शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बाढीपहिरोका कारण फालेलुङका तीन सय ७७ परिवार प्रभावित

सोमबार, १९ कात्तिक २०८१, २२ : ५३
सोमबार, १९ कात्तिक २०८१

पाँचथर । गत असोज महिनामा गएको बाढीपहिरोले पाँचथरको फालेलुङ गाउँपालिकाका तीन सय ७७ घर परिवार प्रभावित भएका छन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको सङ्ख्या एक हजार सात सय ७७ जना रहेको छ । 

प्रभावितमध्ये ७० घरमा पूर्णरुपमा क्षति पुगेको तथा बाँकी घरमा आंशिक क्षति भएको छ । फालेलुङ गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी वडा नं ५ प्राङबुङमा एक सय ४५ घर परिवार प्रभावित बनेका छन् । 

प्रभावितमध्ये २३ घरमा पूर्ण क्षति पुगेको छ । वडा नं १ मा एक घर, वडा नं २ मा पाँच घर, वडा नं ३ मा ८१ घर, वडा नं ४ मा ७७ घर, वडा नं ६ मा ४२ घर, वडा नं ७ मा १७ घर तथा वडा नं ८ मा १० घर प्रभावित भएको भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । 

घरमा पूर्ण तथा आंशिक क्षति पुगेका कतिपय नागरिक विस्थापित भइ सुरक्षित स्थानमा शरण लिएर बसिरहेका छन् । वर्षा कम भएपछि घर नबगेका परिवारहरु जोखिम मोलेर आआफ्नै घरमा बस्न थालेको अध्यक्ष थाम्सुहाङको भनाइ छ । 

'वर्षा रोकिएपछि पहिरोको जोखिम कम भएकाले अधिकांश विस्थापित यतिबेला घर फर्केर बस्न थाल्नुभएको छ,' अध्यक्ष थाम्सुहाङले भने, 'तर धेरैजना जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ ।' बाढीपहिरो कारण अत्यधिक वर्षा भइरहेन गाउँपालिकाका अधिकांश क्षेत्र क्षतविक्षत हुँदा क्षतिको विवरण सङ्कलन, राहत तथा पुनःस्थापना चुनौतीपूर्ण बनेको उनले बताए । 

यहाँका फेमे, मुवालगायत अधिकांश खोला खोल्सीमा बाढी आउनुका साथै पहिरोले गाउँहरु बसिनसक्नु बनेको गाउँपालिका अध्यक्ष थाम्सुहाङ बताउँछन् । 'पहिरोले गाउँघर लथालिङ भएपछि मन अड्याउने ठाउँ नभेट्दा कतिपय नागरिक बसाइँ हिँडिरहेको पाएको छु,' उनले भने ।

बाढीपहिरोका कारण यहाँका २६ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । सानाठूला खानेपानी आयोजनामा भएको क्षतिका कारण करिब रु ७२ लाख मर्मत सम्भारका लागि लाग्ने प्राविधिक अनुमान गाउँपालिकाले तयार पारेको छ । यस्तै ३२ वटा सिँचाइका योजनामा क्षति पुगेको छ । 

गाउँपालिकाका छ वटा विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । वडा नं २ को मोतिराम माध्यमिक विद्यालय, वडा नं ३ को कालिका माध्यमिक विद्यालय, वडा नं ४ को बाह्रविसे आवि, वडा नं ५ का सिंहदेवी र सिंहकालिका आवि तथा वडा नं ६ को छिरुवा आविमा पहिरोले क्षति पुर्‍याएको हो । पहिरोले विद्यालयका भवन, घरबारा, खेलमैदान, शौचालयलगायत संरचना भत्किएका, पुरिएका, चर्किएका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

बाढीपहिरोका कारण ३५ क्विन्टल कोदो, दुई क्विन्टल गहुँ, एक सय २५ मन (४० किलोग्राम) अलैँची, चार सय ५० किलोग्राम खुर्सानी, १५ क्विन्टल आलु, ५५ मन अदुवा र १० क्विन्टल मकै क्षति भएको गाउँपालिकाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ । अत्यधिक वर्षाका कारण मानिस सचेत हुँदा मानवीय क्षति भने कम भएको छ । पहिरोले पुरेर यस गाउँपालिकाको वडा नं ५ की कमला राई बेपत्ता छन् । 

जोखिममा रहेका बस्तीमा मानिसहरु जोखिमपूर्ण रूपमा बसिरहे पनि आउँदो वर्खायाममा भने अन्यत्रै स्थानान्तरण गर्नुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष थाम्सुहाङको भनाइ छ । यस गाउँपालिकाको वडा नं ३ का लुम्पिन्ताङ र शितलपाटी, वडा नं ४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङलिटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा परेका छन् । फेङलिटारका एक दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भइ अन्यत्रै बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप