बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
छिमेक

प्रधानन्यायाधीशको घर पूजामा प्रधानमन्त्री पुगेपछि भारतमा हंगामा

विवाद बढेपछि चन्द्रचुडले दिए प्रस्टीकरण
मङ्गलबार, २० कात्तिक २०८१, १३ : ००
मङ्गलबार, २० कात्तिक २०८१

नयाँ दिल्ली । भारतका प्रधान न्यायाधीश धनञ्जय यशवंत चन्द्रचुडले घरको पूजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याएको बारे विवाद बढेपछि प्रस्टीकरण दिएका छन् ।

११ सेप्टेम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधान न्यायाधीश चन्द्रचुडको घरमा एउटा पूजासम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । यो कुरालाई लिएर प्रतिष्ठित कानुन व्यवसायी, राजनीतिक दल र नेताहरूले आलोचना गरेका छन् ।

भारतीय प्रधान न्यायाधीश चन्द्रचुडले प्रधानमन्त्रीलाई कुनै सम्झौता गर्न नबोलाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरेका छन् । कतिपयले विपक्षी दलका नेतालाई पनि यसैगरी बोलाइन्छ त भनेर समेत प्रश्न गरेका थिए । तिनै प्रश्नप्रति लक्षित रहँदै चन्द्रचुडले यो कुनै नियुक्तिका लागि वा कुनै सिफारिसका लागि बैठक नभएकाले विपक्षी दलको नेता पनि बोलाउनुपर्ने भन्ने तर्क गलत रहेको जिकिर गरे ।

चन्द्रचुडले स्वतन्त्र न्यायालयको अर्थ अदालतले सधैँ सरकारको विपक्षमा फैसला सुनाउनुपर्छ भन्ने भाष्य सिर्जना गर्न नहुने टिप्पणीसमेत गरे । उनले आफ्नो पक्षमा फैसला दिए अदालत स्वतन्त्र, नत्र स्वतन्त्र छैन भनेर गरिने टिप्पणीमा आफ्नो आपत्ति रहेको बताए ।

20240911355L

प्रधानमन्त्री मोदीको भ्रमण एक निजी भ्रमण भएको तर्क गर्दै उनले कुनै सार्वजनिक कार्यक्रम नभएकाले आलोचना गर्नुको अर्थ नहुने प्रस्ट पारे । उनले न्यायपालिका र कार्यपालिका बिच सामान्य भेट भएको र यो सामाजिक स्तरमा हुनै नहुने भन्ने नभएको दाबी गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी त्यहाँका प्रधान न्यायाधीशको घर गएको विषयलाई लिएर भारतमा विवाद सिर्जना भएको थियो । भारतको संविधानमा कार्यपालिका, विधायिका र न्यायपालिका अलग अलग र स्वतन्त्र भनिएकाले यसरी हुने भेटले त्यसमा के असर पर्छ भन्ने कुरा नेतृत्वले ख्याल गर्नुपर्ने टिप्पणी वरिष्ठ अधिवक्ताहरूले गरेका छन् ।

वरिष्ठ अधिवक्ता दुष्यन्त दबेले प्रधानमन्त्री र प्रधान न्यायाधीश चन्द्रचुडको भेटलाई गलत भनेर टिप्पणी गरेका छन् । द वायरसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आफ्नो घरमा बोलाएर अयोध्या फैसला लेख्नका लागि दैवी प्रेरणा मिलेको कुराकानी गरेर प्रधान न्यायाधीश चन्द्रचुडले आफैँलाई एक्सपोज गरेको प्रस्ट पारे ।

  • नेपाल भ्रमणमा आएका थिए चन्द्रचुड

भारतका ५० औँ प्रधान न्यायाधीश चन्द्रचुड नेपाल भ्रमणमा पनि आएका थिए । हालसम्म निर्विविवाद न्याय सम्पादन गरिरहेका चन्द्रचुड  नेपाल भ्रमण गर्ने पहिलो भारतीय प्रधान न्यायाधीश हुन् ।

गत वैशाखमा सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा भारतीय प्रधान न्यायाधीश चन्द्रचुड नेपाल आएका थिए ।

चन्द्रचुडका बुवा पनि भारतको प्रधान न्यायाधीश थिए । सर्वाधिक लामो समय प्रधान न्यायाधीश भएका यशवंत विष्णु चन्द्रचुडका छोरा धनञ्जय ९ नोभेम्बर २०२२ मा भारतको प्रधान न्यायाधीश नियुक्त भएका हुन् ।

जम्मु कश्मिरको धारा ३७० को अधिकार, गर्भपतनको अधिकार र राईट टु प्राइभेसी (गोपनीयताको हक) सम्बन्धी फैसला उनका चर्चित फैसला हुन् । त्यस्तै केरलाको सबरीमाला मन्दिरमा पुरुषलाई मात्रै जान दिने नियम खारेज हुने गरी उनले गरेको फैसला पनि निकै चर्चित छ । यसमा संविधानमा लेखेका अक्षरभन्दा पनि त्यसको पछाडि अन्तरनिहीत भावना के छ भनेर अदालतले हेर्नु पर्छ र त्यस नैतिक धरातलले प्राप्त गर्न खोजेको उद्देश्यलाई फैसलाको आधार बनाउनु पर्छ भन्ने उनको लोकप्रिय सिद्धान्त छ ।

चन्द्रचुडको फैसलाले प्रतिपादन गरेको यो सिद्धान्तलाई दक्षिण एसियाली देशका अदालतले उद्धृत गर्दै आफ्नो फैसलामा यसबारे उल्लेख गर्न थालेका छन् ।

चन्द्रचुडले जम्मु कश्मीर भारतको अभिन्न अंग हो भनी फैसला सुनाएका थिए । उनले त्यो संविधानको धारा १ र ३७० मा स्पष्ट भएको,  धारा ३७० अस्थायी भएको र त्यसलाई अन्तरिम प्रक्रिया पूरा गर्न बनाइएको पनि बताएका थिए ।

प्रधान न्यायाधीश चन्द्रचुडले १० नोभेम्बरमा अवकाश लिनेछन् । उनीपछि भारतको ५१ औँ प्रधान न्यायाधीश सञ्जीव खन्ना हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप