बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो

१९ प्रसारण लाइन सञ्चालनमा
मङ्गलबार, २० कात्तिक २०८१, १२ : १५
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।  गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण  तथा पुनर्स्थापना गरी सोमबार दिउँसो ४.३०बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनु भएका  ऊर्जा उद्यमी मोहन कार्कीले बताउनुभयो । 

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरुबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो । 

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए । 

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्‍याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ । 

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो । 

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिनिधिहरुबाट पूर्ण रूपमा सहयोग प्राप्त भएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप