जम्मु र जमुवाका माता वैष्णोदेवी
भगवती वैष्णोदेवीको प्राचीन मन्दिर भारतको जम्मु कश्मिर राज्यको जम्मु क्षेत्रको त्रिकुटा पहाडमा अवस्थित छ । करिब पाँच हजार दुई सय फिटको उचाइमा रहेको यस मन्दिरलाई मातारानी वा वैष्णवी मन्दिर पनि भनिन्छ ।
हिन्दु विचारधारामा मुख्यतः तीनवटा सम्प्रदाय देखिन्छन्— शैव, शाक्त र वैष्णव । शाक्त सम्प्रदाय देवी शक्ति (सती) को उपासक हो । देवीको उपासना शाक्त धर्मको मूल आधार हो । देवी एक त्यस्तो गतिशील शक्ति हो, जसबाट प्रकृति प्रकट हुन्छ । शक्तिले नै जीवलाई गति प्रदान गर्दछ । चराचरको सम्बन्धको आधार शक्ति नै हो ।
मानिसलाई मोक्ष वा जुनसुकै गन्तव्य प्राप्त गर्न शक्तिले सहायता प्रदान गर्दछ । ऋग्वेदले पनि यस तथ्यको प्रमाण दिन्छ कि संसारको शासक देवी शक्ति नै हो ।
प्रकृतिका तीन कार्य (सृष्टि, पालन र संहार) देवीले नै गर्छिन् महाकाली, महालक्ष्मी, महासरस्वतीका रूपमा । वास्तवमा यी तीन अलग–अलग देवी होइनन्, बरु तीन अलग–अलग रूपमा एउटै निराकार देवी हुन् । दुर्गा पूजा वा नवरात्रि महाकाली, महालक्ष्मी, महासरस्वतीको नौ दिनसम्म पूजा गर्ने अवसर हो, जब माता देवीको तीन प्रकृति स्वरूपको पूजा गरिन्छ ।
जम्मुको कटरास्थित गुफामा देवी महाकाली (दायाँ), महासरस्वती (बायाँ) र महालक्ष्मी (मध्य) पिण्डको रूपमा विराजमान छिन् । यी तीन पिण्डको एकीकृत रूपलाई नै वैष्णोदेवी भनेर जानिन्छ । अर्थात् वैष्णोदेवी स्वयंमा देवीको एक त्यस्तो स्वरूप हो, जसमा काली, लक्ष्मी, सरस्वती तिनै शक्ति सन्निहित छन् ।
दुर्गा अष्टोत्तरनामको ५५औँ शृंखलामा ‘वैष्णवी’ नाम आउँछ । महाकाली सहस्रनामको ४३औँ श्लोक छ—
‘वशिनी वैष्णवी स्वच्छा धात्री त्रि–जगदीश्वरी ।
मधुमती कुण्डलिनी शक्तिः ऋद्धिः सिद्धिः शुचि–स्मिता ।।’
श्री लक्ष्मी सहस्रनामवलीको ११३औँ शृंखलामा ‘ॐ वैष्णव्यै नमः’ भनी उल्लेख गरिएको छ । यसरी शास्त्रबाट पनि यस तथ्यको पुष्टि भएको छ ।
अन्ततः उनले मातारानीको माटो लिएर जमुवा आइपुगे । यहाँ आएर उनले मातारानी मन्दिर स्थापना गरी २० वर्षदेखि माताको सेवा गर्दै आएका छन् ।
माता वैष्णोदेवीले त्रेता युगमा माता पार्वती, सरस्वती र लक्ष्मीका रूपमा मानव जातिको कल्याणका लागि एक सुन्दर राजकुमारीको रूपमा अवतार लिएकी थिइन् । उनले त्रिकुटा पर्वतको गुफामा बसेर तपस्या गरेकी थिइन् । एक समय यस्तो आयो कि जब उनको शरीर तीन दिव्य ऊर्जा (महाकाली, महालक्ष्मी र महासरस्वती) को सूक्ष्म रूपमा विलीन हुन गयो ।
शास्त्र प्रमाणहरूबाट यो स्पष्ट हुन्छ कि वैष्णोदेवी भनी जसको उपासना गरिन्छ, ती देवी शक्तिमा प्रकृतिको तीनवटै गुण समाहित छन् ।
यता नेपालमा पनि सप्तरी जिल्लाको कोशी नदी किनार हनुमाननगर कंकालिनी नगरपालिका– ८, जमुवामा पनि वैष्णोदेवीको मन्दिर स्थापित छ । यस मन्दिरको स्थापना २०६१ माघ ५ गते शुक्लपक्षको नवमी तिथिमा भएको हो ।
जम्मुको वैष्णोदेवी मन्दिरमा लाग्ने भक्तजनको घुइँचो त सबैलाई थाहै छ तर जमुवाको वैष्णोदेवी मन्दिरमा पनि भक्तजनको उत्तिकै घुइँचो हुन्छ । जम्मुमा त मौसमी प्रतिकूलताका कारण बाह्रै महिना दर्शन सम्भव हुँदैन तर जमुवामा एक दिन पनि नबिराई बाह्रै महिना भक्तजनको भीड लाग्छ ।
जमुवा मातारानीको मन्दिरमा दर्शनार्थीका अतिरिक्त डाली (बिन्ती) लगाउनेको घुइँचो हुन्छ । माताको आशीर्वाद पाएर भक्तजनको मनोकामना पूरा हुने गरेको छ ।
जमुवाको वैष्णोदेवीको कुरा गर्दा यहाँनजिकै जोगिनियामा परापूर्वदेखि स्थापित योगिनी माई मन्दिर र भगवती देवी स्थानको कुरा नगरी हुन्न । किनभने यिनै योगिनी माई र देवी–देवताले यो ठाउँलाई पवित्र, दिव्य र देवीदेवता बस्न लायक बनाएका हुन् ।
जमुवास्थित मन्दिरको सुरुमा आकार सानो थियो तर अहिलेको मन्दिर निकै भव्य बनेको छ । मन्दिरको भव्य द्वार सँगैका दुई विशाल सिंहको उपस्थितिले शक्ति स्थलको आभास दिन्छ । मन्दिरको निर्माण कार्य अझै पनि चलिरहेको छ ।
जम्मुको वैष्णोदेवी मन्दिरको स्थापनाका सूत्रधार जसरी ब्राह्मण श्रीधर हुन् । त्यसैगरी जमुवाको वैष्णोदेवी मन्दिरका सूत्रधार नागेश्वर गोठिया यादव हुन् । मन्दिर निर्माण कार्यमा विशेष योगदान गर्ने भक्तजनहरूको नाम तथा योगदान मन्दिरका भित्ताहरूमा लेखिएको छ ।
नागेश्वर गोठिया मन्दिरका संस्थापक मात्र होइनन् मन्दिरका पुजारी पनि हुन् । उनलाई सबैले भगत भनेर पुकार्छन् । भगत नागेश्वर गोठिया वैष्णव सन्त हुन् । उनी हरेक क्षण पवित्रता र अनुशासनमा बस्छन् ।
पुजारी नागेश्वर
नागेश्वर गोठिया रोजगारीका लागि पूर्व आसामतिर लागेका थिए तर उनको मन अरुतिर तानिइरहेको थियो । लागेको जागिर र पकाएको पैसा समेत छाडेर उनी दिल्ली ज्वाइँ भएको ठाउँमा पुगे । दिल्ली पुगेको केही दिनमै जम्मु वैष्णोदेवी जानेको चहलपहल देखियो । गोठियाको मन पनि मास्तिर बग्न थाल्यो । अन्ततः उनले मातारानीको माटो लिएर जमुवा आइपुगे । यहाँ आएर उनले मातारानी मन्दिर स्थापना गरी २० वर्षदेखि माताको सेवा गर्दै आएका छन् ।
जमुवाको वैष्णोदेवीको कुरा गर्दा यहाँनजिकै जोगिनियामा परापूर्वदेखि स्थापित योगिनी माई मन्दिर र भगवती देवी स्थानको कुरा नगरी हुन्न । किनभने यिनै योगिनी माई र देवी–देवताले यो ठाउँलाई पवित्र, दिव्य र देवीदेवता बस्न लायक बनाएका हुन् ।
योगिनी माईकै उपस्थितिका कारण यस गाउँको नाम योगिनिया रहेको हो । योगिनिया ठुलो गाउँ हो । यसभित्र सातपट्टी भनिने सात गाउँ पर्छन् । हनुमाननगरबाट भारदह जाँदा कोशी पश्चिमी नहरको क्रसिङ नपुग्दै सडकको पूर्वपट्टि ठुलो पोखरी र वरपर मन्दिर तथा विभिन्न रङ–रूपका भवन छन् । यी नै संरचनाबिच योगिनी माईको समाधि अवस्थित छ । छेउमा राधाकृष्ण र अरू मन्दिर पनि छन् । त्यसको एक किमि जति दक्षिण भगवती स्थान र डिहवार थान रहेका छन् ।
जमुवाको वैष्णोदेवी र जोगिनियाको योगिनी माई मन्दिरको ठिक दक्षिण– पश्चिमतर्फ हनुमाननगरमा हनुमान मन्दिर र उत्तर–पूर्वतर्फ भारदहमा कंकालिनी मन्दिर छ ।
सरकारले २०७२ असोज १ गते हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरेको हो । यस हनुमाननगर कंकालिनी नगरपालिकाको वडा ७ मा हनुमान मन्दिर, वडा ५ मा योगिनी माई मन्दिर, वडा ८ मा वैष्णोदेवी मन्दिर र वडा १ मा कंकालिनी मन्दिर रहेका छन् ।
जमुवा वैष्णोदेवी मन्दिरको भवनभित्रै रामजानकी, बजरंगवली, शिव, गणेश लगायत देवताको मन्दिर पनि रहेका छन् । जमुवा वैष्णोदेवी मन्दिरमा दुर्गा पाठ, हवन, भण्डारा आदि आयोजित भइरहन्छ ।
सप्तरी जिल्लाका शक्तिपीठ अर्थात् देवी मन्दिरहरूमध्ये दुईवटा शक्तिपीठ सखडेश्वरी भगवती र कंकालिनी भगवती देश–विदेशमा प्रख्यात छन् । सप्तरी जिल्लाको सेरोफेरोमा कुरा गर्ने हो भने जमुवा वैष्णोदेवी मन्दिर तेस्रो चर्चित मन्दिर हो । माताको चरणमा डाली लगाउने व्यवस्थाका कारण यो मन्दिरको प्रभाव बढ्दो छ । भविष्यमा जम्मुकै मन्दिरजति यो मन्दिर पनि चर्चित होस् भन्ने कामना छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)