बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

चौधरी ग्रुपले हडपेको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु

जग्गा फिर्ता भइसकेपछि निजामती सेवा अस्पताल चलाउने योजना
मङ्गलबार, २० कात्तिक २०८१, १२ : ०९
मङ्गलबार, २० कात्तिक २०८१

विराटनगर । सुनसरीको दुहवी नगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ । करोडौँ मूल्य पर्ने ९ कट्ठा ८ धुर क्षेत्रफलको उक्त जग्गा लामो समयदेखि व्यापारिक घराना ‘चौधरी ग्रुप’को कब्जामा थियो ।

पछिल्लो समय चौधरी ग्रुपले दुहवीको जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहित दुहवी नगरपालिकाका प्रमुख वेदप्रकाश गच्छदारलाई पत्र पठाएको थियो ।

सो पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जग्गा फिर्ताको प्रक्रिया सुरु गरिदिन पत्राचार गरिसकेको छ । सो अनुसार प्रक्रिया अगाडि बढेको नगरप्रमुख गच्छदारले बताए । तर, यो विषयमा अख्तियारमा मुद्दा परेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अगाडि बढाउन सकेको थिएन । आवश्यक प्रक्रिया पूरा गरेर अब भने जग्गा फिर्ताको अन्तिम चरणमा पुगेको गच्छदार बताउँछन् ।

सुनसरीको दुहवी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहवी नगरपालिका ५) मा रहेको जग्गा  लुनकरण दास र  गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै समूहले आफ्नो नाममा लगेको प्रमाणहरूले देखाउँछ । गाविसको नाममा रहेको उक्त जग्गा हस्तान्तरणको लागि तत्कालीन दुहवी आदर्श गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेका थिए ।

गाविसको नाममा रहेको ७ (ख) कित्ता नम्बर १७, १८ र १९ को ९ कट्ठा ८ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा लगेको थियो । उक्त जग्गामा अस्पताल सञ्चालन गर्ने चौधरी ग्रुपको शर्त थियो । दुहवी बजारदेखि करिब डेढ सय मिटर नजिकमा रहेको जग्गामा केही समय अस्पताल सञ्चालन गरिए पनि अहिले बन्द छ ।

च्यारिटीको नाममा जग्गा दिन तत्कालीन जनप्रतिनिधिसहित ७० जनाले समर्थन गरेका थिए । २०४९ साल चैत ४ गते बुधबार साविकको दुहवी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । २०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । कोइरालाले जग्गाको स्वामित्व च्यारिटीलाई हस्तान्तरण गरेका थिए भने अस्पतालको उद्घाटन तत्कालीन युवराज दीपेन्द्र शाहबाट गरिएको थियो ।

२०७४ सालमा नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्नका लागि सो जग्गाको खोजी गर्दा जग्गा चौधरी ग्रुपको ट्रष्टको नाममा गएको खुलेको थियो । चौधरी ग्रुपले सो स्थानमा चलाएको अस्पतालका उपकरण काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा लगिसकेको छ । अहिले सो क्षेत्रमा भवन र केही कर्मचारीमात्रै छन् ।

गाविसको नाममा रहेको जग्गा सरकारी हुने भएकोले मन्त्रिपरिषदको निर्णयविना व्यक्ति वा अन्य संस्थाको नाममा जान नसक्ने पालिकाको जिकिर थियो । चौधरी ग्रुपले हडपेको उक्त जग्गा अहिले धुरको १५ लाख रुपैयाँभन्दा बढी पर्ने स्थानीय बताउँछन् । त्यस आधारमा भन्ने हो भने उक्त जग्गाको न्यूनतम मूल्य झण्डै ३५ करोड पर्ने देखिन्छ ।

लामो समयदेखि बन्द रहेको अस्पतालमा केही कर्मचारी राखेरै भए पनि चौधरी समूहले उक्त जग्गा ओगटेको थियो ।  चौधरी ग्रुपले २०८० फागुन ४ गतेको बैठकबाट निर्णय गराइ संस्था दर्ता ऐन २०३४ को दफा १४ मा व्यवस्था भएअनुरूप जग्गा फिर्ताको लागि दुहवी नगरपालिकामा गत वर्षको फागुन ११ मा सस्ंथा विघटनको निवेदन दिएको थियो ।

सो जग्गामा निजामती सेवा अस्पताल बनाउने तयारी गरेको नगर प्रमुख गच्छदारले बताए । नेपाल सरकारका मुख्यसचिव अध्यक्ष रहने उक्त निजामती अस्पतालको सञ्चालनबारे अन्तिम तयारी पूरा भइसकेको नगरप्रमुख गच्छादारले जनाएका छन् । सो अस्पताल सञ्चालन भए कोशी प्रदेशका निजामती सेवाका कर्मचारीमात्रै नभएर सर्वसाधारण जनतामा समेत फाइदा पुग्ने उनको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप