बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
आयात/निर्यात

कच्चा पदार्थमा मूल्य अभिवृद्धि करले गलैँचा उत्पादन लागत बढ्यो, निर्यात घट्यो

मङ्गलबार, २० कात्तिक २०८१, ०७ : ३९
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली गलैँचा निर्यातबाट ३ अर्बभन्दा बढी रकम भित्रिएको छ । सो अवधिमा ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात हुँदा ३ अर्ब १ करोड ३५ लाख ३८ हजार रुपैयाँ भित्रिएको भन्सार विभागले जनाएको छ ।

यस अवधिमा विश्वभरका ४८ मुलुकमा नेपाली गलैँचा निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । जसमध्ये सबैभन्दा धेरै अस्ट्रेलियामा निर्यात भएको छ । अस्ट्रेलियामा १ अर्ब ८४ करोड बराबरको ५४ हजार ३८७ वर्गमिटर गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी दोस्रोमा जर्मनीमा निर्यात भएको देखिन्छ । करिब २२ करोड ५१ लाख रुपैयाँको ८ हजार ५१ वर्गमिटर गलैँचा जर्मनी निर्यात भएको छ ।

यसैगरी बेलायत, भारत र इटालीतर्फ पनि गलैँचा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्याङ्कअनुसार १६ करोड ७२ लाख बराबरको ४ हजार ४६१ वर्गमिटर गलैँचा बेलायत निर्यात भएको छ ।  त्यस्तै १३ करोड ९ लाख बराबरको ३ लाख ३४ हजार ६४४ वर्गमिटर गलैँचा भारत, १३ करोड ८ लाख रुपैयाँ बराबरको ५ हजार ४९७ वर्गमिटर गलैँचा इटाली निर्यात भएको छ ।

नेपालबाट सर्वाधिक निर्यात हुने वस्तुमध्ये पहिलो स्थानमा गलैँचा छ । त्यसपछि चिया, धागो, अलैँची लगायतका वस्तु निर्यात हुने गर्दछ । तर पछिल्लो समय गलैँचा निर्यात घट्दो रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

गत वर्षको असोज मसान्तको तुलनामा चालु वर्षको असोज मसान्तसम्म निर्यात घटेको छ । गत वर्षको असोज मसान्तसम्ममा ३ अर्ब १२ करोड ५९ लाख ३७ हजार रुपैयाँको ४ लाख ६४ हजार ९८८ वर्गमिटर गलैँचा निर्यात भएको थियो । चालु वर्षको असोज मसान्तसम्म ३ अर्ब १ करोड ३५ लाख ३८ हजार रुपैयाँको ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा पनि गलैँचाको निर्यात घटेको छ । गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.५८ प्रतिशत अर्थात् एक अर्ब ३८ करोड रुपैयाँले कम हो ।

अघिल्लो वर्ष (२०७९/८०) मा ११ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले दश वर्षमा ८२ अर्ब रुपैयाँभन्दा बढीको गलैँचा निर्यात गरेको छ । आर्थिक वर्ष २०७१/७२ देखि गत आर्थिक वर्षसम्ममा ८२ अर्ब २२ करोड ८८ लाख ८२ हजार रुपैयाँ बराबरको ६० लाख ८ हजार ८११ वर्गमिटर गलैँचा निर्यात भएको हो ।

१० वर्षमा नेपाली गलैँचा निर्यातको अवस्था

Capture

के कारण घट्यो निर्यात ?

गलैँचा उद्योगीहरूले २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएपछि कच्चा पदार्थ आयातमा भ्याट छुट पाएका थिए । तर सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा गलैँचा उद्योगीले पाउने छुट कटौती गरेको छ । जसका कारण गलैँचा बनाउन आवश्यक पर्ने कच्चा पदार्थमा ५ प्रतिशत आयकर लाग्न थालेको छ । परिणामस्वरुप गलैँचा उत्पादनमा लागत बढेको उद्योगीहरू बताउँछन् ।

उत्पादन लागत बढेकाले गलैँचा महँगो परेको र माग घट्दै गएको नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए ।

सरकारले कच्चा पदार्थमा भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आएको उनको भनाइ छ ।

‘सरकारले कच्चा पदार्थ आयातमा भ्याट लगाएका कारण उत्पादन लागत बढेर गलैँचा महँगो पर्न गयो । विदेशीले हाम्रो गलैँचा त मन पराएका छन्,’ शेर्पा भन्छन्, ‘तर महँगो भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न पनि गाह्रो भएको छ । माग घटेसँगै गलैँचाको निर्यात घट्न थालेको छ ।’

निर्यात बढाउने हो भने सरकारले बजेट मार्फत लगाएको आयकरमा छुट गरिदिनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी ऊन, सिस्नो, अल्लो र गाँजाबाट बन्ने धागो लगायतका गलैँचा उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुनुपर्ने शेर्पाले बताए ।

‘हामी पहिला ऊन, सिस्नो, अल्लो र गाँजाबाट बन्ने धागो लगायतका गलैँचा उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुन पर्‍यो । कि सरकारले आयकर हटाउन पर्‍यो,’ उनले भने ।

कच्चा पदार्थमा आत्म निर्भर हुनका लागि सरकारले गलैँचा व्यवसायीलाई अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने शेर्पा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप