परमाणु बम आक्रमणमा बाँचेकी सानी नानीको कथा
६ अगस्ट १९४५ मा जापानको हिरोशिमामा अमेरिकाले परमाणु बम खसालेको समय मिचिको कोदामा सात वर्षकी मात्रै थिइन् । आज पनि त्यो दिन उनलाई झलझली याद आउँछ ।
‘घमाइलो दिन थियो । बिहान सवा ८ बजेतिर हुनुपर्छ, म स्कुलमा आफ्नो डेस्कमा अडेस लागेर बसिरहेकी थिएँ । एक्कासि बिजुली चम्केजस्तै सेतो झिलिक्क गर्यो । लगत्तै स्कुलको छत खस्यो । मेरो कुममा सिसा झर्यो । मेरो वरपरका सबैजना भत्केको स्कुलको धुलोमा फसे । जसो–तसो उनीहरू बाँच्न सफल भए,’ मिचिकोले उतिबेलाको घटना सुनाइन् ।
उनलाई उनका शिक्षकले सिसा हटाएर स्वास्थ्य चौकीसम्म पुर्याएको पनि सम्झना छ । ‘उनीहरूले झ्यालको पर्दा च्यात्दै सकेसम्म हाम्रो घाउ सफा गर्ने प्रयास गर्थे । केही बेरमा बुवा आइपुग्नु भयो । मलाई पिठ्युँमा बोकेर घर लैजानु भयो,’ उनले भनिन् ।
मिचिको ‘हिबाकुशा’ अर्थात् परमाणु बम प्रभावित व्यक्ति हुन् । अमेरिकाले जापानी सहरहरू हिरोशिमा र नागासाकीमा खसालेको आणविक बमबाट बचेका उनीजस्ता व्यक्तिलाई जापानमा ‘हिबाकुशा’ भन्ने गरिन्छ । बम विस्फोटको प्रत्यक्ष अनुभव गर्नेहरूका सन्तानसहित हिबाकुशाको सङ्ख्या अहिले करिब पाँच लाख ४० हजार छ ।
अल्बर्ट आइन्स्टाइनले नेतृत्व गरेको तथा आणविक हतियारविरुद्ध अभियान चलाइरहेको आणविक वैज्ञानिकको बुलेटिन अनुसार हिरोशिमामा एक लाख चालिस हजार र नागासाकीमा ७० हजार मानिस मारिएका थिए ।
त्यो भयावह घटनाको करिब ९० वर्षपछि हिबाकुशाको प्रतिनिधित्व गर्ने संस्था ‘निहोन हिडान्क्यो’लाई सन् २०२४ को अक्टोबर ११ मा नोबेल शान्ति पुरस्कार प्रदान गरियो । पुरस्कार प्रदान गर्ने घोषणा गर्दा नोबेल कमिटीले ‘संसारलाई आणविक हतियारमुक्त गर्ने प्रयास गरेकोमा तथा प्रत्यक्ष साक्षीको बयानका रूपमा आणविक हतियार कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने देखाएकोमा’ त्यो पुरस्कार प्रदान गरिएको बतायो ।
परमाणु बम हमलामा परेर बाँचेकाहरूले ल्युकेमिया, क्यान्सर र गम्भीर मनोवैज्ञानिक समस्या जीवनभर झेले । उनीहरूका अनुसार दोस्रो र तेस्रो पुस्तालाई पनि यसका गम्भीर असर देखा परिरहेका छन् । हिबाकुशाका घाउ तथा पीडाहरू मार्फत परमाणु बमको असर संसारलाई देखाउँदै त्यस्ता हतियारविरुद्ध जनचेतना फैलाउन १९५६मा ‘निहोन हिडान्क्यो’ स्थापना भएको थियो ।
जापान र अमेरिकी सरकारको संयुक्त लगानीमा खोलिएको रेडिएसन इफेक्ट्स रिसर्च फाउन्डेसनले आजसम्म उक्त बम हमलामा परेका मानिसको तथ्याङ्क सङ्कलन गरिरहेको छ । तर, परमाणु बमबाट बचेकाहरूको सन्तान वा नातिनातिनामा कुनै पनि असामान्य स्वास्थ्य प्रभावलाई स्वीकार गर्न भने सकेको छैन । आजसम्म यो अत्यधिक जटिल वैज्ञानिक विषय बनेको छ । विविध अध्ययनहरूले फरक–फरक निष्कर्ष निकालेको भेटिन्छ ।
मिचिको ‘निहोन हिडान्क्यो’ले भन्ने गरेको कुरासँग पूर्ण सहमत छिन् । परमाणु हमलाको विभिषिकाले ल्याएको त्रासदी उनले जति प्रस्ट ढङ्गले अरू कसैले भन्न सक्दैन । ८० वर्षको उमेरमा पनि उत्तिकै मिलनसार हँसिलो र फरासिलो स्वभावकी उनी छोटो कपालमा चिटिक्क परेको देखिन्छिन् ।
मिठो हाँसोसहित ठट्यौली गर्दै कुरा गर्ने उनी आफ्नो जीवनका कालरात्रिको बयान गर्दा पनि हँसिलो अनुहारमा कुरा गर्छिन् ।
- त्यो दिन बिर्सन सकिँदैन
मिचिको सन् १९३८ मा हिरोशिमा नजिकैको इलाकामा जन्मिएकी हुन् । उनका पिताको छापाखाना सम्बन्धी व्यवसाय थियो । उनीहरू त्यहाँको हुनेखाने परिवारमै गनिन्थे । केही समयपछि दोस्रो विश्वयुद्ध सुरु भयो । युद्धका दौरान अमेरिकी फौज प्रशान्त महासागरको बाटो हुँदै जापानतर्फ अघि बढिरहेको थियो । त्यतिबेला उनको परिवार हिरोशिमा नजिकै टाकासुमा बस्न थालेको थियो ।
जापानका सहरहरूमा जथाभावी बमबारी भइरहेका थिएँ । तर, हिरोशिमा र नागासाकीमा परमाणु बम हमला नहुन्जेलसम्म अन्य आक्रमण भएका थिएनन् । सन् १८६२ मा परमाणु हतियार निर्माण गर्ने म्यानहाटन परियोजनाका निर्देशक लेस्ली ग्रुभ्सले यी सहरलाई परमाणु बमको क्षतिको सही आकलन गर्न सजिलो होस् भनेर अन्यखाले आक्रमण नगरिएको खुलासा गरेका थिए ।
बम विस्फोटपछि जब उनलाई बुवाले बोकेर घर लगे । उनले बुवाको ढाडमा बसेर जाँदैगर्दा बाटोमा बीभत्स दृश्यहरू देखिन् । ती कहालिलाग्दा दृश्य उनको मानसपटलमा आज पनि अमिट छाप बनेर बसेका छन् ।
मैले सानै उमेरमा जीवनको गरिमा र मृत्युको भयबारे बुझेकी छु । मेरो अनुभवले मलाई दह्रो बनाएको छ । म मेरो सम्पूर्ण तागत लगाएर परमाणु बमको सत्यतथ्य नयाँ पुस्तालाई सुनाउँछु । यो काम हामीले आजै गर्नुपर्ने छ । के थाहा, हामी भोलि मरिहाल्छौँ कि ।
‘डरलाग्दो गरी डढेकी एक जना आमा आफ्नो जलेको बच्चाको अवशेषलाई झुन्ड्याउँदै दौडेको, आँखा नभएका मानिस कता जाने पत्तो नपाएर घस्रिएको अनि मान्छेहरू हातमा आफ्नै आन्द्रा समातेर अत्तालिएर रोइरहेको । आज ७९ वर्ष बितिसक्दा पनि मैले देखेका ती दृश्य बिर्सनै सकेकी छैन,’ उनले भनिन् ।
मिचिकोले पछि थाहा पाइन्– उनको घर भए नजिकै ताकासु रेडियोधर्मी ‘कालो वर्षा’, खरानी, पानी र रेडियोधर्मी पदार्थको हानिकारक मिश्रणको उच्चतम केन्द्रीकरणमा परेको थियो । ‘निहोन हिडान्क्यो’ले पछि उनकै अनुभवको आधारमा कालो वर्षाले एनिमिया र ल्युकेमिया जस्ता रोगहरू निम्त्याएको तर्क गर्यो ।
सन् २०२१ मा हिरोशिमा उच्च अदालतले कालो वर्षाबाट प्रभावित बमको नजिकको क्षेत्र बाहिरका मानिसलाई पनि हिबाकुशा (परमाणु बम हमलामा बाँचेका) को रूपमा मान्यता दियो । उनीहरूले पनि उस्तै स्वास्थ्य समस्या झेलिरहेको राज्यले स्वीकार गर्यो ।
मिचिकोले आणविक बम विस्फोटपछि धेरैका लागि बाँच्ने एकमात्र माध्यम जापानी समाजको साझा विशेषता बनेको खँदिलो पारिवारिक इकाई भएको बताइन् । उनको पारिवारिक घर आंशिक रूपमा मात्रै ध्वस्त भयो । बाँकी रहेको अंश दर्जनौँ घाइते र घरबारविहीन आफन्तका लागि आश्रयस्थल बन्यो ।
उनी सम्झिन्छिन्, ‘अत्यधिक प्रभावित क्षेत्रहरूबाट भाग्दै हाम्रा धेरै आफन्त हाम्रो घरमा आउन थाले । तिनीहरूमध्ये धेरैलाई गहिरो चोट लागेको थियो । मासु र छाला च्यातिएका थिए । विस्फोटपछि बिजुली, ग्यास र खानेपानीको लाइन सबै काटियो । उपचारको केही व्यवस्था हुन सकेन । हाम्रो घर पछाडि आँगनमा एउटा इनार थियो । बल्ल–बल्ल त्यो पानीले घाउहरू सफा गर्न र घाइतेहरूको तिर्खा मेटाउन थोरै भए पनि सक्षम भयौँ ।’
सौभाग्यवश उनको आफ्नै परिवारमा कोही पनि त्यो बम हमलामा सख्त घाइते हुन र मारिन पाएन । तर, हमलाको दिनपछि बिस्तारै उनका नातेदारहरू एकपछि अर्को गर्दै मर्न थालेको उनले देख्नु पर्यो । उनको असाध्यै मिल्ने १४ वर्षीय नातेदार दिदी बमले पोलेका कारण त्यसको जलन सहन नसकेर उनकै काखमा रुँदै बितिन् ।
यति हुँदा पनि जनजीवन चलिनै रह्यो । बिस्तारै हिरोशिमा सामान्य अवस्थामा फर्किन थाल्यो । केही सद्दे रहेका रेल लाइनहरूमा रेल चल्न थाले । ध्वस्त भएको सहरको भग्नावशेषमा मानिस जान थाले । जीर्ण परिवेशमा पनि साना पसलहरू खुल्न थाले ।
यसैबिच ९ अगस्टमा नागासाकीमा बम आक्रमण भयो । त्यो आक्रमणमा मारिनेको यकिन सङ्ख्या थाहा हुन सकेन । युद्धकालीन जापानमा जनगणना भएको थिएन । अमेरिकी सेनाका अनुसार हिरोशिमामा ७० हजार मान्छे मारिएका थिए । तर, अल्बर्ट आइन्स्टाइनले नेतृत्व गरेको तथा आणविक हतियारविरुद्ध अभियान चलाइरहेको आणविक वैज्ञानिकको बुलेटिन अनुसार हिरोशिमामा एक लाख ४० हजार र नागासाकीमा ७० हजार मानिस मारिएका थिए । सन् १९४५ मा जापानको जनसङ्ख्या ७ करोड १० लाख थियो ।
- बाँच्नका लागि फट्याङ्ग्रा खानु पर्यो
१५ अगस्टका दिन सम्राट हिरोहितोले रेडियो प्रसारणमार्फत जापानले विनाशर्त आत्मसमर्पण गरेको घोषणा गरे । जस अनुसार सुरुमा चीन र त्यसपछि पश्चिमी राष्ट्रहरूसँगको १५ वर्ष लामो युद्ध अन्त्य भयो ।
मिचिको सम्झिन्छिन्, ‘हाम्रो जीवन फेरि लयमा फर्कन धेरै समय लाग्यो । छरछिमेकको तुलनामा अलिकति हुने खाने नै भए पनि अब हामीलाई खानेकुराले धान्न गाह्रो हुन थाल्यो । म मेरो सानो भाइ हिडेनोरीसँग फट्याङ्ग्रा समात्न जान्थेँ । त्यसलाई हामी कराईमा भुटेर खाने गर्थ्यौँ । यस्तो कुरा सुन्दा तपाईंलाई क्रूर लाग्न सक्छ तर यो हाम्रा लागि प्रोटिनको स्रोत थियो । हामी मसिना शङ्खे किरा मार्न नजिकैको खोलामा पनि जान्थ्यौँ ।’
डरलाग्दो गरी डढेकी एक जना आमा आफ्नो जलेको बच्चाको अवशेषलाई झुन्ड्याउँदै दौडेको, आँखा नभएका मानिस कता जाने पत्तो नपाएर घस्रिएको अनि मान्छेहरू हातमा आफ्नै आन्द्रा समातेर अत्तालिएर रोइरहेको । आज ७९ वर्ष बितिसक्दा पनि मैले देखेका ती दृश्य बिर्सनै सकेकी छैन ।
आणविक बम विस्फोटका बेला मिचिकोकी आमा गर्भवती थिइन् । केही महिनापछि उनको कान्छो भाइ जन्मियो । जन्मेको केही समयमै उसले संसार छाड्यो । विषाक्त परमाणु विकिरणले आफ्नो भाइ मरेको मिचिकोको तर्क छ ।
बम आक्रमणपछिका दिनहरूमा मान्छे मर्ने क्रम बढ्न थाल्यो । निहोन हिडान्क्योका अनुसार विकिरणको प्रभावले एक लाख २० हजार हिबाकुशाहरू मरे । प्रभावितहरूमा मस्तिष्क घात, निरन्तर बान्ता, मुख तथा घाँटी पोल्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने जस्ता जटिलता देखा पर्ने गर्थे ।
जापान सरकारले युद्धपछि पुनर्निर्माणका प्रयासहरू सुरु गर्यो । तथापि परमाणु बम विस्फोटका पीडितका लागि सहयोग गर्न उसले पर्याप्त समय र रकम लगाउन सकेन । हिरोशिमा र नागासाकीका अधिकांश अस्पताल ध्वस्त भएका थिए । अधिकांश डाक्टर र नर्स मरेका वा सख्त घाइते भएका थिए ।
हिबाकुशाको उपचार गर्ने व्यवस्था नै थिएन भन्न सकिन्छ । विकिरणको प्रभावबाट पीडितलाई उपचारको काम रेडक्रसको जिम्मामा आयो । उसले ११ वर्षपछि बल्ल सन् १९५६ मा हिरोशिमा परमाणु–बम अस्पताल खोल्यो । जापान सरकारले सन् १९८० को दशकमा आएरमात्रै हिबाकुशाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्न थालेको हो ।
सन् १९४५ देखि १९५२ सम्म जापान अमेरिकाले कब्जा गरेको थियो । तर, अमेरिकीहरू बमका पीडितको उपचारमा संलग्न भएनन् उनीहरूको चासो हिबाकुशाको शारीरिक रोगहरूको बारेमा हुने गर्थ्यो ।
अमेरिकीहरूको परमाणु बम क्षतिबारे ‘एबीसीसी’ भन्ने संस्था थियो । उनीहरू घाइतेलाई बोलाउने र विविध परीक्षण गर्ने गर्थे । गम्भीर घाइते नभएका उनका बुवालाई पनि त्यहाँ बोलाउने गर्थे । कहिलेकाहीँ फलफूल पनि दिएर पठाउँथे । उनीहरूको अपमानपूर्ण व्यवहारले हिबाकुशाहरू एबीसीसीबारे राम्रो धारणा राख्दैनथे ।
परमाणु बमको परीक्षणका लागि सुरुमा आफैँले बम हाने, अहिले त्यसबाट पीडितहरूको उपचार पनि उनीहरूले नै गर्न खोज्नुको अर्थ त्यसमा अमेरिकीहरूको स्वार्थ लुकेको भन्ने हिबाकुशाहरू सोच्थे । ‘यो अमेरिकाकै लागि गरिएको हो,’ उनीहरू भन्थे । त्यो विश्वासमा आज पनि उनीहरू दृढ छन् ।
- ‘मानिस हाम्रो रगत सर्ला भनेर डराउँथे’
पछिसम्म बमको असर देखिने क्रम रोकिएको थिएन । यी प्रभावका कारण समाजमा अपमान र विभेद बढ्दै जान थाल्यो । आफ्नै मुलुकमा जापानका नागरिक पनि हिबाकुशालाई हेयको दृष्टिबाट हेर्ने गर्थे ।
हाम्रो जीवन फेरि लयमा फर्कन धेरै समय लाग्यो । छरछिमेकको तुलनामा अलिकति हुने खाने नै भए पनि अब हामीलाई खानेकुराले धान्न गाह्रो हुन थाल्यो । म मेरो सानो भाइ हिडेनोरीसँग फट्याङ्ग्रा समात्न जान्थेँ । त्यसलाई हामी कराईमा भुटेर खाने गर्थ्यौँ ।
हिबाकुशाको शरीरमा अदृश्य र सङ्क्रामक रोग छन् भन्ने सोचेर उनीहरू डराउँथे । जसले गर्दा उनीहरूलाई जापानका अन्य भागहरूमा काम पाउन गाह्रो थियो । अन्य जापानी नागरिकसँग विवाह गर्न पनि गाह्रो थियो ।
आणविक आक्रमणपछिका कयौँ वर्ष मिचिको र उनको परिवारले धेरै सकस साथ भद्रगोल जीवनलाई लयमा फर्काउने प्रयत्न गर्यो । उनको बुवाले आफ्नो पुरानो प्रकाशन व्यवसाय फेरि सुरु गर्ने निधो गरे । यसमा असफल भएसँगै उनी अन्ततः बालपत्रिकाको सम्पादक बनेर काम गर्न थाले ।
उनकी आमा जापानमा चर्चित कुलिन सामुराई पृष्ठभूमिबाट आएकी थिइन् । उनलाई घरको काम राम्रोसँग आउँदैनथ्यो । उनले जानेको किमोनो बनाउने काम थियो । उनी यसैलाई बनाउने र बेच्ने काम गर्न थालिन् । यसको थोरै आम्दानीले उनीहरूलाई जेनतेन खान पुग्थ्यो ।
आर्थिक दबाबका कारण मिचिको विश्वविद्यालय जान सकिनन् । उनले काम खोज्नुपर्ने बाध्यता हुन थाल्यो । उनले एउटा कार्यालयमा जागिर पनि भेट्टाइन् । पछि युद्धमा आफ्नो बुबा गुमाएका एक युवा सहकर्मीसँग उनको प्रेम सम्बन्ध जोडियो ।
एकदिन ती युवकले मिचिकोलाई आफ्नो परिवारसँग भेट्न लगे । उनीहरू पुग्दा त्यहाँ धेरै नातेदार भेला भएका रहेछन् । एक जना निकट नातेदारले उनलाई भने, ‘मेरो भतिजोले तिमीसँग बिहे गर्ने इच्छा राखेछ । हामीले तिम्रो परिवार र पृष्ठभूमिबारे केही बुझ्न खोज्यौँ । तिम्रो पारिवारिक विरासत राम्रो रहेछ । हामीलाई त्यसमा केही समस्या भएन । तर तिमी त हिबाकुशा हौ भन्ने सुनियो । हामी त हाम्रो वंशको रगतमा तिम्रो त्यस्तो रगत मिसाउन चाहँदैनौँ ।’
यस्तो सुन्दा उनी छाँगाबाट खसेजस्तै भइन् । उनी यसबारे भन्छिन्, ‘मलाई त्यतिबेला धेरै दुःख लाग्यो । यसमा मेरो के दोष थियो र ? आणविक बम खसाल्नु मेरो गल्ती थिएन । तर, फेरि सोचेँ– आणविक बमका कारण मृत जन्मेका बच्चाहरू, गर्भपात र अपाङ्गता भएका बालबालिकाका समाचारहरू त मैले पनि पढेकी थिएँ । सायद मेरो प्रेमीका आफन्तहरू पनि आफ्नै परिवारमा त्यस्तो नहोस् भन्ने चाहन्थे ।’
- वंशमा विष सर्ने चिन्ता
विविध अप्ठ्यारोका बाबजुद मिचिकोले अन्ततः आफ्नो साथीमार्फत भेटिएका मोकोतोसँग विवाह गरिन् । उनी पनि हिरोशिमावासी थिए । तर, आणविक बमको असरबाट जोगिएका व्यक्ति । उनको परिवारले पनि यो विवाह रोक्न भरमग्दुर प्रयास गरेको थियो । तर, उनीहरू रोकिएनन् । विवाहपछि उनीहरू टोकियो छेउको चिवामा सामान्य जीवन यापन गर्दै बस्न थाले ।
बमको असरको खतराबारे मिचिको सम्झिन्छिन्, ‘प्रत्येक रात हामी बच्चा जन्माउने कि नजन्माउने भन्नेबारे धेरै छलफल गर्थ्र्यौं ।’
अन्त्यमा दम्पतीले बच्चा जन्माउने निर्णय गरे । उनीहरूले सोचे ‘मारिएका मेरा प्रियजनहरूका लागि नयाँ जीवनको प्रतिनिधित्व तिनै केटाकेटीले गर्नेछन् ।’ उनीहरूका मामी र अकिको नामका दुई छोरी भए । उनीहरू दुवै स्वस्थ र खुसी थिए । उनीहरू हुर्कंदै गर्दा कुनै गम्भीर रोग देखा परेन ।
अर्कोतर्फ द्रुत गतिमा जापानको पुनर्निर्माण भइरहेको थियो । दुई दशकभित्रै विश्वव्यापी औद्योगिक शक्तिकेन्द्र बन्दै थियो । मिचिको अझै पनि बमको दीर्घकालीन प्रभाव उनको परिवारको जीवनमा विषाक्त धागो बनेर जेलिइरहेको सोचमा चिन्तित हुन्थिन् ।
‘मेरी छोरी अकिकोले माकोटो नामको केटासँग विवाह गरिन्,’ मिचिको भन्छिन्, ‘उनी विदेशी स्वामित्वको कम्पनीमा काम गर्थे, त्यसैले तिनीहरू अन्य देशहरूतिर पनि बस्न गए । जापान फर्किँदा एक पटक अकिकोले स्वास्थ्य परीक्षण गरिन् । उनलाई क्यान्सर भएको हुन सक्ने देखियो । थप परीक्षणपछि यो सत्य साबित भयो ।’
अकिकोको शल्यक्रिया गरियो । १३ घण्टा लामो शल्यक्रियापछि अब उनी बाँच्छिन् जस्तो भयो । तर विडम्बना, सन् २०११ मा एक्कासि उनी ३५ वर्षको अल्पायुमै बितिन् ।
‘मभित्र अझै पनि परमाणुजन्य विष छ भन्ने लाग्छ,’ मिचिको भन्छिन् ।
अकिकोको मृत्यु आणविक बमका कारणले भएको आनुवांशिक उत्परिवर्तनले गर्दा भएको हो । साथै उनको आमा र कान्छो भाइ हिदेनोरी र यासुनोरी दुवै ६० वर्षको उमेरमा बिते । मिचिकोलाई यसको कारण पनि त्यस्तै क्यान्सर हो भन्ने लाग्छ । मिचिकोका भाइ–बहिनीमध्ये अहिले उनकी कान्छी बहिनी युकिको मात्र जीवित छिन् ।
हिबाकुशाको पछिल्लो पुस्ता यसबारे व्यापक आधिकारिक अनुसन्धानको माग गरिरहेको छ । उनीहरूले आफ्ना आमाबाबु र हजुरबा–हजुरआमासँगै भोग्नु परेको त्रासदीको क्षतिपूर्तिको माग पनि गरिरहेका छन् । यो मागलाई ‘विकिरण प्रभाव अनुसन्धान प्रतिष्ठान’ ले पनि थप समर्थन गर्छ । यो प्रतिष्ठान एबीसीसीकै पछिल्लो विकसित स्वरूप हो ।
दोस्रो पुस्ताका हिबाकुशाद्वारा दायर गरिएका यस सम्बन्धी दुई वटा मुद्दा सन् २०२३ मा हिरोशिमा र नागासाकीमा खारेज गरिए । दुई वटै अदालतले परमाणु बम विस्फोटको आनुवांशिक प्रभावहरू आगामी पुस्तामा सरेको कुरा स्वीकार गर्न मानेन ।
मिचिको र उनीजस्तै अन्य हिबाकुशाको विचारमा सन् १९४५ को विध्वंशकारी घटना र यसका दुष्परिणामबाट संसारले पाठ सिक्न सकेकै छैन । आजका थर्मोन्युक्लियर मिसाइलहरू हिरोशिमा र नागासाकीमा खसालिएका बमभन्दा धेरै गुणा शक्तिशाली छन् । थप धेरै देशहरू यस्ता बम बनाउने काममा लागेका छन् ।
तर, पनि मिचिको हार मान्दिनन् । परमाणु बमको भयानक असरबारे मानिसलाई बुझाउन उनी निहोन हिडान्क्योबाट काम गरिरहेकी छन् ।
उनी भन्छिन्, ‘मैले सानै उमेरमा जीवनको गरिमा र मृत्युको भयबारे बुझेकी छु । ...मेरो अनुभवले मलाई दह्रो बनाएको छ । म मेरो सम्पूर्ण तागत लगाएर परमाणु बमको सत्यतथ्य नयाँ पुस्तालाई सुनाउँछु । यी काम हामीले आजै गर्नुपर्ने छ । के थाहा, हामी भोलि मरिहाल्छौ कि ।’
मिचिको कोदामा र उनीजस्तै हिबाकुशाहरूको भोगाइले मानवजातीलाई निरन्तर खबरदारी गरिरहेको छ । उनीहरू संसारलाई परमाणु हतियार र त्यस्ता युद्धलाई सधैँका लागि अन्त्य गर्नुपर्ने कुरा जोड जोडसाथ भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद
-
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
-
रवि लामिछानेको म्याद थपबारेको बहस सकियो
-
रास्वपाको प्रदर्शनका क्रममा एक जना पक्राउ
-
एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल लगियो
-
प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी