत्रहरू सञ्चालन गर्न र आफ्ना कर्मचारीहरूलाई तलब दिन सहयोगी राष्ट्रहरूबाट आर्थिक सहयोग चाहिन्छ । मार्शका अनुसार युद्ध सुरु भएदेखि नै युक्रेनलाई सहयोग गर्ने सम्बन्धमा अमेरिकाका दुवै पार्टीबिच सहमति भइरहेको छ ।

उनी भन्छिन्, ‘डेमोक्रेटिक पार्टीका सांसदहरूबाहेक रिपब्लिकन पार्टीका अधिकांश सांसदले पनि युक्रेनलाई दिइएको सहायता प्याकेजलाई समर्थन गर्दै आएका छन् ।’

तर यो काम पनि सहज भने रहेन । ६१ अर्ब डलरको सहायता प्याकेज स्वीकृत गर्न महिनौँ ढिलाइ भएको थियो । धेरै रिपब्लिकन सांसदले अवैध आप्रवासन रोक्न मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन पैसा प्रयोग गर्नुपर्ने बताइरहेका छन् । धेरै रिपब्लिकन मतदाता यो सोचलाई पनि समर्थन गर्छन् ।

तर यस पटकको निर्वाचनमा कमला ह्यारिस राष्ट्रपति निर्वाचित भइन् भने युक्रेनको समर्थन यसरी नै जारी रहला कि वा यसमा कुनै परिवर्तन आउला ? अहिले नै यसको जवाफ दिन गाह्रो रहेको मार्श बताउँछिन् ।

उनले भनिन्, ‘युक्रेनी राष्ट्रपतिसँग ह्यारिसको राम्रो सम्बन्ध छ तर जसरी उनले इजरायल–गाजा युद्धमा युद्धविरामको लागि जोड दिइरहेकी छन्, हुन सक्छ उनले युक्रेनी युद्धमा पनि युद्धविराममाथि जोड दिन्छिन् ।’

ह्यारिसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कहिल्यै कुरा गरेकी छैनन् । तर राष्ट्रपतिको निर्वाचनमा उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प पुटिनसँग सम्पर्कमा छन् ।

कस्तो होला रिपब्लिकनको रवैया ?

एट्लान्टिक काउन्सिलको स्कोक्राफ्ट सेन्टर फर स्ट्राटेजी एन्ड सेक्युरिटीका उपाध्यक्ष म्याथ्यू क्रोनिगले रिपब्लिकन विदेश नीतिमा धेरै पुस्तक लेखेका छन् । ट्रम्पले युक्रेन युद्ध रोक्न चाहेको उनी स्मरण गराउन चाहन्छन् । उनी भन्छन्, ‘जेलेन्स्कीलाई सम्झौता गर्न आग्रह गर्छु अन्यथा अमेरिकाले सहायता रोक्नेछ भनेर युक्रेनलाई भन्छु भनेर उनले बयान दिइसकेका छन् ।’

तर ट्रम्पले पुटिनलाई पनि सम्झौता गर्न आग्रह गर्ने उनको तर्क छ । अन्यथा अमेरिकाले युक्रेनलाई पहिले भन्दा धेरै सहायता दिन थाल्नेछ । त्यसोभए प्रश्न उठ्छ– यो कस्तो प्रकारको सम्झौता बन्ला ?

म्याथ्यु क्रोनिगका अनुसार ट्रम्पका नजिकका केही व्यक्तिहरू सम्झौताअनुसार युक्रेनलाई सैन्य सहायता जारी राखेर सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ताकि रसियाले भविष्यमा फेरि आक्रमण गर्न नसकोस् भन्ने चाहन्छन् । ‘तर यसको अर्थ यो होइन कि रुसले युक्रेनको अतिक्रमण गरेको भूमि आफ्नो नियन्त्रणमा राख्नुपर्छ । बरु अन्तर्राष्ट्रिय कानुनअनुसार युक्रेनलाई आफ्नो भूमि फिर्ता गरिनेछ । अहिलेको अवस्थालाई हेर्दा यो व्यावहारिक दृष्टिकोण हुन सक्छ,’ उनी भन्छन् ।

पुटिनलाई लिएर अन्योल

पुटिनले कहिले र के गर्नेछन् भन्न गाह्रो छ र डोनाल्ड ट्रम्पमा पनि यही कुरा लागु हुन्छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले धेरै विवादास्पद बयान दिएका थिए, यस्तै खालका निर्णय र धम्की पनि दिए । आणविक हतियार बनाएमा इतिहासमा यसअघि कहिल्यै नघटेको नतिजा भोग्नुपर्ने चेतावनी पनि उनले इरानलाई दिएका थिए । उनका केही पूर्वअधिकारीका अनुसार युक्रेनमा आक्रमण गरे त्यसको नतिजा नराम्रो हुने ट्रम्पले पुटिनलाई बताएका थिए ।

त्यसकारण, पुटिन पनि सतर्क हुनेछन् । ट्रम्पले के गर्लान् भनेर भविष्यवाणी गर्न गाह्रो छ भन्ने उनलाई थाहा छ ।

तर चुनावी अभियानमा युक्रेनलाई दिइने सैन्य सहायताबारे ट्रम्पले के भनेका छन् भन्ने कुरा पनि महत्त्वपूर्ण छ । म्याथ्यू क्रोनिगका अनुसार, ‘ट्रम्पले भनेका छन् कि अमेरिकाले युक्रेनलाई धेरै सहायता दिइरहेको छ । एक पटक उनले जेलेन्स्की विश्वको सबैभन्दा राम्रो सेल्सम्यान हो भनेर पनि भनेका थिए । वाशिंगटन आउँछन् अनि अरबौं डलरको प्याकेज लिएर जान्छन् ।’

सन् २०१८ मा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अमेरिकालाई नेटोबाट निकाल्ने धम्की पनि दिएका थिए । युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायता रोकियो भने के हुन्छ भनेर सहयोगी देशहरूमा चिन्ता भएको म्याथ्यू क्रोनिग मान्दछन् । तर युरोप अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकाले अमेरिकाले युरोपको साथ छोड्छ भन्ने लाग्दैन । म्याथ्यू क्रोनिगका अनुसार अहिले ट्रम्पको चुनाव जित्ने सम्भावना ५० प्रतिशत छ, जसको अर्थ उनले आगामी केही महिनामा युक्रेनमा सम्झौता गर्ने सम्भावना पनि ५० प्रतिशत छ । त्यसले सबैलाई असर गर्ने भएकाले यस सम्झौताको प्रकृतिबारे विश्लेषक र सरकारी अधिकारीले सोच्न थाल्नुपर्ने उनको भनाइ छ ।

खतराको घण्टी

अहिले रुस–युक्रेन युद्धमा रुसले अग्रता लिइरहेको देखिएको बेलायतस्थित थिंक ट्याङ्क रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका सैन्य विज्ञानका निर्देशक म्याथ्यु साभिल भन्छन् । उनी भन्छन्, ‘रुस कहिले सम्झौताको लागि तयार होला भन्न गाह्रो छ । रुसको लक्ष्य अहिले पनि उही छ । एउटा लक्ष्य युक्रेनमा सत्ता परिवर्तन हो, अर्काेचाहिँ युक्रेन नेटो वा यूरोपेली संघको सदस्य नबनोस् । यस्तो भयो भने रुसको लागि सुरक्षाको सवाल खडा हुनेछ, रुसको उद्देश्य अहिले पनि यही छ ।’

युक्रेनको सफलता यही हो कि उसले आफ्नो अधिकांश भूमि आफ्नो नियन्त्रणमा राखेको छ र रुसलाई आफ्नो लक्ष्यबाट टाढा राखेको छ । तर राष्ट्रपति बाइडेनको कार्यकालको अन्त्य र नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने बिचको अन्तराल युक्रेनको लागि जोखिमको समय हुन सक्ने साभिल भन्छन् । बाइडेनले त युक्रेनलाई दिइने सहायता त्यहाँसम्म पुग्छ भन्ने सुनिश्चित गरेका छन् । तर  युक्रेनको समस्या हतियारको आपूर्ति मात्र नभएर युद्धमा मारिएका सैनिकको स्थानमा नयाँ सिपाही भर्ना गर्नु पनि रहेको साभिलले बताए ।

रसियाले अर्काे वर्षसम्म ट्याङ्क र हतियारको आपूर्ति बढाउनुपर्ने छ ताकि युद्धमा उसको सैन्य संसाधनको क्षतिपूर्ति हुन सकोस् । युरोपेली संघका २७ सदस्य राष्ट्रहरूले यस वर्षको अन्त्यसम्ममा युक्रेनलाई ३८ अर्ब डलर ऋण दिने निर्णय गरेका छन्, जसलाई रुसको कब्जामा लिएको पैसाबाट ब्याजसहित दिइनेछ ।

युक्रेनका लागि अमेरिकाको समर्थन आवश्यक छ तर युरोपियन युनियनलाई थप सहयोगका लागि मनाउनुपर्ने धारणा साभिल राख्छन् । उनले भने, ‘युरोपले रुसको तुलनामा रक्षा स्रोतमा धेरै खर्च गर्छ, तर यो पैसा कसरी खर्च हुन्छ भन्ने प्रश्न हो । दोस्रो, यदि कुनै कारणले अमेरिकी सहायता आउन छाड्यो भयो भने युक्रेनलाई युरोपको सहयोग जारी राख्नुपर्नेछ ।’

अमेरिकी भ्रमणपछि राष्ट्रपति जेलेन्स्कीले नेटो प्रमुखसँग पनि भेट गरेका थिए र ब्रसेल्समा ईयू नेताहरूलाई आफ्नो विजय योजना उनले प्रस्तुत गरेका थिए ।

अमेरिका र युरोपले समान सहयोग गर्ने प्रतिबद्धता गरे पनि युरोपले आफ्नो बाचाअनुसार पर्याप्त सहयोग गर्न नसकेको साभिलले बताए । युरोपमा यस विषयमा राजनीतिक इच्छाशक्तिको कमी छ भनेर मानिसहरूले यो प्रश्न पनि उठाइरहेको उनको भनाइ छ । त्यसोभए अब हाम्रो मुख्य प्रश्नमा फर्काैं– युक्रेन युद्धमा अमेरिकाको भावी राष्ट्रपतिले कस्तो प्रभाव पार्न सक्छ ?

अमेरिकी राष्ट्रपतिका दुवै उम्मेदवार युद्ध अन्त्य होस् भन्ने चाहन्छन् । रुसी राष्ट्रपति पुटिनलाई उनको लक्ष्य हासिल गर्नबाट रोक्न कुन रणनीति अपनाउनेछन् भन्ने ठुलो प्रश्न हो । राष्ट्रपति जेलेन्स्कीले कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई आफ्नो विजय योजना प्रस्तुत गरिसकेका छन् । उनीहरूलाई सबैभन्दा बढी सहयोग गर्ने अमेरिकाले उनीहरूलाई यो युद्धमा कति सहयोग गर्छ भनेर अब केही दिनमै युक्रेनका जनताले थाहा पाउनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप